भैरहवा । कोरोना संक्रमणको महामारी फैलिएसँगै स्वदेश फर्किएका नेपालीहरुलाई रूपन्देहीको सीमावर्ती भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएको छ । उनीहरु त्यहाँ बसेको तीन साता बितिसकेको छ । यस बीचमा उनीहरुमा संक्रमणको कुनै पनि लक्षण देखिएको छैन । तोकिएको अवधि पार गरिसक्दा पनि घर फर्किन नपाएपछि उनीहरु आक्रोशित र विक्षिप्त बनेका छन् । स्वदेश फर्किन पाउनुपर्ने भन्दै उनीहरुले दिनदिनै नाराबाजी गर्ने गरेका छन् । उनीहरूको अवस्था बुझ्न बुधबार त्यहाँ पुगेका सरकारी अधिकारी देख्नासाथ पनि तत्काल घर फर्काउन माग गर्दै नाराबाजी गरेका थिए । रुपन्देहीको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत क्वारेन्टाइनमा बसेका नेपालीहरुको अवस्था बुझ्न त्यहाँ पुगेका थिए । क्वारेन्टाइनमा रहेकाहरूले नाराबाजी गरेपछि उनी क्वारेन्टाइनको गेटबाटै फर्किएका थिए ।

भारतका विभिन्न स्थानबाट बेलहिया नाकासम्म आएका उनीहरूलाई दुई साताका लागि भनेर भारतीय क्वारेन्टाइनमा राखिएको थियो । मुलुक प्रवेश पाउनुपर्ने भन्दै उनीहरूले दुई दिन नाकामा बसेर दबाब समेत दिएका थिए ।

हार्दिक शुभकामना !

महिला र बालबालिका समेत गरी नौतनवास्थित क्वारेन्टाइनमा अहिले ३ सय ३५ जना नेपाली नागरिक रहेका छन् । नौतनवामा रहेको जिल्ला गोरखा समाज कल्याण सेवा समितिले क्वारेन्टाइनमा रहेका नेपालीको खाने, बस्ने व्यवस्थापन र अन्य सामग्री प्रदान गरेर सहयोग गर्दै आएको छ । उक्त समितिले तत्कालै उनीहरूलाई घर जाने वातावरण तयार गर्न नेपाल सरकारसँग माग गरेको छ । समितिले यसबारेमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारी, भारतस्थित नेपाली दूतावास, नेपाल–भारत मैत्री समाजलगायत निकायमा ज्ञापनपत्र समेत बुझाएको छ ।

तीन सातादेखि सिमानामा अलपत्र आफ्ना नागरिकलाई तत्काल उद्दार गर्नुपर्ने चौतर्फी रुपमा आवाज उठेपनि सरकारले सुनावाइ गरेको छैन । यसबारे के गर्ने भन्ने बारेमा अहिलेसम्म नेपाल र भारत सरकारले कुनै निर्णय गरेका छैनन् ।

एक–अर्को देशको क्वारेन्टाइनमा राख्ने बारेमा दुवै देशको माथिल्लोस्तरको निर्णय भएकाले माथिल्लोस्तरकै निर्णय नभएसम्म उनीहरुलाई स्वदेश फर्काउन नसकिने रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थको भनाइ छ ।

यसैबीच, सीमादेखि करिब डेढ किमिको दूरी डन्डापुल नजिकैको निमा प्रतिमान अध्ययन प्रतिष्ठानमा नेपालले बनाएको क्वारेन्टाइनमा १ सय ५४ जना भारतीय नागरिक रहेका छन् । उनीहरुले पनि आफ्नो घरमा जान पाउनु पर्ने भन्दै भोक हड्ताल समेत गरेका थिए । रूपन्देही प्रशासनले सीमावर्ती भारत महाराजगन्ज जिल्लाका जनप्रतिनिधि, सुरक्षा अधिकारीलाई क्वारेन्टाइनमै बोलाएर आफ्ना नागरिकलाई भेट गराए पनि उनीहरुलाई स्वदेश फर्काउने विषयमा पनि कुनै निर्णय भएको छैन । उनीहरु पनि उच्चस्तरीय निर्णय पर्खेर बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर