अमेरिकामा एकैदिन १८०० भन्दा बढीको मृत्यु

अमेरिकामा एकैदिन १८०० भन्दा बढीको मृत्यु

ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तस्बिर, रोयटर्स

चैत्र २६

कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट अमेरिकामा मंगलबार मात्रै १८०० भन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरस संक्रमणको पुष्टि भएयता एकैदिन सबैभन्दा बढीको मृत्यु भएको हो ।
बुधबारसम्म अमेरिकामा कोरोना भाइसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ९ सय १० पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब ४ लाख पुगेको छ । बुधबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ९९ हजार ९ सय २९ रहेको छ भने तीमध्ये करिब २२ हजार निको भएका छन् ।
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित न्युयोर्क भएको छ । पछिल्लो २४ घण्टामा न्युयोर्कमा मात्रै ७३१ जनाको मृत्यु भएको छ । बुधबारसम्म कोरोना भाइरसको संक्रमणबाट न्युयोर्कमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार ४ सय ९८ पुगेको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले न्युयोर्कका बासिन्दालाई घरभित्रै बस्न आग्रह गरेका छन् ।
विश्व स्वास्थ्य संगठनप्रति ट्रम्पको आक्रोश
अमेरिकामा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्प भने विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) प्रति आक्रोशित बनेका छन् । उनले डब्लूएचओलाई अमेरिकाले उपलब्ध गराउँदै आएको रकम पनि रोक्ने चेतावनी दिएका छन् ।
डब्लूएचओले अमेरिकालाई गलत सुझाव दिएका कारण नै संक्रमणले महामारीको रुप लिएको राष्ट्रपति ट्रम्पले आरोप लगाएका छन् । ‘डब्लूएचओकै कारण अवस्था भयावह भयो, अमेरिकाले डब्लूएचओलाई सबैभन्दा बढी फन्ड उपलब्ध गराउँदै आए पनि उ भने चीनमुखी छ,’ राष्ट्रपति ट्रम्पले मंगलबारको नियमित पत्रकार सम्मेलनमा भने ।

ट्रम्पले अमेरिकामा राष्ट्रिय आपत्काल घोषणा गर्नुअघि नै डब्लूएचओले कोरोना संक्रमण फैलिँदै गएको भन्दै विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा गरेको थियो । ट्रम्पले ‘अमेरिकामा कोरोना भाइरस पूर्ण रुपमा नियन्त्रणमा रहेको छ’ भन्नुभन्दा एक महिना पहिले नै डब्लूएचओले विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा गरेको थियो ।