आफू बसेकै पृथ्वी बेचेर समृद्धि र सन्तुष्टिको स्वाद लिंन खोज्ने विश्व साम्राज्यवादको अन्त्य अनिवार्य छ

मानवशास्त्री भन्छन्–“पृथ्वीको लागि कोरोना अपरिहार्य थियो ।”

प्रकाशित मिति : २०७६ चैत्र २१

- हुकुमबहादुर सिंह

इम्पेरियल कलेज लन्डनका अनुसन्धानकर्ताहरूले विश्व स्वास्थ्य संगठनलाई मार्च २६, २०२० मा बुझाएको प्रतिवेदनमा उल्लेख गरेका छन्— “यदि बेलैमा नियन्त्रण नभए कोरोनाको महामारीले विश्वका ७ अर्ब मानिसलाई संक्रमण गर्नेछ ।”
यदि यसो भएमा अहिलेको मृत्यदरले पनि कोरोना महामारीबाट करीब ४ करोड मान्छेको ज्यान जान सक्छ । उक्त रिपोर्टमा प्रष्टै भनेको छ–यदि हस्तक्षेप भइहाल्दा पनि ३० लाख मान्छेको ज्यान जोखिममै रहिरहन्छ । यो भनेको नेपालजस्ता आम्दानी कम भएका तेस्रो मुलुकमा बसोबास गर्ने जनता नै शिकार बन्ने स्पष्ट छ । किनभने गरिब देश जहाँ सहज, पर्याप्त र गुणस्तरीय सार्वजनिक स्वास्थ्य सेवा छैन्, ती देशहरुले कोरोनाको सामना गर्न सक्ने अवस्था नै छैन । गरिब देशमा वरने विपन्न वर्गको आर्थिक जीवन तहसनहस हुने स्पष्ट छ ।
यो लेखको उद्येश्य यहाँ कोरोनाको महामारीका कारण यसले गर्ने क्षति कति होला, त्यो आउने दिनले नै बताउनेछ तर यस्तो महामारी किन बढ्दै छ ? भन्नेबारे चाहिँ मानव समुदायले साच्चै नै सोच्नै पर्ने आवश्यकता भएको छ र यसका पछाडिको मूल कारण के हुन सक्छ ? यसमा पनि गहन खोजको आवश्यकता छ । यसका लागि विश्व मानव समुदायले कदापी ढिलाइ गर्ने मौका छैन भनेर सोंच्नु आवश्यक भएको छ । ।
मारमा गरिब नै पर्छन
विश्व मानव विकासको इतिहास हेरियो भने के स्पष्ट हुन्छ कि विश्वमा जे जस्ता महामारी आएका छन् ती सबै मान्छेकै गल्तीबाट उत्पन्न गरिएका हुन् । तर ती सबैको नकारात्मक असर आखिरमा गरिब मान्छे र गरिब देशलाई नै बढी डसेको छ । नेपालजस्तो देश जहाँका जनता दैनिक ज्यालादारी र व्यापारले मात्र धानिएका छन्, तिनीहरुको हालत कस्तो होला ? सहजै अनुमान लगाउन सकिन्छ ।
यस्ता माहामारीको जिम्मेवार को हुन त ?
इतिहासको संक्षिप्त समिक्षाबाट पनि एउटा तत्थ्य के पत्ता लाग्छ भने सन् १९८० पछि विश्वमा मौलाउँदै गएको एकाधिकार पुँजीवादको आडमा ल्याइएको विश्वव्यापीकरण र नवउदारीकरण र नीजीकरणका कारण लाखौं विपन्न परिवारको जीवन लथालिंग बन्दै गएको छ । बसाइसराइ, तीव्र सहरीकरण र उच्च बेरोजगारी आदि साम्राज्यवाद रहेसम्म कहिल्यै नसल्टिने समस्या बनेका छन् । सन् १९८० पछि विश्वमा फैलिएको एडसको माहमारी(जो धनाडय व्यक्तिहरुको ऐयाशीका कारण उत्पन्न भएको थियो )ले पनि त ९० प्रतिशत एड्सको मार विकासोन्मुख देशमा परेको इतिहास ताजै छ । यसरी सन् १९८०देखि खलबलिएको विश्व अर्थतन्त्र र समाज अहिलेसम्म नतंग्रिएको निष्कर्ष समाजवादी अर्थविद्हरुले निकालेका छन् । अब सोचौं, कोरोनाको मार कस्तो होला त ? विश्व पुँजीवादकै खरावीको परिणाम हो अहिले सामाजिक असमानता अझै बढदै गएको छ र गरीव र धनबीचको असमानताको खाडल झन झन चौडा बन्दै गएको छ र मानिसहरु गाउँ छाडेर सहरमा खाँदिन पुँगेका छन् । यी सब कारणले पनि कोरोनाजस्तो महामारी पनि उति नै बलियो बन्दै गएका छन् ।
एकाधिकार पुँजीवादको आडमा ल्याइएको विश्वव्यापीकरण र नवउदारीकरण र नीजीकरणका कारण नेपालजस्तो देशमा सार्वजनिक अस्पत्तालको अवस्था अप्ठ्यारोमा पर्दै जानु र सार्वजनिक स्वास्थ्यसेवा निजी अस्पतालतिर उर्लिर्दै जानु यसको बलियो प्रमाण हो । अहिले नेपालमा रुपमा कम्युनिस्ट सरकार छ र समाजवादी अर्थव्यवस्थाको नारा दिएको छ तर सारमा समग्र राज्य सत्ता निजी अस्पताल पोस्न हतारिएको देखिन्छ । जव कोरोना सुरुमात्रै के भएको थियो(यसको माहामारी रुप त अझै पछि को कुरा) नेपालका निजी अस्पतालहरुले सार्वजनिक स्वास्थ्यसेवा दिन आनाकानी गरेका कुरा बाहिर आएका छन् । सामान्य रुघाखोकीका विरामीलाई अस्पत्तालको गेटबाटै फर्काइदिएका कुराहरु बाहिर आएका छन् । समाजवादको नारा दिने कम्युनिस्ट सरकार र समग्र राज्य सत्ता जसले निजी अस्पताल पोस्ने काम गरिरहेका छन्, सार्वजनिक अस्पताल र नीजी अस्पतालबीचमा समन्वय एवं सहकार्य गर्न स्मेत सकिरहेका छैन् । यस्ता माहमारी रोकथामका लागि कस्तो स्वास्थ्य सेवा चाहिन्छ भन्ने त भरखरै चीनजस्तो स्वास्थ्य सेवा भएको देशले मात्रै सजिलै कोरोनाजस्ता महामारीको सामना र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य सार्वजनिक भएको छ । र यसले पनि समाजवाद र समाजवाद मात्तै यस्तो व्यवस्था हो जसले सही मानेमा कोरोनाजस्ता माहमारीको बेलैमा मुकाविला गर्न सक्छ भन्ने नै हो । चीनमा वैज्ञानिक समाजवाद त छैन तै पनि चीनको विशेषतामा अधारित समाजवादले देश र जनतको पक्षमा निकै राम्रा काम गरेको छ भनेर विश्व समुदायले पनि भनिरहेका छन् ।
एक सय वर्षपछिको महामारी
कोरोना भइरसलाई संयुक्त राष्ट्र संघले दोस्रो विश्व युद्धपछिको महामारी भनिरहेको छ । किनभने त्यो भन्दा अगाडि यस्ता अनगिन्ति महामारी भएका छन् । पहिलो विश्वयुद्ध सन् १९१४ जुलाई २८मा सुरु भएको थियो । यसका पछाडिको एउटा प्रमुख कारण दुनियाँभर फैलिरहेकै युरोपेली बजारका बीचको होडबाजी थियो । चार वर्षसम्म लम्बिएको त्यो युद्धमा २१ लाख मान्छेको ज्यान जाँदा पनि हारजित भइरहेको थिएन । आखिरमा सबै खाले युद्ध र नरसंहारको मार त पृथ्वी र पृथ्वीमा वस्दै आएका गरीबले नै झेल्नु पर्छ । युद्धको डढेलो झेलिरहेको पृथ्वीले विश्वयुद्धको चौथो वर्षको सुरुआत, सन् १९१८ मार्चमा नै इन्फ्लुएन्जाको संक्रमणको सामना गर्नु पर्र्यो । करिब ५ करोड मान्छेको ज्यान लिने उक्त महामारीबारे विश्व त्यतिबेला तात्यो, जतिबेला स्पेनका राजा अल्फाँसो तेह्रौं इन्फ्लुएन्जाबाट संक्रमित भए । मे २२, १९१८ मा स्पेनको ‘एबीसी न्युजपेपर’ मा प्रमुख समाचार बनेको यस महामारीलाई ‘स्पेनिस इन्फ्लुयन्जा’ को नाम दिंदै स्पेनले महामारीको दोष फ्रान्समाथि लगायो । यसको करिब ५ महिनापछि नोभेम्वर ११, १९१८ मा अमेरिकी नेतृत्वमा चार वर्ष लामो विश्वयुद्ध बिसाइयो । त्यतिबेलासम्म स्पेनिस फ्लुकै कारण काम गर्ने २० देखि ४० वर्षका झन्डै ३ करोड ४० लाख नौजवानको ज्यान गइसकेको थियो (जैके तबनबर्गर र डीएम मरन्स, २००६; १९१८ इफ्लुयन्जा ः द मदर अफ अल प्यान्डेमिक) ।
अहिले विश्वका सबै देशहरु घनाजंगल मासेर सहर वसाइएका देशहरु हुन् । जव जंगल मासिन्छ अनि जंगल मासिएपछि जगली पशुपक्षीहरु पनि सहरको वोरपिरी खानका लागि झुम्मिन्छन् । अहिले स्पेनिस इन्फ्लुयन्जाजस्तो महामारीको ठ्याक्कै एक सय वर्षपछि चीनको वुहान राज्यबाटै कोरोना भाइरसको संक्रमण जागेको छ । यसको दोष जंगली जनावर–चमेरोलाई दिइए पनि मान्छेले प्रकृति र जंगली जीवजन्तुमाथि गरिरहेको रजाइँको चर्चा कही कतै गरिएको छैन् । पृथ्वीसँग बिग्रँदो सम्बन्धको मार फेरि पनि विपन्न र कम आय भएका सामाजिक समूहमा बढी परेको देखिन्छ । जवकि पृथ्वीसँग बिग्रँदो सम्बन्धका लागि विश्वका अति धनी र सम्पन्न देशहरु नै जिम्मेवार छन् ।
प्रकृतिसँग बिग्रँदो सम्बन्ध
दुनियाँमा जहाँ सहर, उद्योग र व्यापारको विकास भएको छ, त्यहाँका अधिकांश रैथाने ज्यालादारी कामदार बनेको देखिन्छ । उनीहरूका रैथाने खानेकुरा आगन्तुक(वाहीरबाट बसाइसरी आएका)ले बेच्छन्, जसले कतिपय खानाको पर्यावरणीय, सामाजिक तथा सांस्कृतिकजस्ता मर्मबारे बुझ्दैनन् । ती खानेकुरा जंगली पशुपक्षीबाट कसरी खान योग्य बनाइए, त्यसको खोजीनीति हुँदैन । यहीँनेर प्रकृति, जीवजन्तु र मानिसको सम्बन्धमा खटपट सुरु हुन्छ । र, कोरोनाजस्तो महामारी बनेर मानिसमाथि प्रकृतिले बज्र प्रहार गर्दछ र समाजमा माहामारीको रुपमा देखापर्छ । जसको सामाजिक एवं सांस्कृतिक क्षतिपूर्ति नै छैन ।
‘जर्नल अफ अवेसिटी प्रिभेन्सन’ का अनुसार अहिले विश्वमा गहुँबाट मात्रै दैनिक १ सय २२ भन्दा बढी खानेकुराका परिकार बन्छन् । जति परिकारको संख्या बढेको छ, उति धेरै प्रविधि र मेसिनको प्रयोग बढेको छ । खानेकुराका प्रकार थपिँदै जाँदा, व्यावसायिक खेती गर्ने घनाजंगल तीव्र गतिमा मासिएको छ । रेनफरेस्ट एक्सन नेटवर्क–२०१७ का अनुसार विश्वमा ठूला खाद्य उत्पादक कम्पनीका कारण बर्सेनि २० हजार हेक्टर जंगल सखाप भइरहेको छ । फर्निचर बनाउँदा होस या खानी उत्खनन गर्दा वन नै मासिएको छ । मान्छेका सबै प्रगति र उन्नति पृथ्वीको बेचबिखनमा उभिएका छन् । र यी सबैका पछाडि अति विकसितदेशका बहुराष्ट्रिय कम्पनीहरु जिम्मेवार छन् ।
जर्नलले अझ स्पष्ट पार्दै लेख्दछ, अहिलेसम्म करिब १३ लाख १९ हजार हेक्टर जंगल मासेर उद्योग, खानी तथा सहर विकास भएका छन् । यसको क्षेत्रफल कोस्टारिकाको डेढ गुणा जति हुन आउँछ । एक वर्ग किमिमा करिब ७५ हजार रूख हुर्कन्छन् । यो हिसाबमा त अहिलेसम्म समृद्धिको नाममा करिब ६९ अर्ब रूख काटिइसकेका छन् । यसले कति पशुपक्षीको बसोबास नष्ट भयो होला । सयौं पशुपक्षी त गाँसबास नपाएरै पृथ्वीबाट अस्ताइसकेका छन् । कति मान्छेको वरपर आइपुगेका पशुपक्षीको कारण मान्छे र प्रकृतिको सम्बन्ध लथालिंग भएको छ । जर्नलले जोड दिएर भनेको छ ।
कोरोना माहामारीबाट अबको विश्वले केही सिक्ने कि ?
कोरोना विश्वका मानवका जातिकै लागि एउटा माहामारी शत्रु हो । तर पृथ्वी र मानवबीचको सम्वन्धलाई सन्तुलित राख्ने दवाव यसले दिएको छ । त्यसैले यसका केही सकारात्मक पक्षहरु प्नि बाहिर आउन थालेका छन् । भरखरै फरवरी २४, २०२० देखि चीनले ५४ थरीबाहेक अन्य जिउँदो जंगली पशुपक्षी बेच्न र उपभोग गर्न स्थायी प्रतिबन्ध लगाएको छ । त्यसअघि चीनमा मात्रै करिब ९७ प्रजातिका विभिन्न जिउँदो जंगली जनावरको बेचबिखन हुने गरेको अनुमान नेसनल जियोग्राफी २०१६ ले गरेको छ । दक्षिणपूर्वी एसियामा मात्रै ४० प्रजातिका चराचुरुंगी, स्तनधारी तथा घस्रने जीवजन्तुको बेचबिखन र उपभोग हुन्छ । नेसनल जियोग्राफीको सर्वेक्षणअनुसार अहिले पनि ८३ प्रतिशत चिनियाँ आफ्नो खानाको रूपमा जंगली पशुपक्षीको मासु खान रुचाउँछन् । यद्यपि विश्वभर र चीनमा समेत ‘मास–डिफरेस्टेसन’ भइरहेकाले यिनको आपूर्ति भने सहज देखिन्न । केही वर्षयता नेपालमा समेत जंगली पशुपक्षीको उपभोग बढेको छ । बट्टाई, कालिज, खरायो र बंदेलजस्ता जिउँदो जंगली पशुपक्षीको व्यावसायिक पालन बढेको छ । यसले के देखाउँछ भने विश्वभर जति सहर बढेका छन् त्यति नै वन विनाश र जंगली पशुपक्षीको उपभोग बढेको छ । बहुराष्ट्रिय कम्पनीहरुले पैसाको बलमा विश्व पर्यावरणलाई तहसनहस पारिरहेका छन् । परिणाम कोरोना जस्ता माहामारीको जन्म हुन जान्छ ।
प्रकृति नै मान्छेको जीवन
मानवशास्त्री फेडरिक कुक (२०२०) ले भनेका छन्–“कोरोनाजस्तो महामारीका मुख्य कारणमध्ये मान्छे र जनावरबीच बिग्रँदो सम्बन्ध पनि एक हो । तथापि यो नयाँ भने होइन । यसलाई राज्यले व्यवस्थापन गर्न सक्छ । तर पनि राज्यको ध्यान अर्थतन्त्रबाहिर गएको देखिन्न । प्रकृति र मान्छेको बीचमा सम्बन्ध कसरी बिग्रन नदिने भन्नेबारे सोचिएकै छैन । मान्छेको खाद्य तथा सामाजिक सम्बन्धलाई जोखिमयुक्त बन्न नदिनेबारे मनन गरिएको छैन ।”
यसमा जोड दिंदै फेडरिक कुकले लेख्छन्–“सुरक्षित र अनुशासित खाद्यउपभोग नै महामारीका प्रतिरोधक हुन् । तर नयाँ खानेकुराको बढ्दो आविष्कार र प्रयोगले मान्छे र प्रकृतिको सम्बन्ध नै खलबलिएका छन् । जुन स्वस्थ मान्छेको चुनौती हो । यसलाई कम गर्न, मान्छेको समृद्धि र प्रगतिको भोक अनुशासित बनाउनुको अर्को विकल्प छैन । यो नै भोलिको महामारी नियन्त्रणको भरपर्दो बाटो हो । अब प्रकृति बेचबिखनको वस्तु मात्र होइन । यो त मान्छेको जीवन र अस्तित्व हो भन्ने बुझ्नुपर्छ । वन्यजन्तु मान्छेका लागि किन यति डरलाग्दो भयो । यसको सामाजिक र सांस्कृतिक पक्षबाट खोजी र चर्चा हुनुपर्छ ।”
तर जसरी पु“जीवादी किासले गर्दा गाउँहरू सहरका कारण रित्तिएका छन्, सहर मान्छेको हूलले भरिएको छ, यही रूपमा अघि बढ्दै गएमा आउँदा दिनमा कोरोनाभन्दा पनि अझै भयानक महामारी आउने पक्का छ । यो फेरि पनि सहरमै दोहोरिनेछ । राष्ट्र संघको ‘रिभिजन अफ वल्र्ड अर्वानाइजेसन प्रस्पेक्ट, २०१८’ ले सन् २०५० सम्ममा विश्वका ६८ प्रतिशत मानिस सहरमा बस्ने अनुमान गरिसकेको छ । अहिले नै विश्वमा ४ अर्ब २३ करोड मान्छे सहरमा बस्छन्, जसले खेतीपाती गर्दैनन्, उद्योग, व्यापार र नोकरी गर्छन् । यो संख्या अबको ३० वर्षमा एसिया र अफ्रिकामा मात्रै २ अर्ब २५ करोडले बढ्नेछ । विश्वका ८० प्रतिशतभन्दा बढी मानिस परम्परागत खेतीबाट बाहिर हुनेछन् । त्यतिखेर भारतसँग ४१ करोड ६० लाख, चीनसँग २५ करोड ५० लाख र नाइजेरियासँग १८ करोड ९० लाख थप सहरी जनसंख्या हुनेछ । अब कल्पना गरौं । यो जनसंख्याका लागि ‘मास–फुड–सप्लाई’ गर्न कति वनजंगल र जंगली पशुपक्षी तहसनहस होलान ?
अहिले विश्वमा राज गरिहेको एकाधिकार पु“जीवाद उद्योगसँगै सहर बनाउने काममा पनि दौडिरहेको छ । धेरै कमाइ हुने भएपछि मान्छेहरू सहरतिर ओइरिएका छन् । जर्नल अफ अवेसिटी प्रिभेन्सन (२०१०) ले भनेको छ –“अहिले धेरै मान्छे धेरैथरी खाने कुरा किन्न सक्ने भएका छन् । यसले गर्दा खाद्यान्नको माग र उपभोग अस्वाभाविक चुलिएको छ । सन् १९८० यता सहरमा बस्ने मान्छेले आफूलाई चाहिनेभन्दा ६० प्रतिशत बढी खाद्यान्न उपभोग गर्छन् । तर यही बेला विश्व बैंकले नेपालमा मात्रै बर्सेनि झन्डै ३९ हजार मेट्रिक टन खाद्यान्न आपूर्तिको अभाव रहेको तथ्य निकालेको छ । अहिले खाद्यान्नको उत्पादन जीवनका लागि होइन, बेचबिखनका लागि हुन्छन् । कारखाना, बजार र व्यापारले गर्दा मान्छेको सम्पर्क पहिलेभन्दा बाक्लो र नजिक भएको छ । जति मानिस सहरमा खाँदिएका छन् कोरोनाजस्ता महामारी पनि उति नै बलियो बन्दै गएका छन् ।
जर्नल लेख्छ–“खानेकुराको प्रकार र प्रकृति यति जटिल भएकोछ, यसले मानिसको जीवन तथा काम गर्ने शैली नै बदली दिएको छ । योसँगै पृथ्वी र पशुपक्षीसँग मानिसका सम्बन्ध पनि बदलिएको छ । खानेकुरामा पशुपक्षीको उपभोग अत्यधिक बढेको छ । अहिले मासुका लागि मात्रै जंगली पशुपक्षीको उपभोग ७३ प्रतिशतले बढेको छ । विश्वभर मान्छेले दैनिक आफ्नो खानाको ६२ प्रतिशत हिस्सा मासुले भर्छन् । यो सबै कसरी सम्भव भयो ? सहरमा कैयौं खाद्य–उद्योग फस्टाएका छन् । र, खानेकुराको हजारौं प्रकारले ती उद्योग बाँचेका छन् । यसले मान्छेलाई चाहिनेभन्दा बढी खाना खान उक्साइरहेको छ । व्यावसायिक पशुपक्षीपालक र कृषि कम्पनी उसैगरी जति सकिन्छ धेरै उत्पादन गर्न हौसिएका छन् । जंगली जनावर तथा पशुपक्षीको चोरी सिकारी बढेको छ । धनि र समपननका घरमा अनावश्यक खानेकुराले भान्छा भरिएका हुन्छन् । चाहिनेभन्दा बढी अन्न फलाउन दिनदिनै जंगल सखाप भइरहेको छ । यस्तो मान्छेले आफू बसेकै पृथ्वी बेचेर समृद्धि र सन्तुष्टिको स्वाद लिइरहदा कसरी पृथ्वी (प्रकृति)चुप लागेर बस्न सक्छ र ? यसरी आफू बसेकै पृथ्वी बेचेर समृद्धि र सन्तुष्टिको स्वाद लिंन खोज्ने सामाजिक मूल्य मान्यतामाथि आक्रमण गर्ने विश्व साम्राज्यवादका दलालहरुको अन्त्य र वैज्ञानिक समाजवादको विकास नहोउन्जेल यस्ता प्रकृतिजन्य माहामारी दोहोरि रहने छन् ।