सम्पादकीय : डबल नेकपाको ‘राष्ट्रिय आत्मसमर्पणवादी दलाल चरित्र’

प्रकाशित मिति : २०७६ चैत्र ४


श्रमजीवी जनताका वर्गीय मुद्दाहरुलाई पहिल्यै त्यागीसकेको सत्तारुढ डबल नेकपाले राष्ट्रिय स्वाधीनताका मुद्दाहरुमा पनि विदेशी शक्तिहरुसँग आत्मसमर्पण गरेको छ । दुई तिहाई हैसियतको सरकारको नेतृत्व गरेको केपी ओली नेतृत्वको सरकारले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि गम्भीर रुपमा आँच आउने खालका विषयमा विदेशी शक्ति( विस्तारवादी मुलुक भारत र साम्राज्यवादी मुलुक अमेरिका)हरुसँग सम्झौता गरेको व्यवहारतः पुष्टि हुँदै गएको छ । लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतको भूमि भारतले आफ्नो नक्सामा गाभेको विषय होस् वा दिनदिनै भारतले अन्य स्थानमा गरेको सीमा अतिक्रमणको विषय होस्, ओली नेतृत्वको सरकारले ती अतिक्रमित भूमि फिर्ता गराउने विषयमा कुनै ठोस पहल गरेको छैन । यहाँसम्म कि केही दिनअघि संसदमा संकल्प प्रस्ताव पेश गर्ने भनि कार्यसूचिमा चढाइसकिएको उक्त विषय पनि डबल नेकपाका नेताहरुको दबाबमा कार्यसूचिबाटै हटाइएको छ । उच्च स्रोतका अनुसार भारतीय राजदूतको आग्रहमा उक्त संकल्प प्रस्ताव संसदको कार्यसूचिबाट हटाइएको हो । अर्कोतिर ओली सरकारले राष्ट्रको सार्वभौमिकतामाथि नै गम्भीर आँच आउने राष्ट्रघाती एमसीसी सम्झौता भने संसदबाट पास गर्ने पुरै तयारी र कोशिस गरिरहेको छ । यी घटनाक्रमबाट स्पष्ट हुन्छ कि केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको डबल नेकपा वर्गीय आत्मसमर्पणवादी मात्र होइन, राष्ट्रिय आत्मसमर्पणवादी पार्टीको रुपमा स्खलित हुन पुगेको छ ।

यतिखेर डबल नेकपाभित्र अमेरिकी (साम्राज्यवादी)परस्त र भारत(विस्तारवादी)परस्तको रहेको भन्दै एकअर्कालाई हिलो छ्यापाछ्याप गरिरहेका छन् । पूर्व एमालेहरुले पूर्व माओवादीहरुलाई भारतपरस्तको आरोप लगाउने गरेका छन् भने पूर्व माओवादीहरुले एमालेहरुलाई अमेरिका परस्त भनेर आरोप लगाउने गरेका छन् । तर यथार्थमा दुवैथरि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको दलाली गरेर पार्टीभित्र आ–आफ्नो गुटलाई बलियो बनाएर सत्ता स्वार्थलाई पुरा गर्ने दाउमा दौडधूप गरिरहेका छन् । उनीहरु व्यक्तिगत, गुटगत, दलगत र सत्ता स्वार्थका लागि राष्ट्रै पनि बेचिखाने प्रतिस्पर्धामा देखिएका छन् ।

नागरिक स्तर (सीमा बचाउँ अभियानलगायत)मा तथा राजनीतिक दल(क्रान्तिकारी माओवादीलगायत)हरुले देशव्यापी रुपमा दबाब खडा गर्दै लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको राजनीतिक नक्सा जारी गर्न आव्हान गर्दा पनि ओली सरकारले नेपालको वास्तविक नक्सा जारी गर्न सकेको छैन । अहिले पनि भारतले बनाएर पठाइदिएको नक्कली (लिम्पियाधुरा, लिपुलेक, कालापानी गायब पारिएको) नक्सा सरकारी कार्यालयहरुमा झुण्डिरहेको छ । यहाँसम्म कि संविधानको गाता र निशान छापमा समेत सरकारले त्यही नक्कली नक्साको प्रयोग गरिरहेको छ । चौतर्फी रुपमा चर्को विरोध र दबाब हुँदा र दिंदा पनि सरकारले किन नेपालको वास्तविक नक्सा जारी गर्दैन वा गर्न सक्दैन ? यो गम्भीर प्रश्न अहिले सर्वत्र उठिरहेको छ । पछिल्लो पटक कालापानीबाट भारतीय सेना हटाउने विषयको संकल्प प्रस्ताव नै संसदको कार्यसूचिबाट हटाइनुले नेपाल र भारतको संयुक्त सीमा सर्वेक्षणको नाममा नेपालको १० हजार ५२ वर्ग किमी भूमि नेपालका शासकहरुले योजनाबद्ध रुपमा भारतलाई बेची खाएका त होइनन् ? यो निकै गम्भीर प्रश्न अहिले सत्तारुढ डबल नेकपातिर तेर्सिएको छ । उपनिर्वाचनताका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटक पटक लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतका नेपाली भूमि प्रम ओलीकै सहमतिमा भारतले आफ्नो नक्सामा गाभेको हो भनी सार्वजनिक मञ्चमा बोलेका थिए । राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको यति गम्भिर र संवेदनशील विषयमा पनि ओली सरकारले यति लामो समयसम्म मौनता साँध्नु र कुनै ठोस पहलकदमी (राजनीतिक तथा कुटनीतिक रुपमा) नगर्नुले सत्तारुढ डबल नेकपाको ‘राष्ट्रि आत्मसमर्पणवादी दलाल चरित्र’ उदांगो हुन पुगेको छ ।

वर्ग(जन)घात र राष्ट्रघातको यो चरित्रले डबल नेकपा र ओली सरकारले कम्युनिस्ट शब्दलाई नै बद्नाम गरेको र कम्युनिस्टको नाममा ‘कलंक’ साबित भएको क्रान्तिकारी माओवादी लगायतले भन्दै आएको कुरालाई उल्लेखित घटनाक्रमले पुष्टि गरेको छ । डबल नेकपाभित्र भएका राष्ट्रवादीहरुले पार्टी नेतृत्वको यही चरित्र बुझेर सार्वजनिक विरोधमा उत्रिएपनि उनीहरुले त्यो पार्टीसँग सम्बन्धविच्छेद् भने गर्न सकिरहेका छैनन् । कम्युनिस्टहरु वास्तविक अर्थमा सामन्तवाद र साम्राज्यवादविरोधी हुन्छन् र सामन्तवादी र साम्राज्यवादी शक्तिहरुसँग निर्णायक लडाइँ लडेर मात्र जनताको वास्तविक सत्ताको स्थापना गर्छन् भन्ने सैद्धान्तिक मान्यतालाई डबल नेकपाले धुलिसात पारिदिएका छन् । यो प्रवृत्तिका विरुद्ध वास्तविक कम्युनिस्टहरु एकजुट भएर लड्न जरुरी छ । सत्तारुढ डबल नेकपाभित्र भएका सच्चा कम्युनिस्टहरु र सडकको नेतृत्व गरिरहेका नेकपा (क्रान्तिकारी माओवादी) लगायत छरिएर रहेका सबै कम्युनिस्ट क्रान्तिकारीहरु र देशभक्त नेपालीहरु एकताबद्ध भएर राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अझ सशक्त रुपमा अगाडि बढाउन जरुरी छ ।