क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य बद्री बजगाईकी आमा लक्ष्मी बजगाईको श्रद्धाञ्जलीसभा सम्पन्न (फोटोफिचर)

प्रकाशित मिति : २०७६ चैत्र ३

- अनु निरौला

काठमाडौं । ८४ वर्षको उमेरमा दिवंगत हुनुभएकी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य बद्री बजगाईकी आमा लक्ष्मी बजगाईको श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । क्रान्तिकारी माओवादीको ३ नं. प्रदेशको आयोजनामा भएको श्रद्धाञ्जलीसभामा पार्टी महासचिव मोहन वैद्य‘किरण’, दिवंगत लक्ष्मी बजगाईका श्रीमान तथा पार्टी केस बद्री बजगाईका ९० बर्षिय बुवा कृष्णप्रसाद बजगाई, बद्री बजगाई लगायत ४ भाइ छोरा, दुई बहिनी छोरी, बुहारी लगायतका परिवारका सदस्यहरु, पार्टीका पीवीएमहरु इन्द्रमोहन सिंग्देल, दिनेश शर्मा, पवनमान श्रेष्ठ, सुरेश श्रेष्ठ, केसहरु शारदा महत, इश्वर तिमिल्सिना, गोविन्द पौडेल, बसन्त बोगटी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । श्रद्धाञ्जलीसभाको प्रमुख अतिथि महासचिव किरण लगायतका नेताहरुले दिवंगत लक्ष्मी बजगाईको फोटोमा माल्र्यापण गर्नुका साथै एक मिनेट मौनधारणसहित श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।


पार्टीका पीवीएम तथा ३ नंं प्रदेशका सचिव सुरेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी महासचिवले श्रद्धाञ्जली मन्तव्य दिंदै शोकसन्तप्त परिवारजनप्रति पार्टीको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्नुभएको थियो । उहाँले दिवंगत लक्ष्मी बजगाईको मृत्यु गह्रुंगो मृत्यु भएको चर्चा गर्दै देश र जनताको मुक्ति र समाज रुपान्तरणको अभियानमा लाग्न आफ्ना छोराछोरीलाई प्रेरणा र हौसला दिने तथा योगदान गर्नेहरुको मृत्यु गह्रुंगो हुने बताउनु भयो । देश र जनताको अहितमा र निजी स्वार्थका लागि मात्र काम गर्नेहरुको मृत्यु हलुको हुने भन्दै नेपाली समाजको रुपान्तरणका निम्ति दशवर्षे जनयुद्धमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरुले गह्रुंगो मृत्यु रोजेको प्रसंग कोट्याउनु भयो ।


कार्यक्रममा परिवारको तर्फबाट श्रद्धाञ्जली मन्तव्य राख्दै पार्टीका केस समेत रहेका दिवंगत लक्ष्मी बजगाईका साइला छोरा बद्री बजगाईले आमाबाट सँधै धैर्यता, सहनशिलता र संघर्षशील जीवन बाँच्ने हौसला र प्रेरणा पाउने गरेको स्मरण गर्दै दशवर्षे जनयुद्धको क्रममा पनि आमाले आफू जनयुद्धमा लाग्दा कहिल्यै गुनासो नगरेको, बरु हौसला दिने गरेको बताउँदै शरीरमा एक मुठ्ठि रगत रहुन्जेल देश र जनताको मुक्ति आन्दोलनमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निधन भएको १३ औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन पार्टी केस शारदा महतले गर्नुभएको थियो । दिवंगत लक्ष्मी बजगाईको फागुन २१ गते जोरपाटी स्थित निवासमै निधन भएको थियो । उहाँका ९० बर्षिय श्रीमान कृष्णप्रसाद बजगाई, चार छोरा (हरिप्रसाद, नारायण, बद्री र केदार), दुई छोरी (सीता र राधिका) रहेका छन् ।