
कञ्चनपुर । लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रमा ३९५ वर्ग किमि भूमि हडपेको भारतले कञ्चनपुरमा ५० विघा नेपाली भूभागमा कब्जा जमाएको छ । र, सीमा स्तम्भ गाड्न भन्दै नेपाली भूमिमा खाल्डा खन्न थालिएको छ । देशैभर ७२ स्थानमा हजारौ हेक्टर नेपाली भूभाग हडपेको भारतले नेपाली भूमि अतिक्रणको श्रृङ्खला एकपछि अर्को तीव्र पार्दै लगेको छ । कञ्चनपुर–१० भुडामा भारतले हालै ५० विघा नेपाली जमिन कब्जा गरेको स्थानीयले बताएका छन् ।
स्थानीय दिलराज पन्तका अनुसार साविकको ३३ र ३४ नम्बर सीमास्तम्भको बीचमा पन्तसहित ४० परिवारको ५० बिघाभन्दा बढी जमिन छ । चौधर नालालाई सीमा मानिँदै आएकामा पछिल्लो पटक सर्भे टोलीले निकै वर सीमास्तम्भ गाड्न थालेको छ । यसरी सीमास्तम्भ गाड्दा स्थानीय बासिन्दाको जमिन मात्रै होइन, महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको नहरसमेत भारतीय भूभागमा पारिएको छ ।
पन्तका अनुसार उनीहरुसँग लालपुर्जा छ, मालपोत तिरिरहेका छन्, पानीपोत पनि तिरिरहेका छन् । अहिले आएर यो जमिन भारतमा कसरी प¥यो भन्दै उनीहरुले आश्चर्य व्यक्त गरिरहेका छन् । गत साता भारतीय सुरक्षाकर्मी (एसएसबी) सहितको टोलीले नेपालतर्फको दर्ता जमिनमै सीमास्तम्भ निर्माणका लागि खाल्डो खनेको छ । ३३ र ३४ नम्बर सीमास्तम्भको बीचमा खाल्डाहरू खनिएको छ ।
खेमराज पन्त, बेलौरी नगरपालिका १० भुडाका बलिराम चौधरीलगायत ४० भन्दा बढी परिवारको ५ कट्ठादेखि दुई÷अढाई बिघासम्मको लालपुर्जा भएको जमिन भारतले हडपेको छ ।
स्थानीयले विरोध जनाएपछि संयुक्त सीमा सर्भे टोलीले काम स्थगित गरेको छ । स्थानीयले प्रमुख जिल्ला अधिकारीलाई स्थानीयले दर्ता जमिन भारततिर गएकाले नक्सा सच्याउनुपर्ने माग गरेका छन् । स्थानीयले संघर्ष समिति समेत गठन गरेका छन् । उनीहरूले सरकारले भारतसँग छलफल गरेर नक्सा सच्याउनुपर्ने माग राखेका छन् । संयुक्त सर्भे टोलीमा रहेका नापी कार्यालय कैलालीका प्रमुख सुदर्शन धामीका अनुसार संयुक्त टोलीले बेलडाडीको झिलमिलादेखि सर्भेको काम सुरु गरेको थियो । जसमा जोर पिलर भारतले र बिजोर नेपालले मर्मत तथा निर्माण गर्नुपर्ने थियो । सोही क्रममा ७८२ को सहायक पिलर १ र २ भुडामा निर्माण गर्ने बेला विवाद भएको हो ।
धामीका अनुसार पछिल्लो पटक स्ट्रिप नक्साअनुसार नेपालको दर्ता जमिनमै सीमास्तम्भ देखिएको छ । विगतमा खोलानालालाई सीमा मानिँदै आएकामा पछिल्लो पटक दुई देशबीचको सहमतिअनुसार संयुक्त टोलीले नक्सामा भएका तथा फिल्डमा नभएका सीमास्तम्भ निर्माण गर्ने सहमति भएको उनले बताए । यस क्षेत्रमा ४ नं. नापी टोलीले फागुन १ देखि नापीको काम सुरु गरेको हो ।
पटक पटक अतिक्रमण
२०७४ मा भुडामै स्थानीयले खेतसम्म जाने सडकमा ग्राभेल हाल्न खोज्दा एसएसबीले अवरोध गरेको थियो । दशगजामा पर्ने भन्दै एसएसबीले ग्राभेल गर्न दिएन । त्यतिबेला सर्वेक्षक पूर्णबहादुर खड्काको टोली आएर नेपाली भूमि भएको भनेपछि बाटो निर्माण गर्न दिएको बेलौरी नगरपालिका १० का वडाध्यक्ष हरिलाल चौधरीले बताए ।
२०५३ मा महाकाली सिँचाइ आयोजनाको नहर निर्माणका क्रममा पनि विवाद भएको थियो । भारतीय पक्षले दशगजामै नहर निर्माण हुन लागेको भनेर अवरोध गरेको थियो । त्यतिबेला दुवैतर्फका सीमाविद् आएर नेपाली भूमिमै नहर निर्माण भइरहेको बताएपछि काम अघि बढेको महाकाली सिँचाइ आयोजनाअन्तर्गत दोस्रो चरणका ब्लक अध्यक्ष गोपाल पन्तले बताए । ‘अहिले यही नहरको फेदमा भारतले पिलर गाड्दै छ,’ उनले भने, ‘नेपाल सरकारले निर्माण गरेको संरचना कसरी भारततर्फ जाँदै छ ?’
२०३८ सालमा पनि भारत उत्तर प्रदेशको पिलिभित जिल्लाको कम्बोजनगरदेखि नेपाली बस्तीमै भारतीय पक्षले नाली खन्न थालेको थियो । स्थानीयले ८३ जना भारतीय कामदारलाई फिर्ता पठाएको भुडाकै स्थानीय बासिन्दा देवसिंह थापाले बताए । ‘यहाँ केही काम हुन थाल्यो कि विवाद भइहाल्छ,’ उनले भने, ‘भारतीय पक्षले पटक–पटक सीमा मिच्ने काम गरिरहेको छ, अहिले दर्ता जमिनमै पिलर हाल्न खोजिँदै छ ।’
कान्तिपुर दैनिकमा प्रकाशित समाचार अनुसार पछिल्लो पटक भारतीय पक्षले दशगजामै एसएसबीको क्याम्प राखेको छ । यस विषयमा जिल्ला प्रशासनदेखि राजनीतिक दल सबैलाई पटक–पटक जानकारी गराइए पनि कुनै वास्ता नभएको थापाले बताएका छन् ।






























