
काठमाडौं । विश्वव्यापी रुपमा महामारीको रुप लिएको र नेपालमा पनि संभावित संक्रमणको जोखिम बढिरहेको स्थितिलाई मध्येनजर गर्दै राजनीतिक पार्टीहरु लगायतले सार्वजनिक कार्यक्रमहरु स्थगित गरिरहेको अवस्थामा सुकुम्बासीहरु भने सरकारले डोजर लगाएर सुकुम्बासी बस्तीबाट उठिबास लगाउन थालेको भन्दै सरकारको दमनका विरुद्ध आन्दोलित बनेका छन् । झापा, मोरङ, रौतहट, मकवानपुर, काठमाडौं लगायतका जिल्लाको विभिन्न ठाउँमा बसोबास गर्दै आएका सुकुम्बासी बस्तीहरुमा वैकल्पिक व्यवस्था विनै डोजर लगाएर बर्षौदेखि बस्दै आएको थातथलोबाट बेदखल गरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् ।

लालपुर्जा दिन्छु भनेर सुकुम्बासीको भोट लिएर जितेर सत्ता सञ्चालनमा पुगेका मन्त्रीहरु आफैले डोजर लिएर सुकुम्बासीहरुका घर टहरा भत्काउन थालेको भन्दै सुकुम्बासीहरुले संगठित रुपमा आन्दोलन अगाडि बढाउने तयारी थालेका छन् । आन्दोलनको आधार तयार पार्ने उद्देश्यका साथ उनीहरुले विभिन्न राजनीतिक पार्टी निकट नौं वटा घटक संगठनहरुले ‘संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपाल’ गठन गरी पहिलो चरणमा देशव्यापी जनजागरण अभियान सुरु गरेका छन् । उनीहरुले सुकुम्बासी बस्ती बस्तीमा यो अभियान सञ्चालन गरिरहेका छन् ।
सोही अभियान अन्तर्गत संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालको आयोजनामा बुधबार बल्खु र बंशीघाटमा र बिहीबार थापाथली र शंखमूलमा जनजागरण अभियानको कार्यक्रम सम्पन्न गरिएको छ ।

बिहीबार शंखमूलमा आयोजना गरिएको कार्यक्रममा वक्ताहरुले कि सम्पूर्ण भूमि राष्ट्रियकरण गरिनु पर्ने कि सुकुम्बासीहरुलाई लालपुर्जा दिनुपर्ने विचार जोडदार रुपमा प्रस्तुत गरेका छन् । वर्तमान ओली सरकारले ल्याएको भूमि विधेयकले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भनिए पनि भूमाफियालाई पोसेर सुकुम्बासीहरुलाई बेदखल गर्ने खोटहरु रहेकोले सुकुम्बासीको स्पष्ट परिभाषासहित सुकुम्बासीलाई लालपुर्जा दिने ठोस व्यवस्था गर्ने गरी विधेयकको नवौं संशोधन गरिनुपर्ने विषय जोडदार रुपमा उठाएका छन् ।
लालपुर्जा पाइने आशमा देशैभरगरी ७० लाखको संख्यामा रहेका सुकुम्बासीहरु कहिले कांग्रेसको पछि, कहिले एमाले त कहिले माओवादीको पछि लागेपनि उनीहरु सत्तामा पुगेपछि सुकुम्बासीहरुसँग गरेका बाचा खोला त¥यो लौरो बिस्र्यो भनेझै बिर्सिएको गुनासो गरे ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका अध्यक्ष कुमार कार्कीले भने, “सामन्त, दलाल र भूमाफियाका विरुद्ध बलिदानीपूर्वक संघर्ष गर्नुपर्ने बेला आएको छ । लालपुर्जा नपाएसम्म सुकुम्बासीहरुले घरघरबाट आन्दोलनको आँधिबेहरी उठाउनुु पर्दछ । त्यसका लागि तपाईहरु सबै तयार भएर बस्नोस् । नलडी अधिकार पाइन्न ।”
कार्यक्रमका प्रमुख अतिथि रहेका कार्कीले जनजागरण अभियानलाई देशव्यापी रुपमा लैजाने बताए ।
मोर्चाका उपाध्यक्ष तथा नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघका नेता पवनमान गुरुङले अधिकारका निम्ति सबै सुकुम्बासी संघ संस्थाहरु एकजुट भएर अगाडि बढेको बताउँदै अधिकारका लागि सबै सुकुम्बासी बस्तीका जनताहरु जागरुक हुनुपर्ने र मोर्चाको नेतृत्वमा हुने आन्दोलनमा सक्रियतापूर्वक भाग लिनुपर्ने बताए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेता गुरुङले संघर्षबाट मात्रै सुकुम्बासीहरुले भूमिमाथिको अधिकार स्थापित गर्न सक्ने कुरा राखे ।
कार्यक्रममा अतिथिको रुपमा कुरा राख्दै नेपाल राष्ट्रिय सुकुम्बासी पार्टीका अध्यक्ष हुकुमबहादुर लामाले तीसको दशकदेखि लालपुर्जाको लागि लड्दै आएको बताउँदै सुकुम्बासीले लालपुर्जा नपाए राणा, राजा फालेका जनताले यो सरकार पनि फाल्ने चेतावनी दिए ।
अतिथिकै रुपमा सत्तारुढ नेकपा निकट अखिल नेपाल सुकुम्बासी संघका अध्यक्ष अमर परियारले सामन्तवाद र भूमाफियाका विरुद्ध बलिदानीपूर्वक लड्ने आँट, साहस देखाउनु पर्छ, संघर्षबाहेक सुकुम्बासीसँग लालपुर्जा प्राप्त गर्ने अन्य कुनै विकल्प नरहेको कुरामा जोड दिए ।
कार्यक्रममा बोल्दै नेपाली कांगे्रस निकट नेपाल सुकुम्बासी संघका अध्यक्ष पदम सिजापतिले पनि सुकुम्बासीहरु एकजुट भएर आन्दोलित हुनुपर्नेमा जोड दिएका थिए ।
मोर्चाका महासचिव तथा संघीय समाजवादी पार्टी निकट सुकुम्बासी संगठनका अध्यक्ष दिपकजंग कुँवरले कार्यक्रम सञ्चालन गर्दै विगतबाट पाठ सिक्दै मोर्चालाई थप सुदृढ पार्दै आन्दोलनलाई सशक्त पार्नुपर्ने बताउँदै सुकुम्बासी विरोधी भूमि विधेयकका दफाहरु बाचन गरेर सुनाएका थिए । उनले जोखिमयुक्त सुकुम्बासी बस्तीलाई सोही वडामा वैकल्पिक व्यवस्था गरी हटाउने, जोखिममुक्त बस्तीहरुलाई घर टहरा भएकै जग्गाको लालपुर्जा उपलब्ध गराउने, जोखिममुक्त बस्तीहरुलाई कुनै पनि बहानामा हटाउन नपाउने, जोखिमयुक्त बस्तीहरुलाई वैकल्पिक व्यवस्था गरेर मात्र हटाउने लगायतका चारबुँदे माग राखेर आन्दोलन थालिएको बताए ।
कार्यक्रममा जनप्रतिनिधि कामनपा १० की वडा सदस्य सुनिता भित्रकोटी, बुद्धमार्ग टोल विकास समितिका सल्लाहकार लालबहादुर कार्की, मोर्चाका सचिव धनेश्वर लिम्बू लगायतले अभियान सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रममा नेपाल बसोबास एकता समाजका महासचिव राजु मोक्तान लगायत सुकुम्बासी संघ संगठनका नेताहरुको उपस्थिति रहेको थियो । मोर्चाले शुक्रबार तीनकुने स्थित गैरीगाउँमा जनजागरण अभियान सञ्चालन गर्ने जनाएको छ ।






























