चीनलाई फुटाउने र कमजोर बनाउने उद्देश्यले नै एमसीसी सम्झौता गरिएको हो – प्रवक्ता कंडेल

चीनलाई फुटाउने र कमजोर बनाउने उद्देश्यले नै एमसीसी सम्झौता गरिएको हो – प्रवक्ता कंडेल


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेलले चीनलाई फुटाउने र कमजोर बनाउने उद्देश्यले एमसीसी सम्झौता गरिएको दावी गरेका छन् । क्रान्तिकारी पत्रकार महासंघ १ न.प्रदेश समितिको आयोजनामा सोमबार उदयपुरको सदरमुकाम गाईघाटमा सम्पन्न पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा नेता कँडेलले यस्तो दावी गरेका हुन् ।


पार्टीका पूर्वी व्यूरो इन्चार्ज समेत रहेका नेता कँडेलले पार्टीको नीति, राष्ट्रिय राजनैतिक परिस्थिति, अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै नेता कँडेलले एमसीसी अमेरिकाको सरकारी निगम भएको र अमेरिकी रणनीति पूरा गर्ने उद्देश्यले यसको निर्माण गरिएको बताए । नेपालमा वैदेशिक शक्ति केन्द्रहरुको चलखेल बढेर गएको र बिक्री भएका एजेन्ट (दलाल)हरुले नै एमसीसी सम्झौतामा हस्ताक्षर गरेको दावी गर्दै नेता कँडेलले एमसीसी सम्झौता सदनबाट अनुमोदन गरिए नेपालमा अमेरिकी सेनाले सैन्य अखडा तैनाथ गर्ने र आतंक सिर्जना गर्ने पनि दाबी गरे । अमेरिकी सेना नेपाल आउने स्थिति बनेमा उनीहरु नेपालको संविधानभन्दा माथि हुने र नेपालको प्राकृतिक स्रोत साधन कब्जा गर्ने पनि दाबी गरे ।

अर्कोतिर भारतीय शासक वर्गले नेपालको भूमि अतिक्रमणलाई तीव्र पारी सिक्किमीकरणको प्रक्रिया अगाडि बढाइरहेको पनि नेता कँडेलले फेहरिस्त प्रस्तुत गरे । नेता कँडेलले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायत भारतले हडपेको भूमि फिर्ता गराउन र राष्ट्रघाती एमसीसी खारेजीका लागि क्रान्तिकारी माओवादीले देशव्यापी रुपमा अभियान सञ्चालन गरिरहेको पनि बताए । उनले एकल र संयुक्त रुपमा दश दलीय मोर्चाले आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाइरहको चर्चा गर्दै जनताको तागतलाई परिचालन गरेर नै भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादी हस्तक्षेपलाई प्रतिरोध संघर्षमार्फत् परास्त गरिछाड्ने दाबी गरे ।
उक्त पत्रकार सम्मेलनमा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य तथा प्रदेशका संयोजक मधुकर थापाले सहजीकरण गरेका थिए भने पत्रकार सम्मेलनमा पार्टीका पोलिटव्यूरो सदस्य तथा १ नंं प्रदेशका इन्चार्ज मिनकुमार राउत, अनेमसंघ (क्रान्तिकारी) की नेतृ अम्बिका रेग्मी लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा जिल्लाको तर्फबाट राष्ट्रिय मिडियामा काम गर्ने पत्रकारहरुको उपस्थिति रहेको थियो ।