बलिदान दिवससँगै सहिद सप्ताह सुरु, अभियानसँगै बलिदान दिवस मनाउँदै क्रान्तिकारी माओवादी

प्रकाशित मिति : २०७६ फाल्गुन १४

काठमाडौं । आज अर्थात् फागुन १४ गते । बलिदान दिवस । आजबाटै २१ गतेसम्म सहिद सप्ताह सुरु भएको छ । माओवादी जनयुद्ध सुरु गरिएको २०५२ साल फागनु १४ गते गोरखाका दिलबहादुर रम्तेलले सहादत प्राप्त गरेका थिए । दिलबहादुर रम्तेल नै जनयुद्धका प्रथम सहिद मानिन्छन् । जनयुद्धका प्रथम सहिद र झापा विद्रोहका योद्धाहरु नेत्र घिमिरेसहित ४ जनालाई सुखानीको जंगलमा लगेर गोली हानी हत्या गरेकोे २०२९ फागुन २१ गतेको सम्झनामा फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउने गरिन्छ । जनयुद्धकै क्रमबाट यो दिवस मनाउन थालिएको हो । माओवादी पार्टीहरुले झापा विद्रोह, जनयुद्ध लगायत परिवर्तनको आन्दोलनमा बलिदान गर्ने सबै सहिदहरुको सम्झनामा यस अवधिमा विभिन्न कार्यक्रम गर्ने गरेका छन् ।

राष्ट्रिय स्वाधीनताको रक्षा र संगठन विस्तारको देशव्यापी अभियानमा रहेको नेकपा (क्रान्तिकारी माओवादी)ले अभियानकै क्रममा बलिदान दिवस मनाउने बताएको छ । सहिद तथा वेपत्ता परिवारहरुसँग भेटघाट तथा सम्मान, श्रद्धाञ्जली सभा लगायतका कार्यक्रम गरी बलिदान दिवस मनाउने तयारी गरेको छ । माघ १५ देखि चैत्र २४ सम्म क्रान्तिकारी माओवादी देशव्यापी अभियानमा छ । केन्द्रीय स्तरका ४ वटा टोली, प्रदेश र जिल्ला स्तरका छुट्टाछुट्टै अभियान टोली तथा दल बनाएर अभियान सञ्चालन गरिरहेको छ । अभियानकै क्रममा क्रान्तिकारी माओवादीले जनयुद्ध दिवस पनि भव्य रुपमा मनाएको थियो ।

जनयुद्ध दिवसको क्रममा जारी गरेको वक्तव्यमा क्रान्तिकारी माओवादीका महासचिव माेहन वैद्य किरणले सहिद र बलिदानको स्मरण गर्दै भनेका थिए– ‘यस ऐतिहासिक अवसरमा हाम्रो पार्टी जनयुद्धको प्रक्रियामा सहादत प्राप्त गर्ने वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ, वेपत्ता र घाइते तथा अपाङ्ग योद्धाहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछ र जनसमुदायद्वारा प्रस्तुत गरिएका त्याग, वीरता र बलिदानका कीर्तिमानहरुको संस्मरण गर्दछ । साथै, यस अवसरमा हाम्रो पार्टी सहिद तथा वेपत्ता योद्धाका परिवारजन, सम्पूर्ण पार्टी कमरेडहरु, समर्थक तथा सुभेक्षुकहरु, आदरणीय जनसमुदाय र भाईचारा पार्टी तथा विश्व सर्वहारा वर्गप्रति हार्दिक शुभकामना र लाल अभिवादन अर्पण गर्दछ ।”