क्रान्तिकारी माओवादीका कार्यकर्ताहरुले जलाए नेपालको नक्कली नक्सा (फोटोफिचर)

प्रकाशित मिति : २०७६ फाल्गुन ११

- अनु निराैला

काठमाडौं । एमसीसीको खारेजी र अतिक्रमित भूमि फिर्ताको माग गर्दै जारी नेकपा (क्रान्तिकारी माओवादी)को अभियानको क्रममा क्रान्तिकारी माओवादीका कार्यकर्ताहरुले वडा कार्यालयमा पाइएको नक्कली नक्सा जलाएका छन् । अभियान टोलीले दक्षिणकाली नगरपालिकाको ८ नं. वडा कार्यालयमा भएको नक्कली नक्सा आइतबार जलाएका हुन् । नक्कली नक्सा जलाउँदै उनीहरुले साथमा लगेको लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको चुच्चे नक्सा प्रयोग गर्न भन्दै वडाध्यक्ष राजकुमार लामालाई हस्तान्तरण समेत गरे ।


पार्टी केस तथा काठमाडौं जिल्ला इन्चार्ज शारदा महतको नेतृत्वमा गएको अभियान टोलीले उक्त नेपालको नक्कली नक्सा जलाएको हो ।


अभियान टोलीले दक्षिणकाली नगरपालिका प्रमुखको कार्यकक्षमा भएको नक्कली नक्सा पनि हटाउन अनुरोध गर्दै नेपालको वास्तविक नक्सा हस्तान्तरण गरेको छ । नगरपालिकाका मेयर मोहन वस्नेतले सबै वडा कार्यालयमा भएका नक्कली नक्सा हटाई सक्कली नक्सा प्रयोगका लागि अभियान टोलीसँग १० वटा चुच्चे नक्साको समेत माग गरेको अभियान टोलीका नेता तथा काठमाडौं सेक्रेटरी खगेन्द्र छन्त्यालले बताए ।


यसैबीच, अभियान टोलीले दक्षिणकालीको फर्पिङमा कोणसभा समेत सम्पन्न गरेको छ । पार्टी जिल्लाका सचिवालय सदस्य राम नेपालीले सञ्चालन गरेको कोणसभालाई पार्टी सेक्रेटरी छन्त्याल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष बन्धुदेव पाण्डे, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ३ नं. प्रदेश अध्यक्ष रुपा गेलाल, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका नेता दिनेश गर्तौला र रत्न महर्जनले सम्बोधन गरेका थिए ।


उक्त अभियान टोलीले भोलि कीर्तिपुर क्षेत्रमा अभियान सञ्चालन गर्ने जनाएको छ ।
लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत नेपालको भूमि हडपेर भारतले आफ्नो नक्सामा गाभेपछि नेपालमा त्यसको व्यापक विरोध भइरहेको छ । राजनीतिक पार्टी तथा नागरिक स्तरबाट निरन्तर रुपमा वर्तमान केपी ओली नेतृत्वको सरकारलाई नेपालको वास्तविक नक्सा जारी गर्न दबाब दिएपनि सरकारले नेपालको वास्तविक नक्सा जारी गर्न सकेको छैन । सबै सरकारी कार्यालयलगायत सरकारको निशान छापमा समेत कालापानी क्षेत्र गायब पारिएको नक्सा प्रयोग गरिएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)ले विगत एक वर्षअघिदेखि नै नक्कली नक्साका विरुद्ध तथा राष्ट्रिय स्वाधीनताको रक्षाका लागि देशव्यापी अभियान सञ्चालन गर्दै आएको छ । पछिल्लोपटक माघ १५ गतेदेखि चैत्र २४ गतेसम्मका लागि क्रान्तिकारी माओवादीले देशव्यापी रुपमा अभियान सञ्चालन गरिरहेको छ । अभियानकै क्रममा कोणसभा, टोलसभा, चोकसभाहरु मार्फत् जनतामा राष्ट्रियतासम्बन्धी जागरण पैदा गराइरहेको छ ।