नौ दलीय मोर्चा बन्यो दश दलीय, संसद भवन घेराउदेखि नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम घोषणा

नौ दलीय मोर्चा बन्यो दश दलीय, संसद भवन घेराउदेखि नेपाल बन्दसम्मका आन्दोलनका कार्यक्रम घोषणा


काठमाडौं । एमसीसीको खारेजी र भारतद्वारा अतिक्रमित भूमि फिर्ताको माग गर्दै आन्दोलनरत नौ दलीय मोर्चा अब दश दलीय बनेको छ । शनिबार बसेको नौ दलीय मोर्चाको बैठकले नेकपा (संयुक्त)लाई पनि मोर्चामा समावेश गर्ने निर्णय गरेपछि दश दलीय मोर्चा बनेको हो । मोर्चाको शनिबार सम्पन्न बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न वक्तव्य जारी गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले दश दलीय मोर्चाले संसदीय भवन घेराउदेखि नेपालबन्द सम्मका आन्दोलन कार्यक्रम घोषणा गरेका छन् ।


दश दलीय मोर्चाको तर्फबाट अध्यक्ष गजुरेलद्वारा जारी गरिएको वक्तव्यमा नौ दलीय मोर्चामा ने.क.पा.(संयुक्त) लाई पनि समावेश गर्ने निर्णय भएको र अब यो मोर्र्चाको ‘दश दलीय मोर्र्चा’ नामाकरण गरिएको उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “अमेरिकी सरकारको एम.सी.सी.परियोजनासँग नेपाल सरकारले गर्न खोजेको राष्ट्रघाती सम्झौता खारेज गर्ने तथा भारत सरकारद्वारा लिम्पियाधुरा–कालापानी–लिपुलेक भारतको राजनीतिक नक्शामा मिलाइएको र कालापानीमा भारतीय सेना राखिएको बिरोधमा केही महिनादेखि निरन्तर संचालन गरिएको विरोध कार्यक्रमलाई अझ सशक्त बनाउन निम्न अनुसारका कार्यक्रमहरु निश्चित गरिएको छ ः

  1.  राष्ट्रघाती एम.सी.सी.सम्झौता संसदबाट स्वीकृत र पारित नगर्नका लागि सबै संघीय सांसदहरुलाई अनुरोध गर्दै पत्राचार गर्ने ।
  2.  फागुन १५ गते सर्वपक्षीय अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्ने ।
  3. आगामी फगुन १५ गते भित्र देशका सबै स्थानीय निकायमा पहिलेकै विधिद्धारा प्रदेश समितिहरुले समायोजन गरी बिरोध प्रदर्शनलाई सशक्तरुपमा सम्पन्न गर्ने ।
  4.  आगामी फागुन १६ गते संसद भवन घेराउ गर्ने ।
  5.  राष्ट्रिय सार्वभौमिकता र अखण्डता माथि नै चुनौती खडा भएको अहिलेको अवस्थामा संघर्षको उच्च रुप ‘नेपाल बन्द’को कार्यक्रमको आयोजना गर्ने ठेगान भएको छ । यो महत्वपूर्ण कार्यक्रमलाई सफल पार्नका निमित्त सबै देशभक्तहरुलाई बैठकले जोडदार रुपमा आह्वान गरेको छ ।
    ड्ड ‘नेपाल बन्द’को मिति र ठोस योजना आगामी यही फागुन १३ गते बस्ने बैठकले तय गर्ने छ ।”