“प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ”
उपर्युल्लिखित नारा थियो जनयुद्ध थालनी गर्दाको । नयाँ जनवादी गणतन्त्र स्थापना गर्दै समाजवाद, साम्यवादमा पुग्ने लक्ष्य र उद्धेश्य थियो जनयुद्धको । तात्कालिन नेकपा माओवादीको नेतृत्वमा नेपाली जनताले पुरानो राज्यसत्ता ढाल्न पहिलो पटक बन्दुक उठाएका थिए । यतिखेर जनयुद्धका २४ वर्ष पूरा भएर २५औँ वर्षमा प्रवेश गरेको छ । आज जनयुद्ध भनेको एकादेशको कथा जस्तो बन्न पुगेको छ । यो बीचमा जनयुद्धको मुख्य नेतृत्व गरेको नेतासहितको एउटा ठूलो हिस्सा संसदीय गणतन्त्रको सत्तामा आपूmलाई समाहित गरेको छ । उसले हिजका आफ्नै सहयोद्धा र आपूmलाई सुरक्षा प्रदान गरेका नेता कार्यकर्ताहरूलाई आतङ्ककारी भन्दै जेल कोचिरहेको छ र आफैँले प्रतिक्रियावादी घोषणा गरेका शक्तिसित घाँटी जोडेर फासिवादी सत्ताको संरक्षण गरेको छ । अर्को शक्ति न त जनवादी गण्तन्त्र न त संसदीय गणतन्त्रलाई स्वीकार गर्दछ तथापि बेतुकको एकीकृत जनक्रान्तिको राग अलापेर प्रकारान्तरले बुर्जुवा सत्तासित साझेदारीको एजेण्डा बोकेर भूमिगत बनेको छ । त्यसैगरि एउटा शक्ति पुनः जनयुद्धका बाँकी कार्यभार पूरा गर्न र नयाँ जनवादी गणतन्त्र स्थापना गर्ने लक्ष्यअनुरूप यतिखेर राष्ट्रिय स्वाधीनताको आन्दोलनको देशव्यापि अभियान चलाई रहेको छ ।

हार्दिक शुभकामना !

जनयुद्धलाई हेर्ने दृष्टिकोण सबैका आआफ्नै छन् र हुन सक्छन् । हिजो जनयुद्धलाई आतङ्ककारी देख्दै आतङ्ककारी विधेययक ल्याएर दमन गर्न तथा तिनका नेताहरूका टाउकाको मूल्य तोक्नेहरू नै आज सत्तामा विराजमान छन् । ‘माछा मिठा, माछाका काँडा तिता’ भन्ने नेपाली उखान यतिखेर सत्ताधारी नेकपाले चरितार्थ गरेको छ । जनयुद्धकै कारण स्थापिना भएको गणतन्त्रको स्वाद बालुवाटार, सिंहदरबार, संसदभवन र शितलनिवासमा बसेर मजासित डकारेको छ तर जनयुद्ध बेठिक थियो, त्यो हिंसाकै बाटो थियो र गलत थियो भनेर बकबास गरिरहेको छ ।

जनयुद्धको मूख्य कार्यभार दुईवटा थियो । एउटा देशमा शदियौँदेखि जरा गाडेर बसेको सामन्तवादी राज्यसत्ताको पहाड भत्काउनु । दोस्रो साम्राज्यवादी तथा विस्तारवादी हस्तेक्षपको पहाड फोडेर राष्ट्रलाई स्वाधीन, आत्मनिर्भर र स्वतन्त्र बनाउनु । यी दुई कार्यभार पूरा गर्नका लागि दीर्घकालिन जनयुद्धको कार्यदिशा लागू गरेर गाउँलाई मुक्त गर्दै जनसत्ता निर्माण गरी शहर र राजधानी कब्जा गर्ने रणनीति लागू गरिएको थियो । ‘सय पटक नाप र एक पटक हान’ भनेजस्तै निकै लामो तयारी पछि मात्रै नेपाली जनताले सचेतता पूर्वक बन्दुक उठाएको थियो । एक पटक बन्दुक उठाएपछि त्यसलाई अन्तिम टुङ्गोमा नपु¥याएसम्म नबिसाउने बाचासहित जनयुद्धको थालनी गरिएको थियो । जनयुद्ध थालनी गर्दा तात्कालिन केन्द्रीय समितिबाट जारि गरिएको छ बुँदे प्रतिवद्धताको सार सङ्क्षेप यसप्रकार थियो–

क) मालेमावादको हिंसासम्बन्धी शिक्षामा आधारित रही माओले विकास गर्नुभएको माक्र्सवादी सैन्य सिद्धान्तअनुरूप जनयुद्धप्रति अविचलित रहने ।
ख) जनयुद्ध “राज्यसत्ताबाहेक अरू सबै भ्रम हो” भन्ने मान्यतामा आधारित हुनेछ । जनताका निमित्त राजनीतिक सत्ता कब्जा गर्दा देखा पर्ने अर्थवाद, सुधारवाद, अराजकतावाद, लगायतका सबै प्रकारका विचलनवादी चिन्तन र प्रवृत्तिका विरुद्ध निरन्तर सङ्घर्ष गर्ने ।


ग) हाम्रो योजना सामन्तवाद र साम्राज्यवादलाई ध्वस्त गरी नयाँ जनवादी क्रान्ति पूरा गर्ने, सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत क्रान्ति जारी राख्ने । एक पटक हतियार उठाएपछि त्यसलाई अन्तसम्म लैजाने दृढताबिना सशस्त्र सङ्घर्षको थालनी गर्नु सर्वहारा वर्ग एवम् आम जनताप्रति अपराध हुने कुरामा हामी दृढ छौं ।
घ) हाम्रो यो योजना सर्वहारा अन्तर्राष्ट्रवादको महान् भावनामा आधारित रहनेछ । नेपाली क्रान्ति, सर्वहारा विश्वक्रान्तिको अभिन्न अङ्ग हो र यसले विश्वक्रान्तिको सेवा गर्नेछ ।
ङ) हाम्रो योजना नयाँ जनवादी क्रान्तिकालमा सर्वहारा वर्गको पार्टीको नेतृत्वमा क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निमार्णको सैद्धान्तिक मान्यतामा आधारित रहनेछ ।
च) हाम्रो यो योजना सर्वहारा वर्गको पार्टीको स्वतन्त्र आत्मनिर्णयको अधिकारको मान्यता अनुसार बन्नेछ । पार्टीको नेतृत्वमा सामन्तवाद र साम्राज्यवाद विरोधी सबै तह र तप्काका जनसमुदायलाई गोलबन्द गर्दै सशस्त्र सङ्घर्ष संचालन गरिने छ । कहिल्यै र कुनै पनि हालतमा पार्टी देशी एवम् प्रतिक्रियावादी गुटहरूको दवाव, धम्की र प्रलोभनमा पर्ने छैन ।
छ) लेनिनको “क्रान्ति आफैँले आफ्नो विकासक्रममा सधैँ नै असाधारण जटिल परिस्थिति सिर्जना गर्दछ” भन्ने कुराको महत्वलाई आत्मसात गरेर जानु जरुरी छ ।
आज जनता र राष्ट्रप्रति गद्दारी गरेर जनयुद्ध समाप्त पारेर संसदीय व्यवस्थालाई स्वीकार्दै घुँडा टेकेका प्रचण्डले जनयुद्धलाई सम्झौतामा नल्याएको भए अहिलेसम्म हामी सबै समाप्त हुने थियौँ भनेर भन्दै छन् । अहिले प्रचण्ड स्कूलका तलसम्मका नेता कार्यकर्ताहरूले उनकै भनाइलाई स्कूलिङका रूपमा तलैसम्म लगेर जनतामा भ्रम सिर्जना गरिरहेका छन् । यसले के प्रस्ट हुन्छ भने प्रचण्ड–बाबुरामहरूले जनयुद्धलाई नियोजित रूपमै शक्ति आर्जनको माध्यम बनाएका थिए र उनीहरूको गन्तव्य केवल राजतन्त्रको उन्मुलन गरेर बुर्जुवा गणतन्त्र स्थापना गर्नु थियो । आफैँले जनयुद्ध थालनी गर्दा जारी गरेका छ बुँदे प्रतिवद्धताहरू प्रति गद्धारी त गरेकै थिए त्यलाई अगाडि बढाउन खोज्ने आफ्नै सहयोद्धाहरू प्रतिपनि दमन गर्दै फासिवादी सत्ता चलाउन खोज्दैछन् ।

निश्चितै रूपमा युद्ध हारजितकै खेल हो । साधन स्रोत र सामथ्र्यका हिसावले प्रतिक्रियावादी शक्ति हजारौँ गुणा शक्तिशाली हुन्छ । त्यसैले जनयुद्ध कमसल प्रविधिबाट बलियो र उच्च प्रविधिसँग लड्नुपर्ने भएकाले यो छापामार तरिकाले लडिने लडाइँ हो । पुरानो सत्ता निकै बलियो छ भन्ने कुरा जनयुद्ध थालनी गर्नुपूर्व नै थाहा थियो । त्यसैले त आफ्नो विजयको शिखर नचुम्दासम्म जनयुद्धमा उठाएको बन्दुक बिसाइने छैन । यदि बिसाइयो र सम्झौता गरियो भने त्यो सर्वहारा वर्ग एवम् आम जनताप्रति अपराध हुने छ भनिएको थियो ।

रक्षा, सन्तुलन र प्रत्याक्रमण गरी जनयुद्धका तीन चरण हुन्छन् भनेर माओले संश्लेषण गर्नु भएको थियो । नेपालमा सञ्चालन भएको महान् जनयुद्धले आफ्नो दश वर्षको समयमा रक्षा र सन्तुलनको चरण लगभग पूरा गरेर प्रत्याक्रमणको चरणमा फड्को मार्ने दिशामा पुगेको थियो । यहाँसम्म आइपुग्दा नेपालको कूल भूभागको असी प्रतिशत भूभाग माओवादीको कब्जामा गइसकेको थियो । पुरानो सत्ता जिल्लाका सदरमुकामका पनि सेनाको बख्तबन्द ब्यारेकमा मात्रै खुम्चिन पुगेको थियो । उता यही बिचमा तात्कालिन राजा ज्ञानेन्द्रले संसदीय व्यवस्थालाई कू गरेर कब्जा गरेका थिए भने संसदवादी राजनीतिक दलहरूमाथि प्रतिवन्ध लगाएर तिनका शीर्ष नेताहरूलाई नजरबन्दमा लिएका थिए । सात दलीय संसदवादी शक्तिले सडकमा पचास जना टाउका गनेर पनि मानिस उतार्न सकिरहेका थिएनन् । राजा बीरेन्द्रको बंश नास हुनेगरी भएको दरबार हत्याकाण्डको दोष ज्ञानेन्द्रलाई लागिरहेको थियो । उनी जनताका बिचमा अलोकपृय भएका थिए । राजतन्त्र पनि कमजोर भएको र संसदवादी दलहरू झनै कमजोर भएको बेला जनयुद्धको दिशा मोड्नु प्रचण्ड–बाबुरामहरूको नियोजित षड्यन्त्र थियो भन्ने कुरा अहिले घाम जत्तिकै छर्लङ्ग भएको छ । यहाँ ‘तलाउमा डुबेको कुकुरलाई लट्ठीले चुटेर मार’ भन्ने चिनियाँ उक्ति स्मरणयोग्य छ । सामन्तवाद र दलाल नोकरशाही पुँजीवादी शक्ति दुबै एकैसाथ कमजोर बनेको अवस्था जनयुद्धका निम्ति अत्यन्तै अनुकूल थियो । यो बेला दुश्मन शक्तिलाई ब्यारेक बाहिर बोलाएर चुट्नु नै उत्तम तात्कालिक कार्यनीतिक योजना हुन्थ्यो । त्यसअनुसारको कार्ययोजना बनाउनु पर्नेमा संसदवादी दलका मुख्यशक्ति नेपाली काङ्ग्रेस र एमालेलाई पुनर्जिवन दिनु प्रचण्ड–बाबुरामको जनताप्रतिकै ठूलो गद्दारी थियो । सात साल र छयालिस सालका दिल्ली सम्झौता धोका हो भनेर हतियार उठाएको माओवादी आफैँले बाह«बुँदे दिल्ली सम्झौता गर्नुले पनि प्रचण्ड–बाबुराम बुर्जुवा सत्ताको कुर्सीमा बस्न आतुर थिए भन्ने कुरा पुष्टि हुन्छ ।

त्यतिबेला माधव नेपाल तथा केपी ओलीहरू खिसिट्युरीको भाषामा भन्दै थिए ‘केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको सत्यानाश’ । अझ २०६२÷०६३ को जनआन्दोलनलाई केपीले त आफ्नो बालकोटे दरबारको कौशीमा बसेर ‘गणतन्त्रको नारा लगाउनु गोरुगाडामा चढेर अमेरिका यात्रा गर्नु जस्तै हो’ भनेर खिसिट्युरी गरेका थिए । आज त्यही गणतन्त्रको स्वाद बालुवाटार बसेर झुसिलो डकारिरहेका छन् । त्यो महान् जनयुद्ध लडेर नै केपीहरूलाई गणतन्त्रका लागि सम्झौतामा घिसारेर ल्याएको हुनाले अहिलेको यो वुर्जुवा गणतन्त्रमा मालिक हुन पाएका छन् ।
आज जनयुद्धका पच्चीसौँ वर्षमा प्रवेश गर्दै गर्दा क्रान्तिकारीहरूले फेरी नयाँ शिक्षा लिनुपर्ने भएको छ कि अबको निर्णायक लडाइँ लड्दा गद्दार नेताहरू कसरी जन्मिदा रहेछन् र ती नेताहरूलाई किनारामा लगाएर युद्ध कसरी अगाडि बढाउनु पर्नेछ भन्ने कुरा । जनयुद्धका छ बुँदे प्रतिवद्धता अहिले पनि सान्दर्भिक र औचित्यपूर्ण नै छन् । ती त मालेमावादको वैचारिक आलोकमा संश्लेषण गरिएका मार्गदर्शक सिद्धान्त थिए । त्यसलाई पुनःस्मरण गरेर नै अगाडिको कार्यदिशा तय गर्नु जरुरी छ । कालापानीको सीमा विवाद र एमसिसि परियोजनाका कारण आज देश राष्ट्रिय स्वाधीनताको एजेण्डामा ध्रुविकरण हुने सम्भावना प्रवल बनेको छ । यसप्रति सचेततापूर्वक सङ्घर्ष उठान गर्न सकिएन भने देश इराक, अफगान बन्ने खतरा प्रवल बनेर आएको छ । यसरी मात्रै फागुन एक अर्थात् जनयुद्ध दिवस मनाउनु औचित्पूर्ण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार