

जनकपुर । नौ वाम दलले जनकपुरमा मुलुकको भु–भाग भारतीय फौजबाट लिन र एमसीसी सम्झौता नगर्नका लागि संयूक्तरुपमा विरोध सभा गरेका छन् ।
शुक्रबार जनकपुरमा नौ वाम दलले आयोजना गरेको संयूक्त विरोधसभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका प्रदेश नम्बर २ का ईन्चार्ज हरिभक्त कडेल प्रतिकले मुलुकलाई विदेशीहरुको द्वन्द्वको भुमरीमा फसाउनका लागि कुनै पनि हालतमा एमसीसी लागु नगर्न चेतावनी दिए ।
नौ वटा कम्यूनिष्ट पार्टीहरुले देशको भु–भाग लिम्पियाधुरा, लिपुलेक, नालापानीबाट भारतीय फौज र एमसीसीको विरोधमा आयोजित संयूक्त विरोधसभामा नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य समेत रहेका प्रतिकले मुलुकमा दुई तिहाई बहुमतको कम्यूनिष्ट सरकारले कहिल्यैपनि देश र जनता विरोधी कार्य गर्ने दुस्साहस नगर्ने बताए । उनले नेपाली भुमीबाट भारतीय फौज हटाउन र एमसीसीमा हस्ताक्षर नगर्नका लागि मुलुक भर अभियान संचालन गरेको स्पष्ट पारे ।
उनले देशमा अहिले कथित कम्यूनिष्ट र राष्ट्रियता तथा देशभक्तको नाममा देश बेच्ने दलालहरु नै अग्रस्थानमा भएकाले शंकाउपशंका भई देशलाई जोगाउन अभियान नै संचालन गर्नुपरेको स्पष्ट पारे ।
त्यस्तै नेकपाका सह–संयोजक लोकनारायण सुवेदीले वर्तमान सरकार कथित कम्यूनिष्ट रहेको र कम्यूनिष्टको नाममा गैर कम्यूनिष्टको काम गरिरहेको प्रति आक्रोश पोखे । उनले भारतीय फौजको कब्जामा रहेको नेपाली भुमी आफ्नो मातहत ल्याई सच्चा राष्ट्रवादी र राष्ट्रभक्तको कार्य गर्न सरकारलाई सुझाए ।
त्यसैगरी नेकपा मालेका दीननाथ घिमिरेले कुनैपनि हालतमा राष्ट्रघाती एमसीसी सम्झौता नगर्न केपी शर्मा ओलीको सरकारलाई चेतावनी दिए । उनले विदेशीसंग एमसीसी सम्झौता गरी मुलुकलाई आधुनिकताको गुलाम नबनाउन आग्रह गरे । उनले एमसीसीले देश र जनताका लागि सय वर्षसम्मका लागि गुलाम बनाउन छद्मभेदी दलालहरु लागि परेको आरोप सरकारमाथि लगाए ।
नौ वाम दलले आयोजना गरेको संयूक्त विरोधसभा कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य ववन सिंह र राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य चिनतामणि पौडेल लगायतका नेताहरुले वर्तमान सरकारको कडा आलोचना गर्दै मुलुकको भुभाग फिर्ता पाउनुका लागि पहल गर्न र एमसीसी सम्झौता नगर्न सरकारलाई चेताएका थिए ।




























