काठमाण्डौँ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आगामी फागुन १४ गते हुने भएको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले उक्त मिति सार्वजनिक गरेको छ । निर्वाचन मिति तोकिसकेपछि अब मातहतका निकाय र क्याम्पसलाई जानकारी पठाउन थालिएको रजिस्ट्रार पेशल दाहालले जानकारी दिएको बताइएको छ ।
त्रिवि विद्यार्थी कल्याण विभागले स्ववियु निर्वाचनलाई लक्षित गर्दै विद्यार्थी भर्नालगायत काम सक्न क्याम्पसलाई ताकेता गरिसकेको छ । कार्यकारी परिषद्को बैठकले निर्वाचनसम्बन्धी प्रक्रिया थाल्न विभागलाई समेत परिपत्र गरेको छ ।
गत वर्ष निर्वाचन समन्वय एवं निरीक्षण समिति गठन गरे पनि विद्यार्थी संगठन र प्रमुख दल तयार नभएपछि निर्वाचन हुन सकेको थिएन । निर्वाचनभन्दा एक महिना पहिले मिति र कार्यतालिका सार्वजनिक गर्नुपर्ने प्रावधान छ ।





























