अतिक्रमित भूूमि फिर्ताको माग गर्दै देजमोले काठमाडौंमा विशाल जुलुससहित विरोधसभा गर्ने

प्रकाशित मिति : २०७६ मंसिर ३


काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल केन्द्रीय कार्यालयको आयोजनामा ‘लिपुलेक लिम्पियाधुरा, कालापानीलगायत अतिक्रमित सम्पूर्ण नेपाली भूमि – फिर्ता गर !’ नारासहित काठमाडौंमा विशाल जुलुससहित विरोध सभाको आयोजना गरेको छ । मोर्चाले बुधबार दिउसो १२ बजे काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा विशाल जुलुससहित विरोधसभाको आयोजना गरेको हो । जुलुससहितको विरोधसभालाई मोर्चाका अध्यक्ष सीपी गजुरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
कार्यक्रमलाई भव्य बनाउन मोर्चाले उपत्यकाका सबै नेता, कार्यकर्ता, समर्थक तथा आम जनसमुदायलाई हार्दिक अपिल समेत गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)को संयुक्त मोर्चाको रुपमा रहेको देजमोले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र अखण्डताको पक्षमा स्थापनाकालदेखि नै प्रखर रुपमा वकालत गर्दै आएको छ । गत फागुनमा पनि यो मोर्चाले कालापानी क्षेत्रलगायत भारतीय विस्तारवादले गरेको अतिक्रमणका विरुद्ध देशव्यापी अभियान समेत सञ्चालन गरेको थियो । कालापानी क्षेत्र गायब पारिएको नक्कली नक्सा प्रयोग गरिएको पाइएपछि सरकारी निकायहरुमा स्मरणपत्र बुझाउँदै सक्कली नक्सा प्रयोगको लागि सार्वजनिक दबाब समेत दिएको थियो ।