काठमाडौं । भारतीय विस्तारवादी हस्तक्षेपका विरुद्ध क्रान्तिकारी विद्यार्थीहरु पनि सडकमा उत्रिएका छन् । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी र गोपाल किराती नेतृत्वको नेकपा (माके) निकट अखिल (क्रान्तिकारी)ले बागबजारमा बिहीबार मोदीको पुत्ला दहन गरेका छन् । सो क्रममा उनीहरुले भारतीय विस्तारवाद– मूर्दावाद लगायत ‘गो ब्याक इण्डिया’को नारा घन्काएका थिए ।
यसैबीच, भोलि पाँच विद्यार्थी संगठनहरुको संयुक्त आयोजनामा लैनचौरस्थित भारतीय दूताबास घेराउ गर्ने कार्यक्रम तय गरिएको अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले जानकारी दिए । उनका अनुसार भोलि विहान ११ बजे दूताबास घेराउ गर्ने कार्यक्रम रहेको छ । क्रान्तिकारी माओवादी, नेकपा विप्लव, माओवादी केन्द्र, समाजवादी पार्टी निकटका विद्यार्थी संगठनहरुको आव्हानमा दूताबास घेर्ने कार्यक्रमको आयोजना गरिएको हो ।