यो कथित लोकतान्त्रिक गणतन्त्रले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न सकेन, अब जनगणतन्त्रका लागि लडौं : परि थापा

प्रकाशित मिति : २०७६ कार्तिक २१


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका महासचिव परि थापाले केपी शर्मा ओली नेतृत्वको सरकार र वर्तमान कथित लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाले देशको राष्ट्रिय स्वाधीनता, क्षेत्रीय अखण्डता र सार्वभौमिकताको रक्षा गर्न सकेन भन्दै त्यसका लागि संघीय जनगणतान्त्रिक व्यवस्था अपरिहार्य रहेको विचार व्यक्त गरेका छन् । महासचिव थापाले नेपालका शासकहरुले आफ्नो सत्ता कायम गर्नका लागि लगातार भारतीय विस्तारवादसामु आत्मसमर्पण गर्दै आएको र राष्ट्रघातको समेच चाङ लगाउँदै आएको विश्लेषण गर्दै भने, “आफूलाई कथित राष्ट्रवादी भएको दावी गर्ने ओली सरकारले पनि राष्ट्रिय स्वाधीनता, क्षेत्रीय अखण्डता र सार्वभौमिकताको रक्षा गर्न सकेन । अब यो कथित लोकतान्त्रिक गणतान्त्रिक सरकारको औचित्य समाप्त भएको छ । अब संघीय जनगणतन्त्रका लागि लडौं ।”

नेपालका मुख्य नदीहरु कोशी, गण्डकी, महाकाली असमान सम्झौता गरेर यिनै शासकहले भारतलाई सुम्पिएको चर्चा गर्दै आफ्नो पञ्चायती शासन टिकाउनका लागि तत्कालीन राजा महेन्द्रले भारतीय विस्तारवादलाई कालापानीमा सेना राख्न दिएको प्रसंग कोट्याए ।

नेता थापाले कालापानी क्षेत्र गायब पारिएको नक्सा प्रयोग प्रधानमन्त्री कार्यालयदेखि सबै सरकारी निकायमा प्रयोग भएको पाइएपछि देशभक्त जनगणतान्त्रिक मोर्चाले फागुन ७ देखि २१ गतेसम्म मेची महाकाली जनजागरण अभियान मार्फत् आवाज उठाएको स्मरण गर्दै भने, “हामीले उठाएको नक्कली नक्साको विषयमा सरकार गम्भीर नै भएन, आज आएर पुष्टि भयो ।” नेपाली शासकहरुको राष्ट्रिय आत्मसमर्पणवादी र राष्ट्रघाती चरित्रका कारण हेपेर भारतीय विस्तारवादले आज नेपाली भूभाग आफ्नो नक्सामा पारेको नेता थापाले दाबी गरे ।

“भारत र चीनले नेपालाई थाहै नदिइकन लिपुलेक सम्झौता गर्दा पनि यहाँको सरकार लगायत भारतीय दुतावास, चिनियाँ दुताबासलाई समेत गम्भीर ध्यानाकर्षण गराएका थियौं ।” नेता थापाले भने, “डबल नेकपाको राष्ट्रघाती नीतिका कारणले गर्दा भारतीय विस्तारवादले हेप्ने काम गरेको हो ।”

भारत सरकारले सिमा अतिक्रमण गरेको नयाँ नक्सा जारी गरेपछि विरोधमा उत्रिएको देशभक्त जनगणतान्त्रिक मोर्चाको विरोध ¥याली र कोणसभालाई सम्बोधन गर्दै महासचिव परि थापाले भारतको चर्को विरोध गर्दै नेपालीहरु कसैसँग कहिल्यै नझुकेको भन्दै भारतले गरेको कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतका सिमा अतिक्रमणका विरुद्ध लड्नुपर्ने बताए । नेता थापाले ओली सरकारलाई भारतले नेपालको कालापानी क्षेत्र आफ्नो देशमा गाभेर जारी गरेको नक्साको विषयमा सत्यतथ्य सार्वजनिक गर्न र नेपाली भूमि फिर्ताका लागि पहल गर्न पनि चेतावानी दिएका छन् ।