‘हामी यो संसदीय व्यवस्था र संविधान मान्दैनौं’

प्रकाशित मिति : २०७६ भाद्र २

- लक्ष्मीराम दङ्गाल

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले आफूहरु यो संसदीय व्यवस्था र संविधान खारेजीको पक्षमा रहेको बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रघात र जनघातका रेकर्ड तोडेको चर्चा गर्दै यो संसदीय व्यवस्था भएसम्म जनताले कहिल्यै सुख नपाउने अध्यक्ष गजुरेलले विश्लेषण गरे । करवृद्धि, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, कालाबजारी, भ्रष्टाचार, कमिसन, दलाली, घुसखोरी, बेरोजगारी, हत्या, हिंसा, बलात्कार लगायतका घटनाहरुमा भएको बढोत्तरीले जनताको जनजीवन निकै कष्टकर बनेको चर्चा गर्दै अध्यक्ष गजुरेलले ओली नेतृत्वको पार्टीलाई मत दिने जनताले अहिले ठूलो पश्चाताप गरिरहेको समेत दावी गरे । उनले भने, “हामी यो संसदीय व्यवस्था र संविधान मान्दैनौं । यसको खारेजी चाहन्छौं र नयाँ जनवादी राज्य व्यवस्थाको स्थापना गर्न चाहन्छौं । त्यसैले हामीले भनेका छौं– अबको विकल्प जनगणतन्त्र हो ।”
क्रान्तिकारी माओवादीको काठमाडौं जिल्लाले सुरु गरेको ‘काठमाडौं मार्च अभियान’ अन्तर्गत पार्टीको पूर्वी संयुक्त नगर कमिटिले जोरपाटीमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष गजुरेलले अहिले तीनै तहको सरकारी निकाय भ्रष्टाचारमा चुर्लुम्म डुबेको चर्चा गर्दै भ्रष्टाचारका विरुद्ध समाचार लेख्ने पत्रकार (पुडासैनी)को हत्या गरेर आत्महत्या गरेको भनी नाटक मञ्चन भइरहेको टिप्पणी गरे । भ्रष्ट नेता, ठेकेदार, कर्मचारी, प्रहरी प्रशासनले भ्रष्टाचारको विरोध गर्ने पत्रकारहरुलाई समेत आतंकित पार्न र भ्रष्टाचार विरुद्धको समाचार लेख्ने तथा प्रशारण गर्ने साहस कसैले नगरोस् भनी त्यस्तो पत्रकारितालाई निरुत्साहित गर्न पुडासैनीको हत्या गरिएको हुनसक्ने उनले आशंका व्यक्त गरे । उनले भने, “त्यसैले यो सरकार भ्रष्टाचारी, बलात्कारी, माफियाहरुको सरकार हो ।”
ओली सरकार साम्राज्यवाद र विस्तारवादको कठ्पुतली बनेको चर्चा गर्दै भारतीय राजदूतले आदेश दिएपछि मन्त्रीपरिषद्को समेत निर्णय फेरेर आफ्नै जनताको स्वास्थ्यमा गम्भीर असर पार्ने विषादीयुक्त तरकारी विना परीक्षण भित्र्याउने निर्णय गर्ने ओली सरकार देश र जनताप्रति पूरै गैर जिम्मेवार रहेको बताए ।
शिक्षा, स्वास्थ्य क्षेत्रमा पूरै माफियाहरु हावी रहेको चर्चा गर्दै समग्र नेपाली जनजीवनको र राष्ट्रको हितका लागि यो संसदीय व्यवस्था र संविधानको खारेजी अपरिहार्य रहेको दावी गरे । अब देश र जनताको मुक्ति, न्याय र स्वतन्त्रताको लागि अर्को आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुको विकल्प नरहेको बताउँदै आन्दोलनका निम्ति सडकमा उत्रन जनतालाई अध्यक्ष गजुरेलले आव्हान समेत गरे ।
सन्देश सभालाई सम्बोधन गर्दै पार्टी पीवीएम तथा काठमाडौं जिल्ला इन्चार्ज सुरेश श्रेष्ठले अभियानको बारेमा चर्चा गरेका थिए । अभियानको क्रममा पार्टीको बैचारिक तथा राजनैतिक विषयहरु जनतासम्म पुर्याउने, कार्यकर्तासम्म पार्टी कार्यदीशा र योजना सम्प्रेषण गर्ने, कार्यकर्तालाई अध्ययन गर्ने प्रोत्साहन गर्ने, अन्तरक्रिया, जनसंवाद, कोणसभा गर्ने, राजनैतिक ध्रुवीकरणलाई जोड दिने, जनभेटघाटका निम्ति चोता बैठकहरुलाई व्यवस्थित गर्ने लगायतका वैचारिक राजनीतिक काम र जनताका समस्याहरुको रिपोर्ट संकलन गर्ने, स्थानीय अन्तरविरोधको पहिचान गरि यसको सहि ढंगले परिचालन गर्ने । यसको आधारमा जनसंघर्ष, बर्गसंघर्ष र प्रतिरोध संघर्ष उठानमा जोड दिने, केही जनसेवासँग सम्बन्धित कामलाई व्यवस्थित गर्न जोड दिने लगायतका संघर्ष सम्बन्धी कामलाई अगाडि बढाउन खोजिएको नेता श्रेष्ठले जानकारी दिए ।
काठमाडौं जिल्ला अन्तर्गत पूर्वी संयुक्त नगर कमिटिका सचिव ढोगप्रसाद अधिकारीको अध्यक्षता र उमेश लामाको सञ्चालनमा सम्पन्न सभालाई राधाकृष्ण थापाले स्वागत गरेका थिए । सभामा अतिथिको रुपमा पार्टीका पीवीएम तथा ३ नं. प्रदेशका इन्चार्ज दिनेश शर्मा, काठमाडौं जिल्ला सेक्रेटरी सरु, अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, पूर्वी संयुक्त नगर कमिटिको इन्चार्ज खगेन्द्र छन्त्याललगायतका नेताहरुको उपस्थिति रहेको थियो । यो अभियान ५ हप्तासम्म सञ्चालन गरिने जिल्ला नेताहरुले बताएका छन् ।