झर्रोटर्रो : उखाने जात्रा

प्रकाशित मिति : २०७६ भाद्र १

‘नेपालबद्दो ओली राजा दानबजस्तो महाबल, भयो तिन्को अतिबद्नामी रक्षामा चल है चल ।’ यो हो उखाने सरखारलाई डोरो बान्दा भन्ने मन्तर । समृद्ध देश, समृद्ध सरखार भएकाले डोरो बान्ने मन्तर पनि समृद्ध भएको छ । अब उप्रान्त तागाधारीहर्ले यही मन्तर भनेर डोरो बान्नु पर्च । पुरानो व्यवस्था, पुरानो सरखार हटेर नयाँ गनतन्तर आएको हुनाले पुराना मन्तर पनि हटाएर नयाँ लागू गर्न पर्च भनेर यो कैलुले जनैपूर्नेमा डोरा बान्दा भन्ने मन्तर पनि नयाँ बनाएको छ ।

हिन्दू तागाधारीहर्को पर्व जनैपूर्ने नेपाल मण्डलमा धुमधामका साथ मनाउने कुरा त सबैले जानेमानेकै कुरो भयो । सो दिनमा जनैसँगै भैभूत, मैमसान, रोगव्याधी आदिबाट रख्खे गर्न भनेर रख्खेबन्धन डोरी पनि दाइने हातमा बाँन्ने चलन छ । यो जनै र रख्खे बन्धनलाई साउनेपूर्नेमा मनाइन्छ । जनै चाहीँ खाँट्टी बाउन र क्षेत्रीले लाउँचन् भने डोरो त गैर बाउन क्षेत्रीले पनि बान्चन् । जनै र डोरोलाई मन्तरेर, पूजापाठ गरेर लाइन्च । त्यसपछि त्यसको भोलिपल्ट नेवारी समुदायले मनाउने पर्व गाईजात्रा पर्च । यो बर्खको जनैपूर्ने हिज बिबार थ्यो भने आज शुकरबार गाईजात्रा परेको छ । यो दुईटा पर्व हरेख बर्ख यसै मौसममा पर्च र यसैगरी मनाइन्च । यो परापूर्वकालदेखि चलनचल्तीमा चलिआएको छ । तर यहाँ गाइजात्राको नभएर उखाने जात्राको चर्चा गर्ने जमर्को गरिएको छ ।

यो उखाने जात्रा हाम्रो देशाँ बर्खैभरी मनाइन्च । न्यार समुदायमा पनि यो गाईजात्रा मनाउने भिन्नाभिन्नै चलन छ । यो जात्रा धेरै ठाउँमा एक दिन मनाइन्च भने भक्तपुरको तलेजुमा नौ दिनसम्म मनाइन्च । त्यसैगरी सरखारले त बर्खैभरी मनाउँच । भक्तपुरमा नौ दिनसम्म नाच्ने गाइजात्रामा विभिन्न प्रकारका नाच नाचे जस्तै सरखारले पनि धेरै प्रकारका नाच नाचेर उखाने जात्रा मनाइरहेको छ । भक्तपुरे न्यारहर्ले गुन्हु पुन्ही (नौदिने पूर्ने) भनेजस्तै सरखारले उखानटुक्के पुन्ही (उखानटुक्का हालेर सरखार चलाउने पूर्ने) मनाइरहेको छ ।

सरखारले मनाउने उखाने जात्रामा पनि भक्तपुरे न्यारहर्ले जस्तै विभिन्न नाच नाचेर बर्खदिनसम्म उखाने जात्रा मनाई रहने चलन छ । भक्तपुरमा नौ दिनसम्म विभिन्न नाच नाचे जस्तै सरखारले पनि सयौँ प्रकारका नाच नाचेर मुलुकलाई उखाने जात्राको मनोरञ्जन दिइरहेको छ । यसले हाम्रो देशाँ पर्यटकहर्को ओइरो पनि लाग्ने गरेको छ । बेलाबखत विदे गएर पनि सरखारले उखाने जात्रा मनाउने गर्च । यसले गर्दा परापूर्व कालदेखि मनाउँदै आएको गाईजात्रा फ्लप खाइरहेको छ । गाइजात्राको ठाउँमा उखाने जात्रा लोकपृय भइरहेको छ ।

यसरी सरखारले उखाने जात्रा गर्दा नाच्ने विभिन्न प्रकारका जात्रा नाचहरू यस प्रकारका छन् । जस्तै गुटेँ प्याखँ (गुटीय द्वन्द्वको नाच), अदक्षेँ प्याखँ (दुई अदक्षका बीचमा हुने नाच), पर्धानमन्तरीयँ भागबन्डेँ प्याखँ (पर्धानमन्तरीको भागबन्डाको लफडा नाच), विभागे प्याखँ (विभागको लफडा नाच), घुसेँ प्याखँ (घुस खाने नाच), दमनेँ प्याखँ (दमन गर्ने नाच), प्रतिबन्धेँ प्याखँ (दलमाथि प्रतिबन्ध लाउने नाच), बन्नुकँे प्याखँ (बन्दुक चलाएर हत्या गर्ने नाच), भिडन्तेँ प्याखँ (भिडन्तका नाउमा मान्छे मार्ने नाच), असारे विकासँे प्याखँ (असारमा गरिने विकासे नाच), डोजरेँ प्याखँ (जनप्रतिनिधिहर्ले डोजर लगाएर बजेट सिध्याउने नाच), भिखेँ प्याखँ (विदेशीसँग भीख माग्ने नाच), प्रभुयँ प्याखँ (प्रभुको सेवा चाकडी गर्ने नाच), गफाष्टियँ प्याखँ (गफ लाउने नाच), उखानेँ प्याखँ (उखान हाल्ने नाच), कमिसनेँ प्याखँ (कमिसन खाने नाच), युवा विदेश लखेटँे प्याखँ (युवाजति सबैलाई विदेश धपाउने नाच), रेलँे प्याखँ (रेल गुडाउने नाच), पानीजाजेँ प्याखँ (पानी जाज ल्याउने नाच), मेलम्चीयँ प्याखँ (मेलम्चीको पानी ल्याउने नाच), दुईत्याई प्याखँ (दुईत्याईको घमण्ड गर्ने नाच), भ्रष्टाचारेँ प्याखँ (भ्रष्टाचार गरेर अकूत सम्पत्ती कुम्ल्याउने नाच), नातावादेँ प्याखँ (नातावाद कृपावाद गर्ने नाच), महङ्गीयँ प्याखँ (महङ्गी बढाएर जनताको ढाड सेक्ने नाच), करेँ प्याखँ (जताततै कर लगाएर, बढाएर जनतालाई मर्नु न बाँच्नु बनाउने नाच), दलालेँ प्याखँ (जताततै दलाली गर्ने, दलालहरूलाई लुट्न दिने, लुट्ने नाच) आदि इत्यादि नाना प्रकारका नन्दीभृङ्गी नाचहरू गरेर सरखारले दिनहुँ उखाने जात्रा मनाइरहेको छ । त्यसैले न्यारहर्ले एक दिन मनाउने गाईजात्रा भन्दा सरखार्रे बर्खैभरी मनाउने उखाने जात्रा धेरै गुणा रमाइलो र मनोरञ्जक छ । सरखारको यो जात्रा संसारभरी भाइरल भएको हुनाले विदेबाट पर्यटकहरू सरखारी जात्रा हेर्न आइरहेका छन् ।
३० साउन २०७६