क्रान्तिकारी माओवादीले जोरपाटी चोकमा ‘सन्देश सभा’ गर्दै, देजमो अध्यक्ष गजुरेलले सम्बोधन गर्ने

प्रकाशित मिति : २०७६ श्रावण ३२


काठमाडौं । ‘काठमाडौं मार्च अभियान’ अन्तर्गत नेकपा (क्रान्तिकारी माओवादी) काठमाडौंको पूर्वी संयुक्त नगर कमिटिले आइतबार गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा सन्देश सभाको आयोजना गर्दैछ । सन्देश सभालाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको देजमो काठमाडौंका अध्यक्ष तथा अभियान टोलीका नेता खगेन्द्र छन्त्यालले बताए ।

सभा दिउसो २ बजे आयोजना गरेको छन्त्यालले बताए । क्रान्तिकारी माओवादी काठमाडौंले २९ साउनबाट पाँच हप्ताको लागि ‘काठमाडौं मार्च अभियान’ सुरु गरेको छ । काठमाडौंका सबै नगरपालिकामा अभियान सञ्चालित छ । अभियानको क्रममा जनसम्बन्ध सुदृढ गर्ने, संगठन विस्तार तथा सुदृढ पार्ने, संघर्ष उठानको आधार तयार पार्ने लगायतका महत्वपूर्ण कार्यहरु गरिने माओवादी नेताहरुले बताएका छन् । पाँच हप्तासम्म टिमबद्ध रुपमा जनताको घर घरमा पुग्ने र जनताकैमा बस्ने, टोलसभा, कोणसभाको आयोजना गर्ने लगायतका कार्यक्रमहरु तय गरिएको छ ।