कविता : पाठकहरूसँग

प्रकाशित मिति : २०७६ श्रावण ३२

- बलराम तिमल्सिना

मेरो अगाडि छैनन्
फूलको उपहार मागिरहेका कोही
म कुनै बजारीया प्रेमको चक्करमा छैन
न कुनै नक्कली प्रेम जन्माएर
कसैलाई फूलको उपहार दिनु छ मैले
प्रिय पाठकहरू !
मेरा कवितामा तपाईहरू
फूल फुलिरहेको
या भ्रमरा डुलिरहेको
यस्तो केही पाउँनु हुन्न !

मेरा अगाडि छन्
भात मागिरहेका केटाकेटीहरू
वलात्कारको प्रमाण जुटाउँन असमर्थ
सामुहिक वलात्कारका पीडितहरू
थात बास खोसिएका सुकुम्बासीहरू
वर्षौंको ज्याला माग्दा
उल्टै चौकीमा थुनिएका मजदूरहरू
म तिनीहरूको नाममा कविता लेख्ने मान्छे
मेरा कवितामा फूल कसरी आउँछ ?

मेरा अगाडि आउँछन्
हात चुडिएँका पूर्व लडाकुहरू
माघी पर्वलाई राष्ट्रिय पर्वको दर्जा माग्न
आउँछन् थारु थरुनीहरू

चिहानबाट उठेर
वाँकावीर आउँछन्
र सोध्छन्
‘त्यसपछि कोही लडेन देशको लागि?’

जय पृथ्वी बहादुर
र ओम सिंह बर्बराउँछन्
‘हामीलाई छोरी दिएर पनि किन्न सकेनथे
यी भातेहरू बासी कुर्सीमा बिकेछन् !’

काङ्सोरे
र रिन्छिन दोर्जे सोध्छन्
‘त्यसपछि कोही जन्मेन टाउको भएको ?’

मेरा अगाडि योगमायाँ आउँछिन्
र गुनासो गर्छिन्
नातिनी पुस्ताको क्याटवाक देखेर !

रङ्गमञ्चमा निस्कन्छन् शासक
लगातार अश्लिल नाटक देखाइरहन्छन्

प्रिय पाठक !
तपाई नै भन्नोस्
यो वेला म कुन खाले कविता लेखौं ?

शब्दहरूसँग अपील छ मेरो
तिमीहरू पूरै सामथ्र्य सहित आऊ
बारुद बनेर आऊ
बम बनेर आऊ
बन्दूक बनेर आऊ
जति नै अप्रिय लागे पनि
यो समय हो
शासकहरूलाई
जुत्ताको माला लगाउँने

प्रिय पाठक !
तिमी मलाई हिंस्रक भन
युध्दपिपासु भन
या जेसुकै भन
यो समय
जनताले शिकार खेल्ने समय हो
र शिकार खेल्न जाँदा
कहिल्यै फूल बोकेर हिँडिदैन !
२०७६÷०४÷२८
भक्तपुर