पत्रकार पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछानेसहित ३ जना पक्राउ

प्रकाशित मिति : २०७६ श्रावण ३१

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लामिछाने, युवराज कँडेल र अस्मिता कार्की रहेका छन् ।

नुवाकोटका पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रवि लामिछाने न्यूज २४ टिभीबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता हुन् भने कँडेल पनि सो कार्यक्रमका सञ्चारकर्मी हुन् । यता पक्राउ परेकी ओखलढुंगाकी कार्की भने नर्स हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवन र महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले लामिछाने र कँडेललाई साँझतिर लाजिम्पाटस्थित टेलिभिजन कार्यालयबाटै पक्राउ गरेको हो भने कार्कीलाई कलंकीबाट नियन्त्रणमा लिएको थियो ।

पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनमा उनीहरुविरुद्ध किटानी जाहेरी नपरेको भएवपनि सार्वजनिक चासोको विषय भएकोले उनीहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

पत्रकार पुडासैनी २०७६ साउन २० गते चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । उनले आत्महत्या गर्नु अघि रुँदै आफैंले मोबाइलमा दुई वटा भिडियो बनाएका थिए । यो विषयमा चितवन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पुडासैनीले रेकर्ड गरेको भिडियो मिडियामा बुधबार मात्र सार्वजनिक भएको थियो । भिडियो सामाजिक सञ्जालमा सनीसनीपूर्णरुपमा छाएपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो ।
आत्महत्या गर्नुअघि पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोमा ‘सिधाकुरा जनतासँग’का सञ्चारकर्मी लामिछाने, कँडेल र नर्स कार्कीले आत्महत्या गर्न बाध्य पारिएको उल्लेख गरेका थिए ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुभन्दा अगाडि खिचेको भिडियो प्रहरीले बरामद गरेपछि प्रहरी हेडक्वार्टरमा अनुसन्धानको लागि पठाइएको थियो ।

चितवन प्रहरीले बरामद गरेका ती भिडियो प्राविधिक परिक्षणका लागि भन्दै प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याब पठाइएको थियो ।
भिडियो सामाजिक सञ्जाल र मिडियाहरुमा भाइरल भएलगत्तै रवि लामिछानेलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोली काठमाडौं आएको थियो । चितवन प्रहरी र परिसरको टोली साँझ ७ बजेतिर न्यूज २४ टिभीको कार्यालय पुगेको थियो । उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।