त्रिविको बेथितिविरुद्ध अखिल (क्रान्तिकारी) को खबरदारी

प्रकाशित मिति : २०७६ श्रावण ३१


काठमाडौ । त्रिभूवन विश्वविद्यालयका हुने बेथितिका विरुद्ध नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले खबरदारी कार्यक्रम गरेको छ । बुद्धबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडि भुइमै बसेर विद्यार्थी नेताहरुले खबरदारी गरे । देशकै सबैभन्दा ठूलो विश्वविद्यालयमा हुने राजनीतिकरणको भण्डाफोर गर्नका लागि यो खबरदारी कार्यक्रमको आयोजना गरिएको विद्यार्थी नेताहरुले बताए ।
देशको मुख्य शैक्षिक जनशक्ति उत्पादन गर्ने थलोमा भइरहेको भद्दा राजनीतिकरणका कारण त्रिवि बद्नाम भइरहेको भन्दै उनीहरुले यस्तो बेथितिलाई रोक्नका लागि सम्बन्धित निकायले तत्काल कडा कदम चाल्नुपर्ने बताएका छन् । आउँदो भदौ ५ गतेदेखि देशका सबै विश्वविद्यालयका उपकुलपतिहरुको कार्यकाल सकिदै छ ।
अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले अब विश्वविद्यालयमा यस्तै बेथिति हुँदै गए आफूहरुले कडा प्रतिरोध गर्ने बताए । जुन पार्टी सरकारमा हुन्छ, तिनैका मान्छे भर्ती गर्ने थलोको रुपमा विश्वविद्यालयलाई प्रयोग गरिएकाले अब अखिल क्रान्तिकारीले त्यसका विरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावानी दिए ।
हिजो त्रिवि सेवा आयोगको बेथितिलाई लिएर आफुहरुले सुरु गरेको २९ दिने रिले अनशनले चैतन्य शर्मा लगायतका ब्यक्तिहरुलाई अख्तियार दुरुपयोग अनुसन्धानको मुद्दाको दायरामा ल्याउन सफल भएकोले अझै सशक्त भएर लाग्ने उनले बताए ।

विश्वविद्यालयमा हुने दलीय भागबण्डा अन्त्य गर, स्वस्थ प्रतिस्पर्धाका आधारमा पदाधिकारी नियुक्त गर भन्दै उनीहरुले खबरदारी गरेका थिए ।