भदौ अन्तिम साता भारतीय प्रधानमन्त्री चारदिने नेपाल भ्रमणमा आउने

प्रकाशित मिति : २०७६ श्रावण १०


काठमाडौं । नेपालमा ‘माइक्रो मेनेजमेन्ट’ गर्दै आएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी भदौं अन्तिम साता चारदिने नेपाल भ्रमणमा आउने भएका छन् । भ्रमणको पूर्व तयारीका लागि भारतका सुरक्षाकर्मी र विदेश मन्त्रालयका कर्मचारी दुई महिनाअगावै त्यसको तयारीमा जुटिरहेको समाचार स्रोतले दावी गरेको छ ।

समाचार स्रोतका अनुसार मोदीले भदौं ३१ देखि असोज ३ गते अर्थात् सेप्टेम्बर १७ देखि २० तारिखसम्म नेपालको भ्रमण गर्ने तयारीमा रहेको बुझिएको छ । भ्रमणको तयारीका लागि साउनको पहिलो सातामा भारतीय सुरक्षाकर्मीको एक टोली नेपाल आएर फर्किएको दाबी गरिएको छ ।

नेपालमा चिनियाँ प्रभाव बढ्दै गएको विश्लेषण गर्दै आएको भारतले चिनियाँ प्रभाव विस्तार रोक्न, नाकाबन्दीयता नेपालसँग चिसिएको सम्बन्ध सुधार्न र आफ्नो प्रभुत्व कायम राख्न मोदीले नेपाल भ्रमण गर्न लागेको नेपाल भारत सम्बन्धका जानकारहरुले विश्लेषण गर्न थालेका छन् ।

यसै हप्ताको आइतबार भारतीय रिसर्च एण्ड एनालाइसिस (च्ब्ध्) का प्रमुख सामन्त गोयलले गोप्य रुपमा नेपालका प्रधानमन्त्री केपी ओली, प्रचण्ड, माधव कुमार नेपाल, शेर बहादुर देउवा, नेपाल प्रहरी, नेपाली सेनाका प्रमुखहरुलाई भेटघाट गरी सोमबार स्वदेश फर्किएका थिए ।

७१ भन्दा बढी स्थानमा सीमा मिचिएको, नेपालको नक्साबाट ३७२ वर्ग कि.मि. भारतीय नक्सामा पारेको, सीमामा एकतर्फी रुपमा बाँध निर्माण, पक्की सडक बनाउने देखि विभिन्न संरचना खडा गरी नेपाली भूमि डुबानमा पारेको, विभिन्न असमान सन्धिसम्झौता मार्फत् नेपालको प्राकृतिक तथा जल सम्पदामाथि एकाधिकार कायम गर्दै आएको भारतको यस्तो विस्तारवादी हस्तक्षेपको विरोधमा जनस्तरमा व्यापक विरोध हुने गरेको भएपनि सरकार भने यी विषयमा चुँ सम्म बोलेको छैन । बरु उल्टै भारतीय शासकहरुको तावेदारी गर्दै उसैको इसारा र निर्देशनमा काम गर्दै आएको भारतबाट आयात गरिने विषादीयुक्त खाद्यसामग्री भारतीय दबाबमा परिक्षण नगर्ने सरकारको निर्णयबाट मात्रै पनि प्रष्ट हुन्छ ।

मोदीले गर्ने यस पटकको नेपाल भ्रमणको क्रममा यी विषयहरु देश र जनताको सर्वाेपरी हितलाई केन्द्रमा राखेर सरकारले स्पष्टताका साथ उठाउन जरुरी छ । जनस्तरबाट विरोध र दबाबको पनि सिर्जना गर्न आवश्यक देखिन्छ ।