काठमाडौं । लमजुङको दोर्दी खोलामा आएको बाढीले हाइड्रो प्रोजेक्टमा काम गर्ने ११ जना मजदुरलाई बगाएको छ । बगाएका मध्ये चारजनाको शव प्राप्त भएको छ भने ७ जना बेपत्ता भएका छन् । बुधबार दिउँसो आएको बाढीले दोर्दी खोलामा निर्माणाधीन २५ मेगावाट माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत मजदुरलाई बगाएको हो । शिरतिर थुनिएको खोला अचानक उर्लिएर आएपछि मजदुरको भागाभाग भएको थियो । सो खोलामा ५४ मेगावाटको सुपरदोर्दी र २५ मेगावाटको अपरदोर्दी जलविद्युत् परियोजना निर्माणाधीन छन् ।
बाढीमा फसेका सुपरदोर्दीका १५ मजदुरलाई भने उद्धार गरिएको छ । ९ जना मजदुर घाइते भएको प्रहरीले जनाएको छ ।
२५ मेगावाटको माथिल्लो दोर्दी जलविद्युत् आयोजना र पिपुल्स हाइड्रोपावरमा बाढीले क्षति पु¥याएको छ । ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ को सुरुङमा थुनिएका १७ जना कामदारको सकुशल उद्धार गरिएको छ । बाढीले आयोजनाको दुईवटा ट्र्याक्टर, एउटा मिक्स्चर र एउटा लोडर बगाएको छ । डाइभर्सन सुरुङलगायतका संरचनामा क्षति पु¥याएको आयोजनाले जनाएको छ ।
यसैबीच, सत्यवती गाउँपालिकामा गएको दुईवटा पहिरोमा परी मृत्यु भएकामध्ये बुधबार चार आमा र तिनका चार सन्तानको शव भेटिएको छ । एकएक छोराछोरीका साथ आमाहरूको शव उद्धार टोलीले भेट्टाएको छ । यसरी दुवै गाउँका पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १२ पुगेको छ । एक अझै बेपत्ता छन् ।
मंगलबार सत्यवती गाउँपालिकाको लिम्घा र ठूलोलुम्पेकमा पहिरो गएको थियो । पहिरोमा लिम्घाका निर्मला विक र उनका छोरा सञ्जुको मृत्यु भएको छ । छोरी तारा बेपत्ता छिन् । लिम्घाकै पम्फा विक र उनका छोरा हिमांशु विकको मृत्यु भएको छ । त्यस्तै, ठूलोलुम्पेकका तिलकुमारी तरामुमगर र उनका छोरा दर्शनको शव भेटिएको छ । प्रहरीका अनुसार सो पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ ।
पहिरोमा परी ठूलोलुम्पेककी करिश्मा तरामुमगर र धनी तरामुमगर घाइते भएका छन् । उनीहरु दुवैजनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । पहिरोको जोखिममा रहेका लिम्घा र ठूलोलुम्पेकका ६ सय परिवारले बुधबार घर छाडेका छन् । लुम्पेकका चार सय परिवारलाई घरडाँडा, अस्लेवा रामबारी, धर्मपुर मावि, ढुंगाचाल्ने, भानु प्रावि र धर्मपुर प्राविमा राखिएको सशस्त्र प्रहरीका डिएसपी दिनेश रायमाझीले बताए ।
त्यस्तै, लिम्घाका दुई सय परिवारले पनि घर छाडेका छन् । उनीहरूलाई सरस्वती माविमा राखिएको छ । उद्धार र राहत तथा पीडितहरुको व्यवस्थापन प्रभावकारी हुन नसकेको पीडितहरुले गुनासो गरेको हाम्रा स्थानीय प्रतिनिधिले बताए । पहिरोका कारण सडक अबरुद्ध भएकोले राहत सामग्री पीडितहरु समक्ष पु¥याउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।





























