हार्दिक शुभकामना !

काठमाडौँं । अन्ततः भारतको चर्को दबाबका सामु केपी शर्मा ओली नेतृत्वको सरकार झुकेको छ । भारतबाट नेपालमा आयात गरिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने कार्य स्थगित गरेको छ । अब विषादीयुक्त भारतीय तरकारी तथा फलफूल निर्वाध रुपमा नेपालमा आयात हुनेछ । सीमा नाकामा फलफुल तथा तरकारीको विषादी जाँच गरेरमात्रै नेपाल ल्याउने यसअघिको निर्णयप्रति भारतीय पक्षले असन्तुष्टी जनाउँदै उक्त निर्णय फिर्ता गर्न चर्को दवाव दिएपछि सरकारले अन्ततः परीक्षण गर्ने निर्णयलाई स्थगित गरेको छ । भारतीय दूतावासले नेपालका सरकारी अधिकारीलाई विषादी परीक्षण नगर्न दिएको दबाबपछि आफ्नो निर्णबाट पछि हटेको हो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाकामा विषादी जाँच नगर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी जाँच नगर्ने ठाडो प्रस्ताव लगेका थिए ।
मन्त्रिपरिषद्को यो निर्णयसँगै भन्सार नाकामा शुक्रबारबाटै भारतबाट नेपाल भित्रिने तरकारी र फलफुल जाँच नगरी नेपाल पठाउन सर्कुलर जारी गरेको छ ।

गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा असार २ गतेदेखि भारतबाट नेपाल आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु भएको थियो ।

कालीमाटी बजारमा आउने तरकारी तथा फलफूल ४० प्रतिशत भारतबाटै आउँछ । बाँकी ६० प्रतिशत बजार स्थानीय उत्पादनले ओगटेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा २६ अर्ब ४६ कोड ७५ लाख रूपैयाँ बराबरको तरकारी र १७ अर्ब ३ करोड ९६ लाखको फलफूल आयात भएको छ ।

यसैबीच, उपभोक्ताहरुका अनुसार जीवनाशक विषादी प्रयोग गरिएका तरकारी तथा फलफूल यसरी निर्वाध रुपमा नेपाल भित्रिदा नेपालीहरुको स्वास्थ्य उच्च जोखिममा पर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर