भारतीय दादागिरी : भारतबाट आयात गरिने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्न दबाब

प्रकाशित मिति : २०७६ असार २०

काठमाडौं । भारतबाट नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण नगर्न भारतले नेपाल सरकारलाई दबाब दिएको छ । नेपाल सरकारले भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा भएको विषादी परीक्षणमा कडाइ गर्न थालेपछि भारतले यस्तो दबाब दिएको हो । भारतीय राजदूतावासले नेपालको वाणिज्य मन्त्रालयलाई लिखित पत्र पठाएर नै यस्तो परीक्षण गरेकोमा आपत्ति जनाउँदै विषादी परीक्षण नगर्न दबाब दिएको हो ।

असार २ गते राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले भन्सार बिन्दुमा क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति कार्यन्वयनमा ल्याएको थियो । यससँगै भारतीय तरकारी र फलफूलको आयात प्रभावित भएपछि दूतावासले चासो देखाएको हो । निर्यात अवरोधले आफ्ना कृषक र व्यवसायी मारमा परेको भन्दै उसले नेपाल सरकारसँग जवाफ समेत मागेको छ ।

नेपाली नागरिकको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गराउने विषादी प्रयोग गरिएका तरकारी तथा फलफूल आयातमा कडाइ गर्दा भारतले दिएको दबाबलाई उसको दादागिरीको रुपमा अहिले टिप्पणी हुन थालेको छ ।

नेपालले आफ्नो परिवर्तित निकासी पैठारी नीति कार्यान्वयनमा ल्याएको १२ औं दिनमा भारतीय दूतावासले परराष्ट्र मन्त्रालय हुँदै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा पत्र पठाएको थियो । पत्रमा नेपालले विभिन्न विश्व ब्यापार संगठन (डब्लुटिओ) र अन्तराष्ट्रिय वनस्पति संरक्षण महासन्धि (आईपीपीसी) को बर्खिलापमा गएर निकासी पैठारी आदेश परिवर्तन गरेको आरोप समते लगाएको छ ।

राष्ट्रिय वनस्पति संरक्षण संस्था (एनपीपीओ), कृषिजन्य खाद्य उत्पादन निर्यात विकास सरोकार निकाय (एपीईडीए) ले उपलब्ध गराएको सर्टिफिकेट नेपालले अस्वीकार गरिनु जायज नभएको समेत पत्रमा उल्लेख छ ।

परराष्ट्र मन्त्रालयका दक्षिण एसिया विभाग हेर्ने सहसचिव यज्ञबहादुर हमाललाई बोधार्थ गर्दै पठाइएको पत्रमा नेपाल भारत द्विपक्षीय ब्यापार सम्झौतालाई पनि नेपालले ख्याल नगरेको उल्लेख छ । तर, वैदेशिक व्यापारका जानकारहरु भने भारतले नेपाललाई यसरी सिंधै दबाब दिनु हस्तक्षेपकारी नीति भएको बताउँछन् ।

भारत र तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएको भन्दै सरकारले जाँच गर्न थालेको छ । भारतले भने भारतबाट निर्वाध रुपमा नेपालमा खाद्यलगायत सामग्री भित्रिन पाउनुपर्ने भन्दै जाँचप्रति आपत्ति जनाएको हो ।

जेठ १० मा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी उद्योग वाणिज्य मन्त्रालयले भारतलगायत मुलुकबाट आयात हुने ‘क्याफिन’युक्त शक्तिवद्र्धक पेय पदार्थमा पूर्ण बन्देज लगाएको छ । सोही निर्णयअनुसार आयात हुने ताजा तरकारी, फलफूल सम्बन्धित भन्सार बिन्दुमा ‘क्वारेन्टाइन’ र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य परीक्षण गर्नुपर्छ ।

नयाँ व्यवस्था अनुसार भैरहवा (सुनौली), वीरगन्ज, काँकडभिट्टालगायत नाकाबाट भित्रिने तरकारी तथा फलफूलको क्वारेन्टाइन र विषादी मात्रा परीक्षण गर्न थालिएको छ । विषादीरहित प्रमाणित सामान मात्र नेपाल भित्रिन दिइन्छ । यसअघि सीमानाकाबाट बिनाजाँच निर्वाध रुपमा तरकारी, फलफूललगायत खाद्य पदार्थ भित्रिने गरेका थिए ।

अहिले सीमानाकामा विषादी जाँच गर्ने ‘पेस्टिसाइट एनलाइसिस प्रोमोटोग्राफी’ मेसिन नहुँदा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भित्र्याउन ल्याइएका तरकारी र फलफूलको नमुना ल्याएर कालिमाटी तरकारी तथा फलफूल विकास समितिमा विषादी जाँच गरिरहेका छन् ।
मन्त्रालय स्रोतका अनुसार भारतको दबाब आएपछि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सीमानाकामा आवश्यक संयन्त्र निर्माण नभएसम्म नयाँ व्यवस्था कार्यान्वयन स्थगनको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने विषयमा मन्त्रालयका अधिकारीसँग छलफल गरेको बुझिएको छ । तर मन्त्रालयअन्तर्गत वाणिज्य तथा आपूर्ति हेर्ने सचिव केदारबहादुर अधिकारी र सम्बद्ध महाशाखा अहिले पछाडि हटे यो व्यवस्था लागू नगर्न नसकिने भन्दै बरु तत्काल सीमानाकामा प्रयोगशाला र आवश्यक संयन्त्र निर्माण गर्नुपर्ने पक्षमा देखिएका छन् । तरकारी र फलफूलमा परनिर्भरता हटाउन पनि नयाँ व्यवस्था कार्यान्वयन गर्नुपर्ने र नेपालभित्र उत्पादन पनि बढाउनु पर्ने पक्षमा उनीहरू देखिएको स्रोतले बतायो ।

भन्सार विभागको तथ्यांकअनुसार बितेका ११ महिनामा मात्रै भारतबाट नेपालमा २६ अर्ब ४६ करोड ७५ लाख रुपैयाँको तरकारी र १७ अर्ब तीन करोड रुपैयाँको फलफूल आयात भएको छ ।