राँके पाटीको आठौँ अधिवेसन

झर्रोटर्रो : कैलुब्राह 

प्रकाशित मिति : २०७६ असार १५

 

प्युठानी सिंहको पाटीलाई नेकपा राँके पाटी भनिन्च । छोटकरीमा त्यसलाई राँके पाटी भन्चन् । त्यो राँके पाटीले केही दिन पैला आठौँ महाधिवेसन गर्यो । सो महाधिवेसनबाट पाटीको माऊ नेतामा तिनै सिंहलाई चुन्यो । चौरासी जुनी काटिसकेर पिन्डपानी खान ठिक्क परेका, दारा नङ्ग्रा खिइएर झरेका, चाउरी परेर थला परेका बुढा फेरी माऊ नेतामा चुनिए । पैँतीस चालिस बर्खदेखि तीनै सिंह सो पाटीका माऊ नेता छन् । त्यो भन्दा पनि पैला पटक पटक गरी झन्नै एक दशक त उनै माऊ नेता भा’कै हुन् । लगभग पचास बर्खदेखि एउटै पाटीको माऊ नेता हुनु चानचुने कुरो हैन । त्यो पाटीमा परौढ र तन्नेरी नेता नभएरै त होला यी सिंहलाई चुनेको । नत्र यी पिन्डपानी खान ठिक्क परेका बुढालाई सकी नसकी माऊ नेताको पगरी किन गुथाए होलान् ? यो कैलुले अचम्म मानेर दङ्ङदास थियो । कसरी यसो भए होला त भनेर बुझ्ने केही मेसो पाएको थिएन । एक दिन यो कैलु त्यसको खोजीकार्य गर्न भन्दै बजारतिर हिँडेको थ्यो, त्यैबेला महाधिवेशनबाट फर्केका तिनै सिंहका खाँट्टी, झर्रा र कट्टर कार्यकर्तालाई भेट्यो । लौ चाए खाउँ भन्दै यो कैलु र ती कार्यकर्ता एउटा चाए पसलमा छिरियो ।
चाएको अडर गरेर ती झर्रा कार्यकर्तासित केही गफगाफ गर्न थालियो । महाधिवेसन सफल पारेर आएकोमा उनलाई बधाई सधाई दिएर कुराकानी गर्न थालियो । खासमा यो कैलुलाई राँके पाटीको महाधिवेसनका बारेमा केही जानकारी लिनु थ्यो । त्यै भएर अरू दायँबायाँ कुरा क्यै नगरेर सिधै महाधिवेसनका कुरातिर लागियो । चाए खाँदै कुरा गर्दै गर्न थालियो ।
मैले उनलाई सबै भन्दा पैला तपाइँहर्ले किन तिनै सिंह बुढालाई माऊ नेताको पगरी गुथाउनुभो ? के अरू परौढ र तन्नेरी नभएर हो कि, पगरी गुथ्ने ह्याऊ नभएर हो कि, सिंहको गर्जनबाट तर्सेर हो कि के हो भनेर सोधेँ । त्यसको जवाफ दिँदै उनले भने – ‘तपैँले भनेको कुरा हो पनि हैन पनि । किनकि सिंह भनेको सिंहै हो । दारा नङ्ग्रा नभए पनि, सिंह गज्र्यो भने सबै थर्कमान् हुन्चन् ।’ यती मात्रै त हैन होला, बरू तन्नेरी सन्नेरी नभएर, भएकाले पनि नआँटेर पो होकी भनेर मैले उनको जबाफमा चित्त बुझाइन । उनले भने – ‘तन्नेरी पनि छन् । परौढ पनि छन् । तर सिंह हुँदा हुँदै अरूले पगरी गुथ्ने कुरा मनासिव पनि त हुन्न । आर्को कुरा हाम्रो जस्तो पाटीमा जस्को नीति पास हुन्च उसैलाई नेता बनाउने चलन हुन्च । त्यै भएर पनि हो ।’
अब पिन्डपानी खाने बेला सक्चन् त पाटी हाँक्न भनेर मैले फेरी प्रश्न गरेँ । उनले जबाफ दिए – ‘किन नसक्ने ? जे भए पनि उनी सिंह हुन् । उनले ह्वास्स पारेर सास मात्रै फाले भने पनि दुनियाँ थर्कमान् हुन्चन् । जताततै चर्चाको विषय बन्च ।’ हैन तपैँको पाटी त खिइँदै खिइँदै खिइँदै सक्किन थालिसक्यो । चुनाउमा त सरखारी पाटीको बैसाखी टेकेर बल्लतल्ल सिंहिनीलाई जिताउनुभो । अब त त्यै पनि चान्स छैन भन्चन् । अब तपैँको पाटीसित को डराउँच र भनेर मैले उनलाई रयाखरयाख पारेँ । उनले आफ्नो पाटी कारखाना भएको, त्याहाँ खारखुर पारेर नेता कार्यकर्ता आर्को पाटीमा पठाउने गरेकोले सानो भएको भनेर चित्त बुझाउने कुरो गरे ।
आफू त पत्रकार पनि भएको हुनाले सबै पाटा पक्षमा कुरोकानी त गर्नै परो । त्यै भएर मैले फेरी उनलाई हैन तपैँको पाटीले त हाम्रा दाइने बायाँतिरका ठूलाठूला छिमेकीलाई साम्राज्यवादी भनेछ । किन भनेको ? उनले ऐले नै के साम्राज्य फैलाए र ? नेपालका कम्निस पाटीहर्ले सात समुन्द्र पारीका खैरे कुइरेका मुलुकलाई त साम्राज्यवादी भन्दै आएकै हुन् । गुज्जर भैय्याको मुलुकलाई त विस्तारवादी पो भन्थे । तपैँका पाटीले पनि विस्तारवादी भन्थ्यो । ऐले किन साम्राज्यवादी भनेको भनेर सोधीन गर्दा उनले भने – ‘हाम्रो पाटीले दूरगामी निर्ने गर्च । २० बर्स पछि हुने कुरो ऐले नै भन्च । दख्खिनतिरको मुलुकले आफ्ना ओरीपरिका मुलुकलाई कसरी हैरान पारेको छ त्यै भएर भनेको । उत्तरतिरकाले पनि कुइरे साम्राज्यवादीसित जोरी खोजी राख्या छन् । बीसपच्चीस बर्सपछि त साम्राज्यवादी हुन सक्चन् । हाम्ले ऐले भनेको कुरो पछि मिल्च । माउवादीले जनयुद्ध शुरुगर्दा पनि हाम्ले यो जनयुद्ध सफल हुन्न भनेका थिम् पछि मिल्यो नि । कामरेड पर्चन्नलाई हाम्रा सिंहले बीस बर्स पैला नै यो बाहुन क्यारिरिष्ट छ है भन्नु भा’थ्यो, मिल्यो कि मिलेन भननुस् त । हो त्यै भएर उनीहर्लाई साम्राज्यवादी भनेको कुरा बीस बर्स पछि मिल्यो भने हामी दूरदर्सी भएनौँ त ?’
तपैँको पाटीले कैल्यै पनि क्रान्ति नगर्ने तर क्रान्तिकारी हामी भन्दा आर्को छैन भन्नु हुन्च किन होला भनेर सोधेको उनले – ‘हाम्ले त क्रान्ति गर्न पर्च है भनेर बाटो देखाउने पो हो त हाम्ले नै क्रान्ति गर्नै पर्च भनेको त हैन नि । मार्कस बुढाले तेत्रो सिद्धान्त निकाले, के उनले क्रान्ति गरेका थे र ? तर पनि संसारका कम्निसले उनकै सिद्धान्त ठिक भनेका छौँ त । हाम्ले नै क्रान्तिकारी कुरो गरेपछि हामी जस्तो अब्बल क्रान्तिकारी नभएर अरू को हुन्च ?’ भनेर उल्टै खाउँलाझैँ गरेर हकारे । त्यसो भए क्रान्ति गर्ने कुरो हैन भन्ने मात्रै हो त ? भनेर मैले उयी कुरो दोहोर्याएर सोधेँ । उनले भने – ‘हो त । त्यै भएर त हाम्ले माउवादीको जनयुद्धलाई हत्या हिंसा गर्ने उग्रवादी भड्काउ भनेका हुम् । तेत्रा साम्राज्यवादी मुलुको बिचमा बसेर क्रान्ति गर्न सकिने कुरो हो र ?’ त्यसो भए क्रान्ति नगर्ने त भनेर सोधेँ । उनले – ‘पचास सय दुइसय बर्स पछि परिस्थिति मिल्यो भने कसैले क्रान्ति गर्ला नि । त्यो बेला हाम्रै पाटीले गर्च’ भने ।
तपैँको पाटीको महाधिवेसनमा त यतिखेर अल्पमत र बहुमत भनेर दुइटा दस्तावेज आएछन् । ऐलेसम्म यस्तो भएको थे’न । तर सिंहलाई चुनौती त दिएछन् नि भनेर सोधनी गर्दा उनले भने – ‘दुइचार जना स्याल, फ्याउराहर्ले सिंहसित जोरी खोजेर के नाप्थे र ? सिंह भनेका सिंहै हुन् । स्यालले सिंहसित जोरी खोजेर जित्न सक्छ र ? लुथ्रुक्क परेर सिंहसित आत्मसमर्पण गरिहाले ।’ अरू फ्याउरा, स्याल, कुकुर, बिरालाले नसकेर आर्यघाट जान दिन गनेका सिंहलाई नै नेताको पगरी किन गुथाएको । सिंहलाई नै गराउनु थ्यो भने पनि तिनै बुढो सिंहका डमरु सिंह वा पोथी सिंहनी पनि थे त तिनैलाई बना’को भए हुन्थेन भनेर सोधेको प्रश्नमा उनले भने – ‘यस्ता अन्ठ सन्ठ प्रश्न गर्ने तपैँ पत्रकार हो कि सिआइएको एजेण्ट हो ? हाम्ले जेसुकै गरम् तिम्लाई केको खाँचो पर्यो’ भनेर झन्नै कुटेनन् । हैट, भनेर म त झोला टिपेर कुलेलाम ठोकिहालेँ ।
१४ असार २०७६