पुलिस हस्तक्षेप बाबजुद असनमा जलाइयो गुठी विधेयक

संस्कृति र सभ्यताको बचाउ गरेरै छाड्ने उपत्यकावासीको प्रतिवद्धता

प्रकाशित मिति : २०७६ जेष्ठ २९

काठमाडौं । नेवा राष्ट्रिय मुक्ति मोर्चाको आयोजनामा मंगलवार काठमाडौं असनमा आयोजित कोणसभामा ओली सरकारले गुठी व्यवस्थापनका नाममा ल्याउन लागेको विधेयक जलाइएको छ । भूमाफियासँगको मिलेमतो र परम्परागत संस्कार तथा संस्कृतिविरुद्ध ओली सरकारले गुठी व्यवस्थापनका नाममा विधेयक संसदमा दर्ता गराएपछि काठमाडौंवासी जुर्मुराउन थालेका छन् ।

परम्परागत धर्म, संस्कृति, रितिरिवाज र पाटी, पौवा, सत्तल, पोखरी, स्मसानघाट र सार्वजनिक जग्गाहरु मासिंदै र भूमाफिया लाग्दै गएका बेला तिनीहरुलाई कार्वाही गर्नुको सट्टा उल्टै गुठी व्यवस्थापनका नाममा विधेयक संसदमा दर्ता गरिएपछि काठमाडौंमा विरोध र विद्रोहको आगो बल्न थालेको छ ।

मंगलवार काठमाडौंमा आयोजित विरोधसभामा धर्म, संस्कृति र सम्पदा धराशयी बनाउन र गुठीका जग्गा हडप्न लागिपरेका भू–माफियाको स्वार्थसिद्धिका पूरकका रुपमा सरकारले गुठी व्यवस्थापन विधेयक ल्याउन थालेको कुरामा जोड दिइएको थियो ।

विरोध र्यालीपछि असनमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सीपी गजुरेलले विधेयक जनविरोधी तथा पहिचानविरोधी रहेको कुरा औल्याएका थिए । संघीयता, स्वायत्तता, पहिचान तथा जनविरोधी नियतले विधेयक संसदमा ल्याइएको प्रति घोरआपत्ति जनाउँदै गजुरेलले उक्त प्रस्तावित विधेयक तत्काल खारेज गरिनुपर्ने कुरामा जोड दिएका थिए ।

सम्बोधनका क्रममा गजुरेलले ‘नेपाल र नेपालीहरुको पहिचान भनेकै संस्कृति भएको भन्दै नेपालीहरुको संस्कृतिलाई समाप्त पार्ने उद्देश्यले प्रेरित भई पहिचानमाथि धावा बोल्न थालेको ओली सरकारका हरेक कुकृत्य र कददमहरुको बेलैमा भण्डाफोरसहित जनतालाई सूचित गरिनु पर्ने कुरामा जोड दिएका थिए । उनका अनुसार गुठी व्यवस्थापन विधेयकको लक्ष्य भनेको युगौंदेखि चलिआएको संस्कृति नष्ट गर्ने रहेको स्पष्ट देखएको छ ।

थप सम्बोधनका क्रममा गजुरेलले भने– बालुवाटार, पशुपतिनाथ आदिका जग्गा हडप्दै हिंडेका भूमाफियाहरुको आँखा अब गुठीको जग्गा र सम्पत्तिमाथि परेको छ र त्यसलाई सहज बनाउनका लागि ओली सरकारले कानुनी ढोका निर्माणका हेतु गुठी विधेयक संसदमा तेर्साएको छ ।

विरोध सभालाई सम्बोधन गर्दै अतिथि डा. ओम गुरुङले ओली सरकार संघीयता र पहिचान विरोधी रहेको बताए । नेपालमा ठूलो बलिदानीपछि प्राप्त उपलब्धीहरु एकएक गर्दै सिध्याउने क्रममा ओली सरकार जनजातिय पहिचान पनि मेटाउन उद्दत हुँदै गएकाले संस्कृति संरक्षणका लागि पहिचानका पक्षधरहरु सबै एक ठाउँमा आउनु पर्ने कुरामा जोड दिए । विदेशीहरुको दलालीकरणको प्रक्रियामा नेपाली पहिचानहरुमाथि कानुनी होस् वा गैर कानूनी अतिक्रमण र आक्रमणलाई ओली सरकारले अघि बढाइरहेको खुलासा गरे ।

विरोधसभालाई सम्बोधन गर्दै नेवाः राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठले गुठी सामुहिकता र सहकार्यको केन्द्र भएको बताएका थिए । उनले नेपालमा हालसम्म पनि निरन्तर चल्दै र अघि बढ्दै गरेका जनजातिको सामूहिक स्वत्व र कडीहरुमध्ये गुठी एक महत्वपूर्ण कडी भएको कुरामा जोड दिएका थिए । संघीयता, सामूहिकता, जातिय एकतामा आधाति नेपाली समाजलाई दलालीकरणको दिशातिर डोर्याउन ओली सरकारले हर कसरत गरिरहेको बताउँदै श्रेष्ठले कुनै पनि हालतमा संस्कृति विनास गर्न नदिइने कुरामा जोड दिए । संस्कृति विनास गर्ने ओली सरकारको प्रवृत्तिविरुद्ध आफूहरु जस्तोसुकै लडाइँ लडेर पनि संस्कृति र सभ्यताको बचाउ गरी सिंगो नेपाली जनताको पहिचान र एकता कायम राख्ने कुरा उल्लेख गरेका थिए ।

असनचोकबाट सुरु विरोध जुलुस भोटाहिटी, रत्नपार्क, भद्रकाली, सहिदगेट, न्युरोड, जुद्ध सालिक, ईन्द्रचोक, जनबाहालहुँदै असनमा पुगी विरोधसभामा परिणत भएको थियो ।

कोणसभाको सञ्चालन नेवा राष्ट्रिय मुक्ति मोर्चा काठमाडौंका अध्यक्ष नमस्ते सायमीले गरेका थिए ।