राजनैतिक सत्ताको जन्म बन्दुकको नालबाट हुन्छ

प्रकाशित मिति : २०७६ जेष्ठ २३

- पुष्पगोपाल श्रेष्ठ

नेपालको विशेषता के हुन भने नेपाल एउटा खासमा भन्नु नै पर्दा स्वाधीन र जनवादी देश नभएको मात्र होइन, तर ऊ त दलाल पुँजीपति, अर्ध–सामन्ति र अर्ध–औपनिवेशिक तथा नवऔपनिवेशिक देश पनि हो । आन्तरिक तथा वाह्य रुपमा नेपालमा जनवाद छँदैछैन । तर ऊ अर्ध–सामन्ती उत्पीडनको शिकार भएको छ । बाहिरी सम्बन्धहरुमा राष्ट्रिय स्वतन्त्रताको अभाव छ । ऊ साम्राज्यवादी विस्तारवादी उत्पीडनको शिकार भएको छ ।

यसरी हामीकहाँ उपयोग गर्न सकिने र संसद पनि छैन, छ त त्यो पनि नाउँमात्रको संघीय संसद छ र मजदुरहरुलाई आफ्नो न्यायको लागि हडताल गर्न संगठित गर्ने अधिकार छैन, आधारभूत रुपले, यहाँको कम्युनिष्ट पार्टीको अभिभारा र युद्ध छेड्नु अघि लामो समयको कानुनी संघर्षबाट गुज्रनु होइन र पहिले सहरहरुलाई कब्जा गर्नु र त्यस पछि गाउँहरुलाई कब्जा गर्नु पनि होइन, तर यहाँ त हामी ठीक त्यसको उल्टो ढङ्गले चल्नु हो ।

सकेसम्म धेरै सहभागीसँग एकतावद्ध हुनु सशस्त्र संघर्ष गर्नु र परिस्थितिअनुसार राष्ट्रिय र सामाजिक मुक्तिको निम्ति घरेलु वा विदेशी सशस्त्र प्रतिक्रान्तिको विरुद्ध संघर्ष गर्नु नेपाली सर्वहारा वर्गको सामुन्ने झण्डै यसको (नेपाल कम्युनिष्ट पार्टीको) जन्मकालदेखि नै आइलागेको मुख्य अभिभारा हो । सशस्त्र संघर्ष नगरिकन नेपालमा सर्वहारा वर्ग र कम्युनिष्ट पार्टीको निम्ति कुनै स्थान रहने छैन र कुनै पनि क्रान्तिकारी अभिभारा पूरा गर्न असम्भव हुनेछ ।

सशस्त्र बलद्वारा राजसत्ता कब्जा गर्नु र युद्धद्वारा समस्या फस्र्यौट गर्नु क्रान्तिकारीको केन्द्रीय अभिभारा र सर्वोच्च रुप हो । क्रान्ति सम्बन्धी यो मार्क्सवादी–लेनिनवादी–माओवादी सिद्धान्त सर्वव्यापी रुपले नेपाल र अरु सबै देशमा लागू हुन्छ ।

कम्युनिष्टले अत्यन्तै महत्वका साथ बुझ्नु पर्ने कुरा भनेको– सामान्यतया कम्युनिष्ट पार्टीको अध्ययन गर्न सक्ने सदस्यले मार्क्स, एङगेल्स, लेनिन, स्टालिन र माओको सिद्धान्तहरु अध्ययन गर्नु पर्छ, हाम्रो राष्ट्रिय इतिहासको अध्ययन गर्नुपर्छ र वर्तमान आन्दोलन र प्रवृत्तिको अध्ययन गर्नुपर्छ, यस बाहेक, तिनले थोरै शिक्षा प्राप्त गरेका सदस्यलाई शिक्षित तुल्याउन मद्दत गर्नुपर्छ ।

खास गरेर काडरले यी विषयको राम्ररी अध्ययन गर्नुपर्छ, उता केन्द्रीय समितिका सदस्य र उपल्लो तहको काडरले त यी विषयमा झन बढी ध्यान दिनुपर्छ । आफुसित एउटा क्रान्तिकारी सिद्धान्त नभइकन, इतिहासको ज्ञान नभइकन र व्यवहारिक आन्दोलनलाई गहन रुपले नबुझिकन कुनै पनि राजनैतिक पार्टीले एउटा महान क्रान्तिकारी आन्दोलनलाई विजयसम्म डोर्याउन असम्भव छ ।

मार्क्स, एङगेल्स, लेनिन, स्टालिन र माओको सिद्धान्त विश्वव्यापी रुपमा लागू हुनसक्छ र हुन्छ । हामीले यस सिद्धान्तलाई जडसूत्र नठानी कार्यको मार्गदर्शक ठान्नुपर्छ । यसको अध्ययन गर्नु भनेको खाली यसमा भएका शब्दहरु र वाक्याम्शहरु कण्ठ पार्नु होइन, तर क्रान्तिको विज्ञानको रुपमा मार्क्सवाद–लेनिनवाद–माओवादको अध्ययन गर्नु हो । यसको अर्थ मार्क्स, एङगेल्स, लेनिन, स्टालिन र माओले वास्तविक जीवनको व्यापक अध्ययन र क्रान्तिकारी अनुभवको आधारमा प्रस्तुत गर्नु भएका सामान्य नियमहरु बुझ्नु मात्र होइन तर समस्याहरुको जाँचबुझ र समाधान गर्ने उहाँहरुको दृष्टिबिन्दु र पद्धतिको अध्ययन गर्नु हो ।

मुलुकमा विद्यमान यो जटिलतम् समस्या समाधान गर्ने सम्बन्धमा भन्नुपर्दा, सशस्त्र सेना बेगर नेपालका यी समस्याहरु हल गर्न सकिन्दैन भन्ने अनुभवसिद्ध कुरा हो । यो कुरा बुझ्नाले भारतीय विस्तारवादविरोधी प्रतिरोध युद्धलाई सफलता पूर्वक संचालन गर्नमा मद्दत मिल्ने छ । भारतीय विस्तारवाद विरोधी युद्धमा आवश्यक्तानुसार सशस्त्र प्रतिरोधको निम्ति सिङ्गै राष्ट्रलाई खडा गर्नु र हुनु एउटा यस्तो तथ्य हो जसले यस समस्याको महत्व अज्झ राम्ररी बुझ्न सम्पूर्ण पार्टीलाई शिक्षा दिन्छ, र हरेक पार्टी सदस्यले कुनै पनि बेला हतियार उठाउन र मोर्चामा जान तयार रहनुपर्छ ।

अर्को कुरा २०७४ असोजमा पोखरामा भएको पार्टीको राष्ट्रिय सम्मेलनमा साम्राज्यवाद, विस्तारवादविरोधी तथा देश र जनताको पूर्ण मुक्ति र स्वतन्त्रताको निम्ति आवश्यक राजनैतिक प्रतिवेदन तथा नेपाली समाजको स्वरुप र पार्टीको आमकार्यदिशासम्बन्धी दस्तावेज पारित गरी पार्टीका मुख्य कार्यक्षेत्र, युद्ध क्षेत्र र शत्रुका पछिल्ला भाग हुन् भन्ने कुराको निर्णय गरेर हाम्रो प्रयत्नको स्पष्ट दिशा निर्धारित गरेको छ ।

यो कुरा पार्टी संगठनमा र जनआन्दोलनमा मात्र काम गर्न इच्छुक हुने तर अध्ययन गर्न र युद्धमा भाग लिन अनिच्छुक रहने मानसिक्तामा रहेका केही पार्टी सदस्यविरुद्ध र आफ्नो मातहतका काडरहरुलाई आवश्यक्ता अनुरुप कुनै पनि बेला कुनै पनि क्षेत्र र मोर्चामा जानको निम्ति, प्रोत्साहित गर्न बिफल केही सम्बन्धित निकाय (नेतृत्व पङ्क्ति) मा रहिआएको कमिकमजोरीबाट माथि उठी/उठाई सकारात्मक सोच निर्माण गरी/गराई अगाडि बढ्न बढाउन, यस्तो बेला आपसी सहयोगको ठूलो खाँचो पर्दछ ।

क्रान्तिकारी कम्युनिष्टहरुले अवश्य पनि यो कुरा बुझेकै हुनुपर्छ, नेपालको अधिकांस भागमा संगठनात्मक कार्य र जन–आन्दोलनका कार्यहरु प्रत्यक्ष रुपले सशस्त्र संघर्षसँग गाँसिएका हुन्छन्, सशस्त्र संघर्षबाट अलग्गिएको र स्वतन्त्र पार्टी–कार्य वा जन–कार्य न त कतै छ न त हुनसक्छ ।

सच्चा क्रान्तिकारी कम्युनिष्ट निजी सैन्य सत्ताको निम्ति कहिल्यै लड्दैन । तिनले कहिल्यै त्यसो गर्दैन र गर्नु हुँदैन । तर तिनले पार्टीको सैन्य सत्ताको निम्ति, जनताको सैन्य सत्ताको निम्ति भने लड्नै पर्छ । राष्ट्रिय सत्ताको सवाल बारेमा अल्लारेपना रहन गएको खण्डमा एउटा रौंसम्म पनि हात लाग्ने छैन ।

क्रान्तिकारीले अत्यन्तै महत्वका साथ हेक्का राख्नु पर्ने कुरा भनेको हजारौं वर्षदेखि प्रतिक्रियावादी शासक वर्गको छलकपट र धाकधम्कीको सिकार भई आएका श्रमिक जनतालाई आफ्नो हातमा बन्दुक हुनुपर्ने कुराको महत्व बुझाउन सुझाएजस्तो त्यति सजिलो नहुनुमा आश्चर्य मान्नु पर्ने कुरै होइन, किनभने अहिलेसम्म पनि यहाँ आफुलाई अब्बल दर्जाका कम्युनिष्ट नेता हुँ भनी छाती फुलाई हिंड्ने कतिपय नेता भइटोपलेकाले त सहज रुपले यो गहन कुरा बुझ्न सकेका छैनन् भने ती त सोझा सिधा उत्पीडित श्रमिक जनता हुन् ।

साम्राज्यवाद विस्तारवादको उत्पीडन विशेष त भारतीय विस्तारवादको हेपा र मिचाहा प्रवृत्तिले यतिखेर सिङ्गो देशलाई राष्ट्रिय प्रतिरोध युद्धमा उत्रन बाध्य पारिरहेको वर्तमान स्थितिले श्रमिक जनतालाई पनि युद्धको रङ्गमंचमा धकेलिरहेको स्थितिमा सच्चा क्रान्तिकारी कम्युनिष्टले आफुलाई यस प्रतिरोध युद्धमा राजनैतिक रुपले सबैभन्दा सचेत नेता साबित गर्न सक्नु पर्दछ ।

विश्व–मानवसमाजको उदय हुनु सँगसँगै मानवीय आवश्यकताअनुरुप समय साप्यक्ष ढङ्गले हुँदै आएको श्रृङ्खलावद्ध विकासको सिलसिलाभित्र सिर्जित वर्ग विभेद जस्ता अनेकौं विकृति र विसंगतिका प्रतिबिम्बस्वरुप कुनै पनि सन्तानले आफुलाई जन्मदिने आमा–बुबाको मोलाहिजा र गल्ति गर्दैन र अनावश्यक बोझ ठान्ने मात्र होइन, अपितु पैसाको मोहले गर्दा ऊ आफुले आफ्नै स्वअस्तित्वलाई समेत गिन्ति गर्दैन र आफुले आफुलाई भुलिइसकेका हुन्छन् भने जस्तै, क्रान्तिकारी पार्टीका काडरहरु पद र प्रतिस्थामा फस्न पुगेका कतिपयले सिद्धान्त र पार्टीको लक्ष र उद्देश्य प्रति ख्याल राख्छ भनेर सोच्नु पनि गलत कुरा हो । तर, यसो भनेर हामीले आफ्नो हात मुख बाँधी गुमसुम भई बस्नु पनि त ठिक होइन ।

दुनियाँ बदल्ने गहन अभिभारा बोकेर हिँडेका क्रान्तिकारीहरुले, विश्व राजनीतिको यथार्थता “राजनैतिक सत्ताको जन्म बन्दुकको नालबाट हुन्छ” भन्ने सत्यतालाई हरेक सच्चा कम्युनिष्टले राम्ररी बुझ्नै पर्छ । हाम्रो सिद्धान्त के हो भने पार्टीको आदेशअनुसार बन्दुकले चल्नुपर्छ, र कुनै पनि हालतमा बन्दुकको आदेश अनुसार पार्टी दिनु हुँदैन ।

तर हाम्रो हातमा बन्दुक भएको खण्डमा हामी पार्टी संगठनहरु सहजरुपले निर्माण गर्न सक्छौँ भन्ने कुरा दश वर्षिय महान जनयुद्ध यसका सबुत प्रमाण हुन् । यसरी नै हामी काडरहरु तयार गर्न सक्छौँ, संस्कृतिको सिर्जना गर्न सक्छौँ, जनआन्दोलन संगठित गर्न सक्छौँ । सबै थोकको जन्म बन्दुकको नालबाटै हुने गर्छ । राजसत्तासम्बन्धी मार्क्सवादी सिद्धान्तअनुसार सेना राजसत्ताको मुख्य अङ्ग हुन् । जसले राजसत्ता कब्जा गर्न र त्यसलाई आफ्नो हातमा राखि छाड्न चाहन्छ उसँग बलियो सेना हुनैपर्छ ।

नेपालमा अहिले त्यो मिचाहा र हेपाहा प्रवृत्तिका आक्रमणकारी, मित्रताको नाउँमा दुष्कर्मी भारतीय विस्तारवादले, अत्यन्तै दुःसाहसपूर्ण ढङ्गले आततायी क्रियाकलाप तीब्र रुपले अगाडि बढाउँदै आइरहेको वर्तमान स्थितिमा, तिनका लाचार छाँया ती निकम्मा केपी ओली नेतृत्वको वर्तमान सरकार, राष्ट्रिय गौरव तथा राष्ट्रिय स्वाधिनतालाई प्रत्यक्ष रुपले निल्न, भारतीय विस्तारवाद अग्रसर भई आइसक्दा पनि, आफुचाहिँ विलकूल सञ्चो मानी गुमसुम तमासेको रुप धारणगरी ऐश आरामसाथ राजसत्तामा आसिन रही आएकालाई मुन्ट्याएर, दलाली त्यो राजसत्तालाई ध्वस्त पारी आततायी भारतीय विस्तारवादको धज्जी उडाई अब उप्रान्त नेपालमा मात्र होइन, विश्वका अन्य कुनै पनि देशमाथि कुदृष्टि गाड्न हिम्मतसम्म गर्न नसक्ने गरी बहुला कुकुरलाई झैँ लखेटी पठानु पर्छ । 

देश र जनताको पूर्ण मुक्ति र स्वतन्त्रताका साथै, नेपालमा संघीय जनगणतन्त्र (जनवादी) राजसत्ता स्थापित गर्न, राष्ट्रिय प्रतिरोध युद्धको कार्यभार पूरा गरी, यसै युद्धलाई सशस्त्र जन–विद्रोह (नयाँजनवादी क्रान्ति) मा रुपान्तरण गरी अगाडि बढ्न, नेपालका तमाम् क्रान्तिकारी पार्टी, प्रगतिशिल वामपन्थी कम्युनिष्ट लगायत जनवादी तथा श्रमजीवी जनसमुदाय सब एकसाथ क्रान्तिकारी रणभूमिमा दृढ मनस्थितिका साथ एक ढिक्को भई उत्रेर आजको राष्ट्रिय अभिभारा पूरा गर्नु सच्चा देशभक्त राष्ट्रवादी नेपाली मात्रको दायित्व हो र यसको निम्ति आफ्नो टाउकोमा आफै कात्रो बाँधी मृत्युलाई हाँक दिने महाप्रलयकारी सुनामी भई रणभूमिमा उत्रनु आजको यो नै समयको माग हो र नेपाली क्रान्तिकारीको राष्ट्रिय दायित्व पनि हो ।