मेरो स्मृतिमा केशव रिमाल ‘क.समर’

मेरो स्मृतिमा केशव रिमाल ‘क.समर’

२०५० असार र श्रावणमा तत्कालीन ने.क.पा.(एकता केन्द्र) ले एमाले लगायतका वामपन्थी शक्तिहरूसँग मिलेर नेपाली कांग्रेसको एकमना सरकारले गरेको राष्ट्रघाती महाकाली सन्धिको विरोध र त्यसै वर्ष जेष्ठ ३ गते दासढुङ्गामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र अर्का नेता जीवराज आश्रितको रहस्यमय मृत्युको छानबिनको मागसहित देशव्यापी आन्दोलन उठान गरेको थियो ।

श्रावण ४ गते भरतपुरमा विसाल जनप्रदर्शन आयोजना गरिएको थियो । गिरिजा सरकारको पुलिसले जुलुसमाथि अन्धाधुन्ध लाठी बर्सायो । तत्कालीन संयुक्त जनमोर्चा नेपालका सांसद अमिक शेरचनलाई समेत पुलिसले लाठी हान्यो र उहाँ ढल्नु भयो ।

निहत्था जनताको शान्तिपूर्ण जुलुसमाथिको त्यो बर्बरताविरुद्ध तत्कालै जनताले प्रतिरोध गरे, तर पुलिसले उल्टै गोली बर्सायो । जुलुसको अग्रपङ्क्तिमा रहेका एक युवकको छाती गोलीले छेड्यो । आन्दोलनरत जनताको पहलमा तत्काल ती युवकलाई हवाई मार्गबाट काठमाडौं पुर्याइयो । संयोगले उहाँ बाँच्नु भयो । ती युवक केशव रिमाल (क.समर) हुनुहुन्थ्यो ।

त्यसताका हामी गोरखामा आन्दोलन संगठित गर्दै थियौं । गोलीले छाती छेडेर पुनर्जीवन पाउनु भएका केशव रिमाललाई भेट्न हामी लालयित थियौं । पार्टी कामको सिलसिलामा चितवन आउजाउ हाम्रो बाक्लै हुन्थ्यो, तै पनि उहाँसँग भेट्ने मौका मिलिरहेको थिएन । २०५२ फागुन १ गते हामी जनयुद्धको उद्घाटन गर्यौं । सशस्त्र संघर्षमा प्रवेश गरेपछि हाम्रा कार्यशैली बदलिए ।

निजी चाहनामा आफन्त या मित्रहरुलाई चाहेको बेला भेटघाट गर्न सकिंदैनथ्यो । केशव रिमाललाई भेट्ने मेरो इच्छा धुमिल भैसकेको थियो । २०५४ को वर्षायाममा चितवनको एउटा सेल्टरमा मसँग भेट गर्न एउटा भरभराउँदो, च्याट्ट परेको, अग्लो, सुन्दर युवक आइपुग्नुभयो र परिचय भयो । उहाँ केशव रिमाल (क.समर) हुनुहुँदो रहेछ ।

मैले उहाँबारे सुनेर बनाएको काल्पनिक तस्वीर भेल खाएन । छोटो कुराकानी भयो । क.विनोदको रक्त क्यान्सरबाट मृत्यु भयो भनेर सुनाउनु भयो । क. विनोद (विष्णु दवाडी) अघिल्लो वर्ष धादिङ्गमा मसँगै कार्यरत हुनुहुन्थ्यो । धादिङ्ग जिल्ला पार्टीको सदस्य एवम् त्यस जिल्लाको छापामार दस्ताको कमाण्डर हुनुहुन्थ्यो क. विनोद । यो खबरले मलाई ज्यादै भावुक बनायो ।

क.केशव रिमालसँग थप लामो कुराकानी गर्ने मुड पनि भएन । ‘क.विनोदको असामयिक मृत्युले पार्टी र क्रान्तिलाई अपुरणीय क्षति पुर्यायो’ मेले भनेँ ‘तपाईँहरू जस्ता युवाहरूले त्यो स्थान लिनुपर्दछ ।’ केशवले भन्नुभयो– ‘तयारी गरिराखेको छु ।’ उहाँ कतै जानु थियो, लाग्नुभयो ।

२०५६ माघको दोश्रो हप्ता पार्टीले मलाई रुपन्देहीबाट चितवन सरुवा गर्यो । अब मैले चितवन बारे सोँच्न थालेँ । २०३२ साल यता चितवनको सामाजिक गतिविधि र विकास प्रक्रियालाई मैले नजिकैबाट हेर्ने र बुझ्ने अवसर पाइराखेको थिएँ । चितवन मलाई नौलो लाग्दैनथ्यो । तर यसपटक म चितवन जिल्ला पार्टीको ठोस जिम्मा लिएर आएको थिएँ ।

चितवनको सामान्य जानकारी त थियो, तर त्यो मैले आफ्नो भूमिका निर्वाह गर्नका लागि एकदम अपर्याप्त थियो । चितवन जिल्लालाई मानिसहरू छयहत्तरौँ जिल्ला भन्ने गर्दछन् । त्यसो भन्नुको अर्थ के हो भने देशका ७५ वटै जिल्लाका चालचलन, रितिरिवाज, संस्कृति चितवनको समाजमा पाइन्छ र ती एकआपसमा घुलमिल भएर एउटा अर्को छुट्टै संस्कृति पनि निर्माण भएको छ ।

यो भनाइमा केही सत्यता छ किनकि २०१२ सालमा चितवन खुलाइएदेखि देशका प्रायः सबै भेगबाट, प्रायः सबै जातजाति धेरथोर संख्यामा चितवन बसाइ सरी आए । पूर्वपश्चिदम राजमार्ग र मुग्लिननारायणगढ सडक निर्माणपछि त राजधानी प्रवेशको मूलद्वार नै बन्न पुगेको छ, चितवन । यो ठाउँ मध्यम वर्गको आकर्षणको केन्द्र पनि बन्दै गएको छ । उद्यमी, व्यापारी वर्गको पुरानो सन्तुलनमा धेरै हेरफेर हुन थालेको छ ।

हाम्रो पार्टीको नेतृत्वमा सञ्चालित जनयुद्धले छैठौँ वर्षमा प्रवेश गर्न लागेको छ । जनयुद्धको विकास आधारइलाका निर्माणको प्रक्रियामा अगाडि बढिसकेको छ । सयौं नेता, कार्यकर्ता तथा जनताले बलिदान दिइसकेका छन् । हाम्राविरुद्ध अघिल्लो वर्ष प्रतिक्रियावादी सत्ताले ‘किलो सेरा टु’ अप्रेशन बलायो । गण्डक क्षेत्रमा हाम्रो पार्टीले धेरै ठूलो क्षति बेहोर्नु पर्यो ।

पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य सुरेश वाग्ले (क.वासु), प्लाटुन कमाण्डर भीमसेन पोख्रेल (क.बैरागी) लगायतका कैयौं कमरेडहरूले सहादत प्राप्त गरिसक्नु भएको छ । यस क्षेत्रमा हाम्रो पार्टीका लागि राजनीतिक एवम् फौजी दुबै फाँटमा गम्भीर चुनौतीहरू छन् । बुटवलबाट चितवन आउँदा मेरो दिमागमा यस्तै कुरा खेलिरहेका थिए ।

तोकिएको समयमा नै म चितवन जिल्ला पार्टीको सम्पर्कमा पुगें । क. प्रशान्त जिल्ला पार्टी इन्चार्ज हुनुहुन्थ्यो । म सेक्रेटरी थिएँ । क. चित्रबहादुर श्रेष्ठ, क. घनश्याम दाहाल, क. अशोक लम्साल, क. केशव रिमाल, क. गुणराज लोहनी र कञ्चन खनाल समितिमा सदस्य हुनुहुन्थ्यो ।

क. ईश्वरी खनाल (क. प्रतीक) नेपाली कम्युनिष्ट आन्दोलनमा खारिएका एक पाका क्रान्तिकारी कम्युनिष्ट नेता हुनुहुन्थ्यो । जिल्ला पार्टीमा क. प्रतीक हामीको अभिभावकजस्तै हुनुहुन्थ्यो । २०५९ भाद्र १० मा चितवनको कोराकमा शाही जल्लादको घेरमा पर्नुभयो ।

शाही सेनाले उहाँको आस्था डगमगाउने कुचेष्टा गरे । जल्लादी चुनौतीलाई ढृढतापूर्वक इन्कार्दै गोली हान्न चुनौती दिनुभयो । जल्लादहरुले उहाँको जिब्रो समेत थुतेर निर्ममतापुर्वक गोली हानी हत्या गरे । क. प्रतीक महान् सहिद बन्नुभयो ।

केश रिमाल (क. समर) २०५९ श्रावणमा क्षेत्रीय ब्यूरो सदस्यको थप जिम्मेवारी रूपन्देही सरुवा हुनुभयो । त्यहाँ क. समर जिल्ला पार्टीको इञ्चार्जको भूमिकामा हुनुहुन्थ्यो । पार्टी कामको सिलसिलामा नवलपरासीको पर्सावालमा जिल्ला सचिव डी.बी. थापा, क. समरसहित ९ जना कमरेड दुश्मनको घेरामा पर्नुभयो र घेरा तोड्ने प्रयास सफल भएन । ९ जना कमरेड एकै स्थानमा सहीद बन्नुभयो ।

२०५६ माघदेखि २०५९ श्रावणमा क. समर रूपन्देही सरुवा नहुँदासम्म मैले उहाँसँग सहकार्य गरें । सुरुमा उहाँ जिल्ला पार्टी सदस्य र स्क्वायड कमाण्डर हुनुहुन्थ्यो । लगत्तै उहाँ जिल्ला सचिवालय सदस्य हुनुभयो र केही पछि उपब्यूरो सदस्य । प्लाटुन कमाण्डर र कमिसारको भूमिका पनि निभाउनु भयो । केही समय चितवन जिल्ला पार्टी समितिमा रहँदा जहिले पनि क. समर चर्चाको केन्द्रमा रहनुभयो ।

उहाँका केही विशिष्ट गुणहरू थिए । युद्धकालको जटिल समयमा साढे दुई वर्ष एउटै मोर्चामा सहकार्य गर्न पाउनु ठूलै कुरा हो । क. समरसँगको सहकार्यमा मैले उहाँका विलक्षण प्रतिभा अनुभूत गरेको छु । ती सबै यो छोटो लेखमा उल्लेख गर्न सम्भव छैन । एकाध अनुभूतिहरू यहाँ चर्चा गर्दा उपयुक्त होला । क. समर पार्टीको योजनालाई गहिरसँग आत्मसात् गर्नुहुन्थ्यो । मैले माथि कतै उल्लेख गरेको छु, त्यसताका मध्य क्षेत्रमा राजनीतिक तथा फौजी दुबै क्षेत्रमा समस्याहरू थिए । क. समरले उक्त समस्याबारे गहिराइका साथ आत्मबोध गर्नुभएको थियो ।

जिल्लामा जम्मा एउटा स्क्वायड थियो, पूर्णकालीन कार्यकर्ता सीमित थिए, पर्णकालीन कार्यकर्ता उत्पादन र फौजी प्रशिक्षणमा जोड दिनुपर्छ भन्नुहुन्थ्यो बारम्बार । जब २०५७ को श्रावणताका हुनुपर्छ । जिल्ला पार्टीले पूर्णकालीन कार्यकर्ता उत्पादन र फौजी प्रशिक्षणको ठोस योजना बनायो । उहाँ फौजी प्रशिक्षणको व्यवस्थापनमा लाग्नुभयो । उहाँ आफै दक्ष फौजी प्रशिक्षक हुनुहुन्थ्यो ।

श्रावणको महिना ३० र ४० युवालाई ५ दिने प्रशिक्षण दिइयो । ३ र ४ वटा स्क्वायड लगत्तै गठन गरियो । साना ठूला छापामार कार्वाही स्वतः बढाइयो । एक वर्षपछि २०५८ को जेठमा प्लाटुनस्तरको प्रशिक्षण र गठन गर्न सकियो । पूर्णकालीन कार्यकर्ताको लहर नै आयो । माथिल्लो फर्मेशनको लागि जिल्लाले आपूर्ति गर्नुपर्ने जनशक्तिको कोटा पठाउन कुनै कठिनाइ भएन ।

क्षेत्रका फौजी समस्या जुन जनशक्तिको अभावले पैदा भएका थिए ती हल हुँदै गए । यस जिल्लाबाट क्षेत्रलाई पुर्यारउनुपर्ने सहयोग पुगेको थियो । निःसन्देह जिल्ला पार्टीको भूमिका थियो त्यो, तर त्यसमा क. समरको अहम् भूमिकाले त्यो सम्भव भएको थियो ।

पार्टी केन्द्रले २०५७ माघमा राष्ट्रिय सम्मेलन बोलाएको थियो । सम्मेलनको तयारीका लागि जिल्ला भेला बोलाइयो । राजनीतिक प्रतिवेदनमाथिको छलफल र राष्ट्रिय सम्मेलनको लागि प्रतिनिधि कोटा सीमिति थियो । क. समरभन्दा वरिष्ठ कमरेडहरू हुनुहुन्थ्यो । भेलाको सेन्टिमेन्ट क. समरलाई प्रतिनिधि छनौट गरियोस् भन्ने स्वतः बुझिन्थ्यो, स्थिति जटिल नै थियो ।

क. समरले भेलालाई सम्बोधन गर्नुभयो । उहाँ कुशल वक्ता हुनुहुँदोरहेछ । उहाँको धारावाहिक ओझपूर्ण मन्तव्यले प्रतिनिधि छनौटको जटिलता अन्त्य भयो । उहाँ पुरानापाका अग्रजहरूलाई सम्मान गर्न र समकक्षीको मनोविज्ञानलाई समेट्न सिपालु हुनुहुँदोरहेछ । उहाँ राष्ट्रिय सम्मेलनको प्रतिनिधि सर्वसम्मत रूपले छानिनु भयो ।

२०५९ श्रावणमा क. समर रूपन्देही जिल्ला पार्टीको इञ्चार्जको जिम्मासहित सरुवा हुनुभएसँगै अन्य कमरेड पनि चितवनबाट रूपन्देही सरुवा हुनुभएको थियो । क. अनुप र क. उर्मिला भट्टराई उहाँसँगै रूपन्देही सरुवा हुनुभएको थियो । क. उर्मिला भट्टराई त्यहाँ सरुवा भएको लगत्तै सहिद हुनुभयो । चितवनबाट नवलपरासी जिल्ला पार्टीको इञ्चार्जमा क. घनश्याम दाहाल त्यतिबेलै सरुवा हुनुभएको हो । क. सुदर्शन पौडेल लगायतका कमरेडको ठूलो टोली नवलपरासी गएको थियो ।

मैले यहाँ यो सबै किन उल्लेख गरे भने यो सरुवा चितवनबाट मात्रै थिएन । मध्यक्षेत्रको राजनैतिक समस्याको जुन उल्लेखमाथि गरेको थएँ, त्यही समस्याको समाधानको योजना थियो । क. समर लगायतका कमरेडको पदोन्नति र सरुवा मध्यक्षेत्रको राजनैतिक समस्याको समाधान थियो । कमरेडले यो योजनाको मर्म गहिरोसँग आत्मसात् गर्नुभएको थियो ।

यतिबेला हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी) पालुङटार छैटौं विस्तारित बैठकको म्याण्डेट जनयुद्धको जगमा टेकेर जनविद्रोह संगठित गरी नेपाली जनवादी क्रान्तिलाई पूर्णतामा लैजाने कार्यदिशा अन्तर्गत क्रियाशील छ । सहिदका सपना निरन्तर क्रान्तिमा डटेर मात्र साकार पार्न सकिन्छ । क्रान्तिको मार्गमा अविचलित लाग्नु नै सहिदप्रतिको सच्चा सम्मान पनि हो । हाम्रा आदरणीय सहिदले देखाएको बाटो अनुशरण गर्ने प्रतबद्धतासाथ श्रद्धेय सहिद क. समर, क. शारदा श्रेष्ठ, क. प्रतीक लगायतका आदरणीय कमरेडप्रति श्रद्धाञ्जली !

(साभार : समर प्रतीक‚ वर्ष १ अंक ५‚ २०६७)