खाँचो क्रान्तिकारी विकल्पको !

प्रकाशित मिति : २०७६ बैशाख १३

- विनोद सहयात्री


चौतर्फी रुपमा केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना तथा विरोध भइरहेको छ । दुई तिहाईको सरकारले एक वर्ष गजुरी सक्दा पनि जनतामा कुनै आशाको सञ्चार र सम्भावनाको क्षितिज देखाउन सकेन । आफैले वाचा गरेका कामहरु सरकारले कुनै पनि गर्न सकेन । बरु, दिन दो गुणा रात चौगुणा सिंहदरबारदेखि वडासम्म महामारीको रुपमा फैलिएको संस्थागत भ्रष्टाचार, जथाभावी र अनावश्यक रुपमा जनताको ढाड भाँच्ने गरी थोपरिएको कर, राज्यबाट जनताले सहज रुपमा पाउनु पर्ने सेवा सुविधा नपाउनु, शिक्षा र स्वास्थ्यमा बढ्दो निजीकरण, व्यापारीकरण र माफियाकरण, दैनिक उपभोग्य वस्तुमा बढ्दो महंगी, लाखौं लाख युवाहरुको बेरोजगारी तथा दक्ष र अदक्ष युवा जनशक्तिको विदेश पलायन, अनुत्पादक क्षेत्रमा बढ्दो लगानी, आकाशिदो व्यापारघाटा र बढ्दो वैदेशिक हस्तक्षेप तथा सरकारको जनघाती र राष्ट्रघाती नीति, कार्यक्रम तथा गतिविधिले गर्दा छोटै समयमा सिंगो देश र जनता वर्तमान ओली सरकारको मात्रै होइन, यो दलाल संसदीय सत्ता, व्यवस्था तथा संविधानको विकल्पको खोजी गर्न थालेका छन् ।
क्रान्तिकारीहरु छिन्न भिन्न र कमजोर अवस्थामा रहेको, पुनरुत्थानवादीहरु पनि चुनौती खडा गर्न सक्ने स्थितिमा नभएको र संसदको प्रतिपक्षको पनि निष्प्रभावी भूमिका रहेको अहिलेको अनुकूल अवस्थामा समेत दुई तिहाइ हैसियतको सरकारले जनतामा कुनै सकारात्मक प्रभाव पार्ने काम गर्न नसक्नु र जनतामा दिन दिनै सत्ता, व्यवस्था तथा सरकारका विरुद्ध आक्रोश चुलिदै जानु भनेको क्रान्तिकारीहरुका लागि क्रान्ति वा संघर्षका निम्ति परिस्थितिको अनुकूलता हो । यही परिस्थितिका कारण आत्मगत अवस्था कमजोर र संघर्षलाई व्यवस्था बदल्ने दिशातर्फ ठोस रुपमा नसोझ्याउँदाको अवस्थामा पनि नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपामाथि ओली सरकारले प्रतिबन्ध लगाएर दमनमा उत्रिएपछि उसले देशव्यापी रुपमा ठूलो सहानुभूति पाएको छ र आफ्नो वास्तविक भन्दा धेरै चर्चा पाएको छ । कतिपय घटनाक्रमहरुलाई नियाल्दा त लाग्छ विप्लव नेकपालाई प्रायोजित रुपमा अगाडि ल्याइदै त छैन । यसरी अस्वभाविक रुपमा विप्लवलाई उचाल्दा र उछाल्दा पक्कै त्यहाँभित्र केही रहस्यले काम गरेको छ । विडम्बना यहींनेर छ कि यसरी रहस्यमयी र अनावश्यक रुपमा विप्लवलाई राज्य तथा अन्य शक्तिहरुले महत्व दिंदै गर्दा यसको पछाडि कुनै न कुनै शक्तिले काम गरेको छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । र, यसले अन्ततः कम्युनिस्ट क्रान्तिकारी आन्दोलनलाई अर्थात् सर्वहारावर्गीय क्रान्तिलाई भन्दा देशी विदेशी प्रतिक्रियावादी स्वार्थ र अभिष्टलाई चाहिं पूरा गराउने दिशामा पुग्ने हो कि भन्ने चिन्ता र चासो बढाएर लगेको छ । छिन्नभिन्न अवस्थामा रहेका कम्युनिस्ट क्रान्तिकारीहरुमा यही शंका र चिन्ता अभिव्यक्त भइरहेको पाइन्छ ।
विप्लव नेकपामाथि यस्तो शंका र चिन्ता अभिव्यक्त हुनुका पछाडि विप्लव नेकपाकै नीति, कार्यक्रम तथा गतिविधिले काम गरेको छ । वर्तमान सत्ता, व्यवस्था, सरकार तथा संविधानका विरुद्ध भन्दा पनि यही व्यवस्थालाई सहयोग पुग्ने किसिमका गतिविधिहरु गरिनु, सत्ताको रक्षाकवचको रुपमा रहेका सेना पुलिससँग नलड्ने नीति लिनु, सत्ता साझेदारीको कुरा नगर्नु, सरकारलाई कर तिरेन भनेर एनसेलमाथि आक्रमण गरिनु, पुनरुत्थानवादीहरुसँग अप्रत्यक्षरुपमा सहकार्य गरिनु, मित्रशक्तिहरुसँग दाउपेचपूर्ण व्यवहार गरिनु र पार्टीभित्र मालेमावादी सैद्धान्तिक स्कूलिङ र व्यवहारभन्दा बुर्जुवा जीवनशैली र कार्यशैली हावी हुँदै जानुले पनि विप्लव पार्टीप्रति अन्य मित्र शक्तिहरुको शंका र चिन्ता अभिव्यक्त भइरहेको देखिन्छ । राज्यले प्रतिबन्ध लगाउँदा, दमन धरपकड गर्दा सबैभन्दा पहिले विप्लवको पक्षमा उभिने तथा वकालत गर्ने शक्तिहरुलाई पनि उसले नजरअन्दाज गर्दै आएको छ । यसले विप्लव नेकपा के हो र उसको गन्तव्य कतातिर हो भन्ने गम्भीर आशंका क्रान्तिकारी आन्दोलनभित्र विद्यमान छ । वर्तमान सत्ता तथा व्यवस्था विरुद्ध लड्ने वैकल्पिक राजनीतिक शक्ति हो कि होइन भन्ने अहिले नै निक्र्यौल गर्ने स्थिति स्पष्ट भइसकेको छैन ।
आफूलाई कम्युनिस्ट तथा वाम शक्ति भएको हल्ला चलाउँदै आफूहरु बाहेक मुलुकमा कुनै पनि कम्युनिस्ट पार्टी वा वाम शक्ति नरहेको भन्नै चौतर्फी रुपमा हल्ला फिंजाएर जनतालाई भ्रमित तुल्याउँदै आएको वर्तमान ओली–दाहाल नेतृत्वको डबल नेकपा र उनीहरुको सरकारको पहिचान जनताले गरिसकेका छन् । उनीहरु कम्युनिस्ट होइनन्, कम्युनिस्ट खोल ओढेका दक्षिणपन्थी अवसरवादी तथा विस्तारवादी र साम्राज्यवादीका दलाल हुन् भन्ने कुरा जनताले प्रष्ट रुपमा बुझिसकेका छन् । कांग्रेस, डबल नेकपा, मधेसवादी दलहरुमा कुनै फरक छैन भन्ने कुरा प्रष्ट भइसकेको छ । जनतालाई यो कुरा पनि थाहा भइसकेको छ कि सत्ता तथा सरकारबाहिर अझै आधा दर्जनभन्दा कम्युनिस्ट क्रान्तिकारीहरु छन् भन्ने । सत्ता बाहिररहेका मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल वर्तमान सत्ताको विकल्प खोज्ने आन्दोलनतिर जाने सोचमा देखिन्न । सीपी मैनाली नेतृत्वको नेकपा माले पनि क्रान्ति आवश्यक भएपनि सकिन्न भन्ने विश्लेषणमा देखिएको छ । क्रृषि कट्टेल, गोपाल किराती, आहुतीहरुको पनि आ–आफ्नै विश्लेषण देखिन्छ । विप्लवदेखि आहुतीसम्मका सत्ताबाहिरका सबै शक्तिलाई एक ठाउँमा ल्याएर कम्युनिस्ट क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने दिशामा मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पार्टी लागिरहेको देखिन्छ । यो पार्टीले निरन्तर वर्तमान सत्ता, व्यवस्था, सरकार तथा संविधानको विकल्पमा नयाँ जनवादी राज्य व्यवस्था तथा संघीय जनगणतन्त्रको नारा अगाडि सारेर सापेक्षिक रुपमा संघर्ष गर्दै आएको छ । पार्टीको संयुक्त मोर्चाको रुपमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम ऐतिहासिक सम्मेलनमा आफ्नो शक्ति समेत प्रदर्शन गर्दै क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले मोहनविक्रम सिंह, विप्लव, सिपी मैनाली, ऋषि कट्टेल, गोपाल किराती, आहुती सबैलाई एकतामा आउन र व्यवस्था पल्टाउने दिशामा आन्दोलनलाई संगठित रुपमा अगाडि बढाउने दिशामा अग्रसर हुन सार्वजनिक आव्हान समेत गरे । उनले जोड दिएर भने, “क्रान्तिकारीहरु एकताबद्ध भई बन्दुक उठाउने हिम्मत गरे सत्ता तथा व्यवस्था पल्टाउन सकिन्छ । र, साँच्चै क्रान्ति गर्न खोजेको हो भने सबै यस दिशामा आउनै पर्छ ।” विगत दशवर्षे जनयुद्धको पहलकर्तामध्येका मुख्य नेतृत्वको रुपमा रहेका महासचिव किरणको यो आव्हान र जोडलाई अन्य कम्युनिस्ट पार्टीहरुले कसरी लिन्छन्, लिएका छन् भन्ने कुरा आगामी दिनका घटनाक्रमहरुले स्पष्ट पार्दै जानेछ । कम्युनिस्ट को हुन् र को होइनन् भन्ने बहस चलेको र यो बहस पेचिलो समेत बन्दै गएको अवस्थामा अब कसैलाई पनि छद्मभेष धारण गर्ने अवस्था परिस्थितिले दिने देखिन्न ।
पटक पटक बहस पनि हुँदै आएको छ कि कम्युनिस्टहरु प्रतिक्रियावादी व्यवस्थाका विरोधी मात्र हुँदैनन् त्यो व्यवस्था बदल्नका निम्ति बलप्रयोगको सिद्धान्तलाई अंगीकार गरेर त्यसको आवश्यक तयारीमा लाग्दछन् । सर्वहारावर्गको अधिनायकत्व, निरन्तर क्रान्ति, वर्गसंघर्ष हरेक कम्युनिस्ट पार्टीका आधारभूत शर्त हुन् । माक्र्सवाद–लेनिनवाद–माओवाद÷विचारधाराको कुरा मात्रै गर्नेहरु कम्युनिस्ट हुन सक्दैनन् । व्यवस्था बदल्ने दिशामा अग्रसर नहुने हो भने त्यस्ता पार्टीको कुनै काम छैन । त्यस्ता पार्टीहरु नाङ्ले पार्टीमा सीमित हुनेछन् । त्यस्ता पार्टी रहनु र नरहनुले राजनीतिमा कुनै अर्थ राख्दैन । तसर्थ, क्रान्तिका लागि सच्चा कम्युनिस्ट क्रान्तिकारी पार्टीहरुबीचको एकता नै आजको ऐतिहासिक आवश्यकता हो ।
परिस्थिति असाध्यै निर्मम हुन्छ । आवश्यकता मुताविक क्षमताको विकास गर्न नसक्ने नेता कार्यकर्ताहरु क्रान्तिकारी आन्दोलनमा छोडिदै जान्छन् । र, पुरानोलाई नयाँ, सुस्ततालाई गतिशिलताले विस्थापित गर्दै लैजान्छ । यो क्रान्ति तथा समाज विज्ञानको पनि नियम नै हो । ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा सही निर्णय लिंदै अब समयको गतिशीलतासँगै कम्युनिस्ट क्रान्तिकारीहरु एकताबद्ध भई वर्तमान सत्ता, व्यवस्था, सरकार र संविधान खारेज गरी नयाँ जनवादी व्यवस्था तथा संघीय जनगणतन्त्र स्थापनाको लागि संघर्ष केन्द्रित गर्दै जुझारु रुपमा अगाडि बढ्नुको विकल्प छैन । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सारा समस्याहरुको समाधान गर्ने यो नै अहिलेको सही क्रान्तिकारी विकल्प हो ।