एकता, संघर्ष, फुट र नयाँ आधारमा एकता

अब माओको संश्लेषण जरुरी

प्रकाशित मिति : २०७६ बैशाख १३

- मोहन वैद्य ‘किरण’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ ले देश अब क्रान्तिकारी ध्रवीकरणतिर अघि बढेको बताउँदै क. माओले संश्लेषण गर्नु भएको इतिहासको संश्लेषणात्मक थ्यौरी ‘एकता, संघर्ष र फुटपछि नयाँ आधारमा नयाँ एकता’ नै सबैभन्दा बढी वैज्ञानिक र व्यवहारिक भएको कुरामा जोड दिएका छन् । २२ अप्रिल अर्थात् नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीको अबसरमा महासचिव किरण ले उक्त कुरा बताएका हुन् ।

मार्क्सवादले सिकाएको कुरा भनेको एकता, संघर्ष र रुपान्तरण हो । तर कहिलेकाहीं रुपान्तरणको सट्टा हुने फुटबाट फेरि पनि क्रान्तिकारीहरु आफ्नो वर्ग र वर्गीय पक्षधरताका कारण एक ठाउँमा आएर लड्नु पर्ने परिस्थितिको सिर्जना हुन्छ र हुनजान्छ ।

क्रान्तिकारी र गैर क्रान्तिकारीहरु जुनसुकै पार्टीमा पनि रहने हुनाले क्रान्तिकारीहरुले क. माओको इतिहासको नयाँ आधारमा नयाँ एकताको कडीलाई समाएर अघि बढ्दछन् । नेपाल कम्युनिष्ट पार्टीको ७० वर्षको एतिहासलाई हेर्यौं भने पनि एकता, संघर्ष र रुपान्तणका ठाउँमा एकता, संघर्ष र फुटहरु हुने गरेका छन् ।

तर पनि नयाँ आधारमा नयाँ एकता भई र हुनगई बेलाबेलामा ठूल्ठूला आन्दोलन र वर्ग युद्धहरु पनि चलिरहेका छन् । २०५२ सालको जनयुद्ध, २०२८ सालको झापा विद्रोहहरु यी प्रक्रियाहरुबाट गुज्रिएका थिए ।

कम्युनिष्ट अन्तर्राष्ट्रियहरु तथा देश विशेषका आन्दोलनहरु संसारभर यही प्रक्रियामा छन् । फुट्ने मात्र होइन, जुट्ने र अघि बढ्ने कुरा एउटा क्रान्तिकारी पार्टीको जीवनको प्रक्रिया हो । क्रान्ति भनेको रेलको यात्रा जस्तै हो । रेल चलिरहन्छ, यात्रुहरु चढ्ने र झर्ने गरिरहन्छन् ।

तर एक कुशल र प्रतिबद्ध क्रान्तिको चालक भने अन्तिम गन्तव्यसम्म इञ्जिनलाई चलाइरहन्छ ।

(लेनिन जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अबसरमा दिएको मन्तव्यबाट)