चैत्र २४ गते काठमाडौं जाऔं ! क्रान्तिकारी विकल्पको तयारी गरौं !!

प्रकाशित मिति : २०७५ चैत्र १३

आदरणीय जनसमुदाय तथा दिदी बहिनी, दाजु भाइहरु !

आगामी २०७५ चैत्र २४ गते काठमाडौंमा हुने विसाल जन समुदायको उपस्थिति बहुआयामिक महत्वको हुनेछ । पहिलो, यो हामीले यही फागुन ७ गते देखि २१ गतेसम्म देशका विभिन्न भागमा सफलतापूर्वक सञ्चालन गरेको ‘मेची – महाकाली जन जागरण अभियान’ को उत्कर्ष हुनेछ । दोस्रो, यो जनविरोधी र राष्ट्रघाती सरकारलाई जनताको पक्षमा निर्णय गर्न बाध्य गराउनका लागि ठूलो जनप्रदर्शन हुनेछ । तेस्रो, राष्ट्रिय स्वाधीनताको रक्षा लगायत नेपाली जनताका तमाम समस्याको समाधान तथा देशमा आमूल परिवर्तनका निमित्त समर्पित क्रान्तिकारी मोर्चा, देशभक्त जन गणतान्त्रिक मोर्चा, नेपालको ऐतिहासिक राष्ट्रिय सम्मेलनको उद्घाटनको अवसर पनि हुने छ । चौथो, नेपालमा राजतन्त्र विद्यमान भएकै बेलामा गणतन्त्रको नारा स्थापित भएको ऐतिहासिक जनआन्दोलन दिवसको निरन्तरता हुनेछ । त्यसैले हामी फेरि पनि आदरणीय जनसमुदायसँग अनुरोध गर्दछौं, यो अवसर नचुकाऔं !

“समृद्ध नेपाल र सुखी नेपाली”को कपोल कल्पित नारा दिई जनतालाई झुक्याएर बनेको केपी ओली नेतृत्वको यो कथित दुईतिहाई बहुमतको सरकारले जनतालाई के दियो त ? पहिलेका राष्ट्रघाती कार्यहरु यथावत छँदैछन् । भारतले छापेर पठाएको नक्कली नक्सा मन्त्रालयहरु लगायत सबै सरकारी कार्यालयमा टाँगिएका छन् । त्यसमा लिपुलेक, कालापानी, लिम्पियाधुरा नै भारतमा गाभिएको छ । यसको क्षेत्रफल ३७२ वर्ग किलोमिटर छ, जुन क्षेत्रफल हाम्रो भक्तपुर जिल्ला भन्दा धेरै हो । सातै प्रदेशले निकालेको नक्साको क्षेत्रफल जोड्दा समग्र नेपालको कूल क्षेत्रफलमध्ये १००१९ वर्ग किलोमिटर पुग्दैन । सरकारले किन मतलव राख्दैन ? यो सरकारले जनताले दैनिकरुपमा प्रयोग गर्ने उपभोग्य वस्तुको मूल्य ३०० प्रतिशत सम्म बढाउने काम गरेको छ, नेपाल आयल निगमलाई अघि सारेर । आयल निगम भ्रष्टाचारको केन्द्र बनेको सर्वविदितै छ ।

त्यति मात्र होइन, जनताले थेग्नै नसक्ने गरी कर थोपरेको छ । करको कारण यहाँ जन्मन पनि डराउनु पर्ने र मर्न पनि डराउनु पर्ने अवस्था आएको छ । तीन तहका निकायहरुले तिनै गरीब जनतामाथि करको नाममा लुट मच्चाइरहेका छन् । भ्रष्टाचार संस्थागत भएको छ, खुला र हाकाहाकी हुने गरेको छ । यो लाखमा करोडमा होइन, अर्बमा पुगि सकेको छ । वाइडबडी बिमान काण्ड यसको प्रमाण हो । शिक्षा र स्वास्थमा भएको निजीकरण र माफियाकरणको कारण साधारण जनता शिक्षा र स्वास्थको अनिवार्य सुविधाबाट बञ्चित छन् । निर्मला पन्तका बलात्कारी र हत्याराहरुलाई सार्वजनिक गरिएको छैन, किनकि त्यसमा सरकार र सत्ताधारी पार्टीका माथिल्लो स्तरका मानिस संलग्न छन् । साढे ३३ किलो सुन तस्करी काण्डमा एकजना नेपालीको हत्या समेत भैसकेको छ, केयौं जेलमा छन्, विचित्रको कुरा त्यो सुन नै गायब छ ।

प्रधानमन्त्री एक्लैको निर्णयले सेना परिचालन गर्न पाउने कानूनी व्यवस्थाको लागि सदनमा विधेयक प्रस्तुत गरिएको छ । सरकारले राजनीतिक पार्टी माथि प्रतिबन्ध लगाउने काम सुरु गरेको छ । यस प्रकार यो सरकारले फासीवाद लागु गर्ने स्पष्ट संकेत हो भन्ने देखिन्छ । यी सबै हँुदाहुँदै पनि संसदको प्रतिपक्ष निरीह छ । यति धेरै राष्ट्रघात र जनघात गर्दा पनि दुईतिहाई बहुमत भएको यो सरकारलाई संसदीय दायरा भित्रबाट हटाउन सकिने संभावना छैन ।

त्यसकारण, यो सरकारलाई हटाउने एक मात्र उपाय हो, सडक आन्दोलन । उपरोक्त विकराल समस्याहरु केपी ओलीलाई हटाएर संसद भित्रका अन्य कसैलाई त्यो कुर्सीमा राख्दा हुन्छ त ? त्यसबाट पनि समस्याको समाधान संभव छैन ।

देश यस प्रकार विकराल अवस्थाबाट गुज्रिरहेको अवस्थामा विशाल मात्रामा जनताको उपस्थितिले देशैलाई एउटा निकास दिन सक्दछ । कार्यक्रममा विभिन्न पार्टी र संगठनका नेताहरुका विचार सुन्ने र मन्थन गर्ने काम हुने छ । देश बचाउनका लागि पनि यस प्रकारका कार्यक्रमको आवश्यकता छ ।

देश र जनताका अगाडि उपस्थित यी यावत् समस्या समाधानका लागि यो संविधान र यो राज्यव्यवस्थाको विकल्प खोज्नु आवश्यक छ । हामीले मेची महाकाली जन जागरण अभियानकै बेला स्पष्ट पारिसकेका छौं कि यो लोकतान्त्रिक गणतन्त्र यहाँका दलाल पुँजीपति वर्ग, नोकरशाही पुँजीपति वर्ग र सामन्तवर्गको गणतन्त्र हो ।

हामीलाई त्यसको सट्टा जनताको गणतन्त्र चाहिन्छ, त्यो भनेको जनगणतन्त्र हो । संघीयता नेपालको सन्दर्भमा अत्यावश्यक छ, तर अहिलेको संघीयता मात्र होइन, धर्म निरपेक्षता पनि नक्कली प्रकारको छ । त्यसैले राष्ट्रिय स्वाधीनताको रक्षा, वास्तविक जनतन्त्रको स्थापना र जनजीविकाका समस्याको समाधानका लागि संघीय जनगणतन्त्र नै अहिलेको अग्रगामी विकल्प हो । जनताको बृहद् एकता र जन आन्दोलनबाट मात्र यसलाई प्राप्त गर्न सकिन्छ ।

त्यसैले हामी सम्पूर्ण जन समुदायलाई चैत्र २४ गते काठमाडौं आएर विशाल जनसभामा सहभागी हुनका लागि विनम्र अनुरोध गर्दछौं ।

स्थानः भृकुटी मण्डप (भद्रकाली नजिकै) ।
मितिः २०७५ चैत्र २४ गते, दिनको ११ बजे

केन्द्रीय कार्यालय
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल