सम्झनामा ऋषि रेग्मी ‘राकेश’

प्रकाशित मिति : २०७५ चैत्र ७

- लालबहादुर तामाङ

वर्ग संघर्ष र वैचारिक संघर्ष तुफानी प्रवाह महान् जनयुद्ध नेपाली राजनीति मात्र नभई विश्व राजनीतिलाई कोल्टे फेर्न विवश पार्ने एउटा युगान्तकारी आन्दोलन थियो । यो यथार्थमा मार्क्सवाद–लेनिनवाद–माओवाद दर्शनको नेपाली माटोमा नयाँ तथा मौलिकताको प्रयोग थियो । यो दर्शन र पथप्रदर्शनका हिसावले जीवन पद्धति नै बनेको थियो । आज आएर समीक्षा गर्दा विभिन्न कोणहरुबाट यसलाई नियाल्ने प्रयास किन नगरियोस् ? यसले स्थापित गरेका मुल्य मान्यताहरु आज पनि उत्तिकै सन्दर्भिक र अत्यावश्यक छन् ।

जनयुद्धका मूलभूत उद्देश्य र लक्ष्यबाट आन्दोलनको मूल नेतृत्व बिचलित भए तापनि आन्दोलनको प्रवाह रोकिएको छैन । नवीन पहलुसँगै निखारिदैै र तिखारिदै पाखा, पर्वत र पहराहरुमा हुर्कदै गइरहेको छ । यो एक सुखद पक्ष हो । जनयुद्ध महान् हुनुका पछाडि मूलतः वीर सपुतहरुको बलिदानीले काम गरेको छ । यसैका कारण संभव भएको पनि हो । तर पनि आज ती वीरहरुको स्मरण शब्दमा र त्यो पनि औपचारिकतामा मात्र सिमित हुँदै गइरहेको छ ।

उनीहरुको योगदानको कुनै मूल्यांकन भइरहेको छैन । सहिदका सपनाहरु वेवारिसे भएका छन्, जसका कारण सहिद परिवार, बेपत्ता, घाइतेका योद्धाहरु डिप्रेसनको सिकार भएका छन् । मात्र जीवन यापनका लागि खाडी देशहरुमा भौतारिरहेका छन् । उनीहरुले इतिहासप्रति गर्व गर्न सकिरहेका छैनन् । जबसम्म इतिहासका ती रक्तबीजहरुको योगदानको उचित मूल्य हुँदैन, तबसम्म समाजमा न शान्ति संभव छ, न त समृद्धि नै । नयाँ आन्दोलन पनि ती महान् वीरहरुको रगतको मूल्यबोधमा मात्र सम्भव छ । महान् सहिदको सम्मानले मात्र सम्भव छ । तिनै महान जनयुद्धका एक वीर योद्धा ऋषि रेग्मी क. राकेशको सम्मान र संझनामा दुई हरफ कोर्ने प्रयत्न गरिएको छ ।

ऋषि रेग्मीसँगको मेरो पहिलो भेट २०५८ साल फागुनतिर सप्तगण्डकी बहुमुखी क्याम्पसमा भएको थियो । त्यतिखेर सामान्य चिनजान मात्र भयो । २०६० सालमा भएको २२औं जिल्ला सम्मेलनका उहाँ जिल्ला सदस्य भएपछि हामीसँग सँगै काम गर्ने अवसर प्राप्त भयो । त्यति बेला म पनि सहिद स्मृति कलेजको अध्यक्ष भएकाले हामी कलेजको राजनीतिका बढि व्यस्त हुनु परेको थियो । अहिलेको जस्तो यातायात र सञ्चारको अवस्था नभएकोले त्यति खासै हेलमेल हुन पाएन ।

तर जब सरकार र माओवादी बीचको शान्ति वार्ता भंग भयो, उहाँहरु स्वयम् (भरतपुर कोर सिटी) क्षेत्र छोडेर आधार इलाका पूर्वी चितवन आउनु भयो, तबमात्र हामीले धेरै पटक छलफल सहकार्य गर्ने अवसर प्राप्त हुँदै गयो । मित्रताका नयाँ जराहरु झाँगिदै गए । हाम्रो जिम्मेवारी विद्यार्थी कमिटीमा थियो । तर युद्धको भीषणताले गर्दा हामी विद्यार्थी मोर्चाभन्दा बढी पार्टी जनमुक्ति सेनाको व्यवस्थानका लाग्नु पर्दथ्यो । त्यसका लागि लजिष्टिक सामानको व्यवस्थापन सहरबजारबाट गर्नु पर्ने जिम्मा क. ऋषिको काँधमाथि आइपर्दथ्यो । साहै जटिल एवम् चुनौतिपूर्र्ण जिम्मेवारी थियो । तर पनि त्यो काम गर्न उहाँ कहिले पनि पछाडी हट्नु भएन । जहिले पनि चुनौती मोल्न तयार हुने स्वभाव उहाँको थियो ।

मेरो अन्तरमुखी स्वभाव थियो भने मेरोभन्दा ठीकविपरीत स्वभाव थियो उहाँको । मलाई त्यतिबेला भात मागेर खाने भनेपछि निकै अप्ठेरो लाग्दथ्यो, तर उहाँमा भने जनताका भिज्न सक्ने जनशैली, अन्तरघुलन हुन सक्ने पक्ष निकै लोभलाग्दो थियो । जिम्मेवारीको हिसावले त्यतिबेला म विद्यार्थी मोर्चाको जिल्ला कमिटी कोषाध्यक्ष थिए भने उहाँ जिल्ला कमिटीको सचिवालय सदस्य । तर पनि उहाँको प्रस्तुति, निडरपना, स्पष्ट वक्ता देखेर म आफू कार्यकर्ता नै ठान्ने गर्दथे । आफूमा केही कमीको आभास हुने गर्दथ्यो । नेपालीको शैक्षिक विसंगति, निजीकरण र व्यापारीकारण विरुद्धको संघर्ष, वैज्ञानिक र पूर्ण जनमुखी शिक्षा प्राप्तिको आन्दोलनमा ऋषि रेग्मीले गर्न भएको योगदान पनि विशेष स्मरणीय छ ।

गण्डकी अञ्चलको गोर्खा जिल्ला केरावारी गा.वि.स. वडा नं. ४ मा वि.स. २०४१ साल पौष १४ गते ऋषि रेग्मी जन्मनु भएका थियो । उहाँ मध्यम वर्गको परिवारमा जन्म भएको थियो । उहाँको पिता जगदिश्वर रेग्मी र माता कमला रेग्मी हुनुहुन्छ । उहाँको परिवार पश्चिम चितवनको फुलबारी गा.वि.स.बसाई सरी आउनु भयो र उहाँको प्रथामिकदेखि निम्न माध्यामिक तहसम्मको शिक्षा श्रीपुर मा.वि.मा फूलवारी भयो । माध्यमिक तहको शिक्षा भने भरतपुरको नारायणी मा.वि.बाट पूरा गर्न भयो ।

बुवा शिक्षक हुनुको नाताले शिक्षित परिवार र त्यसमाथि बुवा  वामपन्थी विचारबाट प्रभावित हुनु हुन्थ्यो त्यसको प्रभाव सानैबाट उहाँ पनि परेको थियो । श्रीपुर मा.वि.को अध्ययन सँगसँगै खेलेका क्रान्तिकारी नाटक र तत्कालिन सरकारको विरुद्ध निकालीएको राँके जुलुश र जनप्रदर्शनले उहाँमा क्रान्तिकारी विचारको निर्माण र महत्वपूर्ण भूमिका खेल्यो । नारायणी मा.वि.मा अध्ययनको क्रममा पनि विभिन्न विद्यार्थी आन्दोलनको र वाम विद्यार्थीहरुको एकताले उहाँलाई विद्यार्थी आन्दोलनमा लाग्न प्रेरित गरेको थियो । उच्च शिक्षा अध्ययनको सिलसिलामा सप्तगण्डकी कलेजको प्रवेशले झनै राजनीतिक जीवनमा गति प्रदान गर्यो । यसै बीचमा वि.स. २०६० सालमा उहाँले संगठनमा पूर्णकालिन घोषणा गर्नुभयो ।

पूर्णकालिन घोषणा सँगसँगै शाही जल्लादहरुको प्रतिरोध र जनतालाई एकाकार गर्दै अघि बढने एकिकृत जनप्रतिरोध अभियान २०६० लामवद्ध हुदै भोको पेट, पैदल यात्रा तय गर्दै रोल्पा, रुकुम, पाल्पा, स्याङ्जा, प्युठान, नवरपरासी, गोर्खा र चितवनका वस्तीहरुमा जनतासँग रातो झण्डाको साइनो गाँस्दै नेपाली सर्वहारा मुक्तिको संकल्प गर्दै अघि बढ्दै जानु भयो ।

कमरेड चे ग्वेभारा जिवनीबाट प्रभावित उहाँको जीवन पनि कुनै पनि मानेका चेको भन्दा कम थिएन । मध्यम वर्गमा जन्म भए पनि बुवा शिक्षक हुनुको कारणले व्यक्तिगत जीवनमा कुनै कमी थिएन । भरतपुरको अत्यान्तै सुगम स्थानको जीवन व्यवस्थालाई छोडेर सर्वहारा वर्गको लागि रोल्पा रुकुमसम्म पुगेर बन्दुक उठाउन पुग्नु सामान्य त्याग र सर्मपण कदापि हुँदै होइन । जीवनको अन्तिम क्षण २०६१ बैशाख ३१ गते पनि दुश्मन (शाही सेनाले ) चारैतिर घेराहालेर आत्मसर्पण गर्न आदेश दिदाँ पनि त्यसको प्रतिरोध सकेट ग्रिनेटबाट गर्नु भयो, घेरा तोड्नु भयो, घेरा तोडेर अगाडि बढ्ने क्रममा शाहिसेना सँग हतियार खोसाखोस भयो हतियार पनि खोस्नु भयो ।

तर भर्खरै मात्र आएको एम १६ राइफलको को प्रविधिक ज्ञान नएर फायर खोल्न सक्नु भएन । तर शाहिसेनाको दाँत झारिदिनु भयो । दुश्मनको ठूलो संख्याको कारणले पुनः घेरामा पर्नु भयो । त्यो वेला क. मनोज चौधरी क.अनु तामाड.र क.ऋषि रेग्मीले गर्न भएको प्रतिरोध चानचुने वीरताको प्रतिरोध थिएन ।

क. ऋषि रेग्मी, क. मनोज, कमरेड अनु तामाङलाई गिरफ्तार पछिको ४ घण्टापछि, जुटपानी वजारको पानीटंयाकी अगाडीबाट बिहान ६ः३० बजे गिरफ्तार अखिल (क्रान्तिकारी)का जिल्ला सचिवालय सदस्य रामबहादुर खड्कालाई गिरफ्तारी पछिको ११ः३० घण्टा पछि, घरमै बसिरहेका कुखुरा व्यवसायी टीका अधिकारीलाई गिरफ्तारी पछिको ५ घण्टापछि साँझ ६ बजे चितवन जिल्लाको वीरेन्द्रनगर ६ पाख्रीवासमा नक्कली मुठभेडको नाममा क्रुरतापूर्वक कायरपूर्ण तरिकाले हत्या गरे ।

उहाँको मृत्युले केवल एउटी आमाको कोख रित्तिएन, एउटा भाइको प्यारो दाजु, एउटा साथीको एक असल मित्र मात्र गुमेन, बरु गम्यो एक युगलाई हाँक्ने योद्धा र जनयुद्धको राजनीतिक सिपाही । संघर्षको मैदानबाट कत्ति पनि विचलित नभइकन प्राण आहुती नयाँ क्षितिजका लागि समर्पण गर्न सक्ने यस्ता महान् रातो मान्छे मुक्तिकामी जनताको नजरमा सधै छाइरहनेछ ।

संसारमा वर्ग विभेदी राज्य सत्ताको अन्त्य गर्दै समता मूल समाजको कल्पना गर्र्दै जीवनको न्यौछ्यावर गर्नेहरु सामान्य मान्छे हुन सक्दैन । ती मान्छेहरुको सम्मान शब्दबाट होइन, जीवन व्यवहारबाट गर्नुपर्छ । त्यसैले, महासमरका ती योद्धाहरुको स्मरण कायरहरुले उल्टो व्याख्या नगरोस्, तीनको विजयको गाथा वालुवामा होइन, ढुंगामा लेखियोस् ।

यस्तै मनसुवा भएकाहरुको नेतृत्व गर्दै मन मिल्ने विचार मिल्नेहरुको संकल्पमा हामीले ११ जना महान् मान्छेहरु (ऋषि रेग्मी, शारदा श्रेष्ठ, ऋतु, विकास अधिकारी, किरण पौडेल, शिवहरि अधिकारी) जसले वुर्जुवा शिक्षालाई थाति राखेर सप्तगण्डकी कलेजको उच्च शिक्षालाई थाती राखेर जनताको शिक्षाको लागि, मुक्तिको लागि आफूलाई बलिदानी गरे उनैको सम्झनामा सहिद स्मृति प्रतिमा २०६८ सालमा एउटै ढुंगामा निर्माण गरेका छौं ।

यो एक सहयोद्धा प्रतिको भावना पनि हो । विचार प्रतिको प्रतिवद्धता पनि हो, वर्ग प्रतिको चट्टानी अडान पनि हो । वर्ग समर्पणवादीहरु प्रतिको विद्रोह पनि हो । जनताको तागताको प्रतिमा हो । वर्ग संघर्षको तागत र आगामी तुफानी संघर्षको सूचना पनि हो । महान् सहिदप्रतिको सम्मान पनि हो ।