दश विद्यार्थी संगठनका नेताहरुलाई महासचिव किरणले भने, ‘दुई तिहाइको दम्भ तोड्न सशक्त रुपमा अगाडि बढ्नुस्, हाम्रो पूर्णसाथ रहनेछ’

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को पार्टी कार्यालय बुद्धनगरमा सोमबार दश विध्यार्थी संगठनका नेताहरुले पार्टी महासचिव मोहन वैद्य‘किरण’, पार्टीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलसँग भेटघाट तथा अन्तक्र्रिया गरेको छ । विध्यार्थी नेताहरुले राखेको जिज्ञासा तथा अनुरोधलाई सम्बोधन गर्दै महासचिव किरणले विध्यार्थी नेताहरु वर्तमान ओली सरकारको दुई तिहाइको तम्भ तोड्न सशक्त रुपमा अगाडि बढ्नु पर्ने विचार व्यक्त गरेका थिए ।
महासचिव किरणले रेशम चौधरीको जन्मकैद, सिके राउतसँग गरिएको ११ बुँदे सम्झौता र नेकपा विप्लवमाथि लगाएको प्रतिबन्धको विरोधका साथै प्रतिपक्षीय विद्यार्थी आन्दोलनको साझा मुद्दाको रुपमा राष्ट्रिय स्वाधीनताको मुद्दा र शिक्षा क्षेत्रमा बढ्दो निजीकरण, व्यापारीकरण तथा माफियाकरणको विषयलाई पनि सशक्त रुपमा उठाउनु पर्ने सुझाव दिएका थिए ।


महासचिव किरणले हालै पार्टीको स्थायी समितिको बैठकले ओली सरकारले रेशम चौधरी र नेकपा विप्लव समूहमाथि प्रतिबन्ध लगाएका विषयहरु राजनीतिक भएकाले समाधान पनि राजनीतिक हिसाबले गरिनु पर्ने र प्रशासनिक ढंगले हल गर्न खोजिनु गलत र निन्दनीय भएको निष्कर्ष निकालेको समेत बताएका थिए । पृथकतावादी आन्दोलन चलाइरहेका सिके राउतसँग रहस्यमय ढंगले अप्रत्यासित रुपमा गरिएको ११ बुँदे सम्झौता देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा भौगोलिक अखण्डतासँग अभिन्न रुपमा जोडिएको संवेदनशील विषय भएकोले पार्टीले गम्भीर रुपमा लिएको महासविच किरणले बताए ।

प्रतिपक्षीय संयुक्त विद्यार्थी संगठनहरुको यो पहलले विद्यार्थी आन्दोलन र राजनीतिक आन्दोलनमा उर्जा थप्ने संकेत दिएको भन्दै महासचिव किरणले सीमा अतिक्रमण, नक्कली नक्सा, ३७२ किमी देखि १० हजार १९ वर्ग किमीसम्म भूमि गायब पारिएका विषयहरु गम्भीर रुपमा उठिरहेका छन्, यी विषयहरुलाई पनि साझा मुद्दाको रुपमा विद्यार्थी आन्दोलनले सशक्त रुपमा उठाउन जरुरी रहेको बताए । साथै, शिक्षा क्षेत्रमा बढ्दो निजीकरण, व्यापारीकरण तथा माफियाकरणको विषयलाई पनि साझा मुद्दाको रुपमा उठाउन महासचिव किरणले सुझाव दिए ।

महासचिव किरणले विद्यार्थी संगठनहरुले राजनीतिक नेतृत्वहरुलाई पनि साझा मुद्दाको रुपमा राष्ट्रिय आन्दोलनको विकासका लागि पहल गर्न दिएको सुझाव तथा अनुरोध सकारात्मक रहेको प्रतिक्रिया दिंदै महासचिव किरणले वर्तमान सत्ता र व्यवस्थाका विरुद्ध हुने सबै कार्यक्रमहरुमा क्रान्तिकारी माओवादीको सक्रिय साथ र सहयोग रहने पनि बताए ।

क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, महासविच पेशल दाहाल लगायतका नेताहरुले समन्वय गरेको भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा नेकपा विप्लवको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, नेपाली कांग्रेसको विद्यार्थी संगठनका पूर्व उपाध्यक्ष ऋषिकेश जंग शाही, नेकपा (माले) निकट अनेरास्ववियू (पाँचौं) का अध्यक्ष घनश्याम मिश्र, नेकपा (माके)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझी, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, अखिल नेपाल विद्यार्थी युनियन प्रविण मिश्र, राष्ट्रवादी विद्यार्थी संघका अध्यक्ष ताराप्रसाद अर्याल, समाजवादी विद्यार्थी फोरमका प्रतिनिधि रञ्जित झा, राजपाको विद्यार्थी संगठनको तर्फबाट श्याम यादव लगायतका नेताहरुले देशमा गम्भीर राजनीतिक संकट उत्पन्न भएको र राजनीतिक निकासका लागि सदन र सडकबाट आन्दोलनको आँधिवेहरीको उठान गर्नुपर्ने आवश्यकता औल्याउँदै त्यसका निम्ति पहल गर्न र लिन महासविच किरण तथा मोर्चा अध्यक्ष गौरवको ध्यानाकर्षण गराएका थिए । उनीहरुले नेताद्वय किरण र गौरवलाई नेपाली कम्युनिस्ट आन्दोलन तथा राजनीतिक आन्दोलनको शिखर व्यक्तित्व भन्दै खादा लगाएर सम्मान समेत गरेका थिए ।