क्रान्तिकारी र फासीवादीको बीचमा तीब्र ध्रुवीकरण भइरहेको छ : सीपी गजुरेल

क्रान्तिकारी र फासीवादीको बीचमा तीब्र ध्रुवीकरण भइरहेको छ : सीपी गजुरेल

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले क्रान्तिकारीहरुको बढ्दो क्रियाशीलता र ओली सरकारको दलाल तथा जनविरोधी क्रियाकलापले पछिल्ला दिनहरुमा देशभित्र राजनीतिक ध्रुवीकरण तिव्ररुपमा हुँदै गइरहेको बताएका छन् । ललितपुरको कुपण्डोलमा शुक्रवार आयोजित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश नम्बर ३ को प्रदेश सम्मेलनको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।

आफूलाई समाजवाद निर्माण गर्ने कम्युनिष्ट सरकार भनेर नथाक्ने ओली सरकारको फासिवादीकरणले जनतालाई नेकपाको ओली सरकार न त कम्युनिष्ट सरकार हो, न त जनताको नै, यो त केवल विदेशीहरुको दलाल तथा फासीवादी सरकार हो भन्ने विशवास हुँदै गएको गजुरेलले बताए । यसले गर्दा फासीवादीहरु एक कित्तामा र क्राान्तिकारीहरु अर्को कित्तामा प्रष्ट देखिने गरी ध्रुवीकरण गराएको कुरामा उनले जोड दिए ।

ओलीको सरकारमा भ्रष्टाचारले संस्थागत स्वरुप धारण गरेको र दलाल तथा नोकरशाही फासीवादी सरकारको चरित्र र विशेषता नै यही भएकाले अहिले दलाल, माफिया, बिचौलिया, तस्कर, ठेकेदार तथा सरकारका आसेपासे तथा भरौटेहरुको बिगबिगी रहेको कुरामा गजुरेलले जोड दिए । उनले राष्ट्रघात, जनघातका साथै जनजीविकामा सबैभन्दा ठूलो आक्रमण यही ओली सरकारको पालामा भएको भन्दै प्रतिपक्ष नेपाली कांग्रेस पनि परोक्ष रुपमा यसमा सहभागी रहेको कुरामा जोड दिए ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको १५ दिने मेचीमहाकाली अभियानले देशभरका जनताका बीचमा जनजागरणका कामहरु गरेकाले जनता पहिलेभन्दा धेरै सचेत र आलोचनात्मक चेतले ओतप्रोतहुँदै गएको भन्दै गजुरेलले अब जनताले विकल्पको खोजिगरिरहेका कुरामाथि प्रकाश पारे ।

जनताले खोजेको विकल्प आमूल परिवर्तनका लागि भएकाले क्रान्तिकारीहरुले उठाएको जनगणतन्त्र स्थापनाको नारा र विकल्प नै अबको जनसंघर्षको एकमात्र विकल्प भएको कुरामाथि गजुरेलले प्रकाश पारेका थिए ।

उद्घाटन कार्यक्रमको शुभकामना मन्तव्य दिंदै अखिल क्रान्तिकारीकी उपाध्यक्ष शिलु न्यौपानेले देशमा आमूल परिवर्तनको जरुरी भएकाले त्यसमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालसँगै अखिल क्रान्तिकारीले काँधमा काँध मिलाएर जाने कुरामा जोड दिइन् । अनेमसंघ (क्रान्तिकारी) की केन्द्रीय महासचिव शारदा महतले देशलाई सामन्ती, दलाल तथा पितृसत्तात्मक उत्पीडनको जुआबाट मुक्त पार्न क्रान्तिकारीहरु एक हुनुपर्ने बताइन् ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय संयोजक ईश्वर तिमिल्सिनाले वर्तमान ओली सरकारको दलाल तथा नोकरशाही चंगुलबाट देश र जनतालाई मुक्त पार्न नयाँ जनवादी संघर्षको जरुरी रहेको खुलस्त गरेका थिए ।

त्यसै गरी, अखिल नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष कमल चौधरीले वर्तमान केपी ओलीको फासीवादी सरकारले पछिल्ला चरणमा आएर आफ्नो कित्ता क्लियर गर्दै पृथकतावादी सीके राउतसँग रातारात सम्झौता गरेको, कैलालीको घटनालाई लिएर रेशम चौधरीलाई आजीवन काराबासको सजाय दिएको र नेकपा विप्लबको पार्टीमाथि प्रतिबन्ध लगाएकाले जनता अब ओलीको राष्ट्रघाती र जनविरोधी हर्कतबाट प्ष्ट हुँदै गएको बताएका थिए ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष सीताराम तामाङले आफूहरु कामका विशिष्टताका हिसाबले जहाँ र जोसुकै मोर्चा वा जनवर्गीय संगठनहरुमा रहे पनि सबै क्रान्तिकारी कम्युनिष्ट नै भएकाले सबै मुक्ति र समानताका अभियन्ता भएको कुरामा जोड दिएका थिए ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सीपी गजुरेल, अतिथिहरुमा दिनेश शर्मा, कमल चौधरी, सीताराम तामाङ, ईश्वरन्द्र ज्ञवाली, प्रा.डा.जगदीशचन्द्र भण्डारी, धनेश्वर पोखरेल, सुरेश श्रेष्ठ, ईश्वर तिमिल्सिना, वसन्त बोगटी, शारदा महत, फुर्नाम्गेल मोक्तान, राम नेपाली, शिलु न्यौपाने, नरबहादुर गौतम आदि रहेका थिए ।

अशोक शर्माले सञ्चालन गरेको उक्त उद्घाटन सत्रको अध्यक्षता प्रदेश संयोजक पवनमान श्रेष्ठले गरेका थिए ।