सक्कली कम्निसको पहिचान

सक्कली कम्निसको पहिचान

सरकारी कम्निस पाटीले आफूलाई अब्बल दर्जाको कम्निस पाटी भनेर दावा गर्छ । उसले गएको चुनाउमा नेपाल मण्डलका सबै कम्निसहर्लाई एकै ठाममा डल्लो पारेर नेपाल मण्डलमा बडेमानको कम्निस पाटी बनाएर सरकारमा राइँदलो मच्चाउने भनेर चुनाउको घोप (घोषणा पत्र) जारी गरेको थ्यो । चुनाउ सक्केको केही मैनासम्मको गरदल्लो पछि जनयुद्ध लडेका लडाका नेताहर्को पाटी र उखानप्रसादको पाटी जसोतसो मिलेर बडेमानको पाटी पनि बनाए ।

लडाकाहर्को पाटी त दसोटा मिलेर बनेको पाटी थ्यो । दसोटा मध्य आधाउधी बन्दा बढि त सिङ्गो नेपाल भरिका एक्ले नेता मात्रैको थ्यो । ती पनि लडाका पाटीका सुप्रिमोबाट गतिलो दानापानी नपाएर ठुस्किएर अलग भएकाहर्को । सुप्रिमोको केन्द्र र उखानेको टाउको यौटै पाटी बनेपछि ऐले नेपाल मण्डलमा सबै भन्दा ठूलो बडेमानको हात्ती पाटी पनि त्यही भएको छ । यो कुरो त सबैले छर्लङ्गै देखेको कुरो भैगयो । अब गाँठी कुरोतिर लागौँ ।

सरकारी कम्निस पाटी नेपाल मण्डलमा भएका कम्निसहर्मा सबै भन्दा अब्बल दर्जाको सक्कली कम्निस हो । हुन त सानातिना भूरेभारे कम्निसहर्ले यो पाटीलाई कम्निस हैन भनेर पनि भन्चन् । यस्को आन्द्राभुरी नै उदाङ्गो पारेर देखाउँचन् । तर मलाई त्यस्तो लाग्दैन । म त यो खाँट्टी, सक्कली र अब्बल दर्जाको कम्निस हो भन्चु । यो अब्बल दर्जाको सक्कली कम्निस पाटी हो भन्ने थुप्रै पर्मान छन् । जस्तै ः

१. नेपाल मण्डललाई टुकारेर तराइको मैदानी जमीन जति अन्तै गाभ्ने भन्दै सात समुन्द्र पारीबाट कान फुकाएर आएको राष्टघाती मनुवालाई महान् राष्टवादी देखेर उसलाई झ्यालखानाबाट झिक्न लगाएर ग्यारे बुँदे तमसुक लेखी देश टुकार्ने लाइसनमा लाहाछाप लगाउने काम सक्कली कम्निसले मात्रै गर्न सक्छ ।

२. देशमा जनताको व्यवस्था जनवाद, समाजवाद ल्याउन पर्च भनेर लागेको रोल्पाली ठकुरीको कम्निस पाटीलाई आतङ्ककारी भनेर प्रतिवन्ध लगाए । अब्बल कम्निस भएकैले अर्को कम्निसलाई प्रतिवन्ध लाउन सक्च । हिज पनि माउवादीले जनयुद्ध लड्दा संसदमा बसेको कम्निसले आतङ्ककारी भनेर टाउकाको मोल तोकेको थ्यो । ऐले पनि त्यै पाटीमा जनयुद्धका लडाका कमाण्डर मिसिएर खाँट्टी कम्निस बनेर अर्को कम्निसलाई प्रतिबन्ध लाए ।

३. अब्बल दर्जाको कम्निस पाटी भएकैले छिमेकीले साँध मिचेर आँठाकिला सार्दा पनि चुपअअ् लागेर बस्च र छिमेकीकै खुट्टा ढोगेर आफ्नो कुर्ची बचाइदिन बिन्तभाऊ गर्च । 

४. अब्बल दर्जाको कम्निस सरखार भएको हुनाले आपूmले खैरेकुइरेको धर्मको प्रचार गरेर पुरस्कार थाप्दै हिँड्ने र महामहिम नेपालपति महोदयलाई हिन्दू धर्मको कर्मकाण्ड गर्न लाउँच । 

५. अब्बल दर्जाको कम्निस पाटी भएकोले दशैँमा राजा रजौटाले जस्तै रैतीलाई जम्मा पारेर घुँडा टेक्न लगाएर टिाकोटालो लाइदिन्च ।

६. अब्बल दर्जाको खाँट्टी कम्निस भएकोले गौर घटनामा २९ जना माउवादीलाई सोत्तर पारेर हत्या गरेकालाई सरखारको उपमुखिया बनाउने र ६ थान पुलिस मारेको घटनाको नेतृत्व गरेकालाई चुनाउ जित्दा पनि जेल हाल्ने गर्च । किनकि गौरमा माउवादी पार्टीमा लागेका गरिवगुरुवा थिए, कैलालीमा मर्ने पुलिस भए ।

७. जनयुद्धमा लड्दा पुलिस सेनाले मारेका गरिवगुरुवालाई मृतक र माउवादीपक्षबाट मारिएका पुलिस सेनाहर्लाई सरखारले सहिद भनेको छ । अब्बल दर्जाको कम्निस पाटीको सरखारले गर्ने काम त्यही हो । किनकि राजतन्तर फालेर गणतन्तर ल्याउन लडेका माउवादी लडाकाहरू गरिवगुरुवा थिए र तिनलाई उतिवेला आतङ्ककारी भनिएको थ्यो ।  पुलिस सेना त राजतन्तर बचाउन, गणतन्तर ल्याउन नदिन गरिवगुरुवालाई मार्दै हिँडेका थे ।

८. अब्बल दर्जाको कम्निस भएकाले कम्निस नाउँका पाटी जतिलाई शत्तुर देख्छ, कम्निस नाउँ नभएका, राजा फर्काउन पर्च भन्ने, देश टुकार्न खोज्नेहर्लाई मित्र भनेर अँगालो हाल्च ।

९. अब्बल दर्जाको कम्निस भएकैले चोर, डाँका, हत्यारा, बलात्कारी, डन, तस्कर, माफियाखोर, भ्रष्टाचारी, ठगदारहर्लाई पाटीका नेता बनाउँच । कैलेकाइँ पुलिसले पकड्यो भने पनि आफ्नो पाटीका कार्यकर्तालाई किन पकडेको भनेर उल्टै पुलिसलाई हकारेर छोड्न लगाउँच । सोझासिधा, गरिबगुरुवा कार्यकर्तालाई पाखा लगाउँच, च्युरी चुसेर खोस्टो मिल्काएझैँ मिल्काउँच ।

१०. अब्बल दर्जाको कम्निस पाटी भएकैले चुनाउमा करोडौँ खर्च गर्नेलाई टिकेस दिन्च, कार्यकर्तालाई रक्सी मासु खुवाएर लट्ठ पारेर हिडाउँच, भोट किनेर चुनाउ जित्च । यस्तो काम सक्कली कम्निसले मात्रै गर्च ।

११. सक्कली कम्निस भएकाले आफ्ना छोरा–छोरी, जोई–पोई, भाइ–भतिजा, साला–साली, भान्जा–भान्जी जस्ता नातागोतालाई मान्ने मन्तरीका पिए बनाउँच ।

१२. सक्कली र खाँट्टी कम्निस पाटी भएको हुनाले चारतारेले बेचेर बाँकी रहेका नदीनाला, पाखापखेरा, बनजङ्गल सबै बेच्छ र राष्टघाती सन्धीसम्झौतोमा सहीछाप ठोकेर आफ्नो सरखारी कुर्ची बचाउन सौदाबाजी गर्च । 

१३. सक्कली कम्निस पाटीको सरखार भएको हुनाले विभिन्न देशमा गएर श्रमभिसाको भीखमागेर मुलुकका युवा जति विदेश लखेटेर देशमा बूढाबूढी, अपाङ्ग, सुत्केरी, भुराभुरी केटाकेटी मात्रै राखेर समाजवाद ल्याउने घोषणा गर्च ।

यस्ता काम सबै अहिलेको दुइत्याइको कम्निस सरखारले गरेको हुनाले यो सरखारी पाटी अब्बल दर्जाको, खाँट्टी, सक्कली कम्निस पाटी हो भन्ने यो कैलुब्राहको ठहर हो । आगे श्री पशुपतिनाथले जाने ।