विद्यार्थी नेता तथा कार्यकर्ता धरपकड तुरन्त बन्द गर्न अखिल क्रान्तिकारीको चेतावनी

विप्लव नेतृत्वको नेकपामाथिको सरकारी प्रतिबन्धप्रति घोर भर्त्सना

प्रकाशित मिति : २०७५ फाल्गुन ३०

 काठमाडौं । वर्तमान ओली सरसकारले विप्लवद्वारा नेतृत्व गरिएको नेकपामाथि लगाइएको प्रतिबन्धप्रति नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले घोर निन्दा एवम् भर्त्सना गरेको छ । उक्त कुरा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ । देशमा उत्पन्न समस्याहरुको समाधानतिर भन्दा पनि देशलाई गृहयुद्धतिर धकेल्न उद्धत रहेको ओली सरकारले विप्लव माओवादीलाई लड्नका लागि बलात् फौजी दबाब सिर्जना गरिरहेका बखत अखिल क्रान्तिकारीले आफ्नो कुरा आधिकारिक रुपमा अघि बढाएको हो ।

विज्ञप्तिमा जनाइएअनुसार “वर्तमान सरकारले देशमा देखा परेका विकराल समस्याहरुको पहिचान गरी समाधान गर्ने भन्दा पनि साम्राराज्यवाद र विस्तारवादको दलाली गर्दै राष्ट्रिघाती गतिविधिलाई निरन्तरतामा अघि बढाइरहेकोले” यसका विरुद्ध कुनै पनि संघर्ष बाध्यताको उपजको रुपमा आउने कुरामा जोड दिइएको छ । यस सन्दर्भमा “हालै नेपाल सरकारले विप्लव नेतृत्वको नेकपाका क्रियाकलापहरुलाई आपराधिक ठहर गर्दै राजनीतिक गतिविधि सञ्चालन गर्नसमेत नियन्त्रण गर्नु र प्रतिबन्ध लगाउनुमा हाम्रो संगठन सरकारको उक्त निर्णयको घोर विरोध एवम् भर्त्सनासमेत गर्दछ” भनिएको छ ।

विज्ञप्तिमा थप भनिएको छ– “यस निर्णयले सरकार फासीवादी ढङ्गले अघि बढेको समेत प्रष्ट हुन्छ । साथै, उक्त विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरुलाई धरपकडसहित गिरफ्तार गरिएकोप्रति आपत्तिसमेत प्रकट गर्दछौं । र, सरकारका त्यस्ता गतिविधिहरुलाई तत्काल बन्द गर्न अपील गर्दछौं । उक्त विद्यार्थी संगठनका गिरफ्तार गरिएका नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब रिहा गर्नसमेत जोडदार माग गर्दछौं भने निर्वाध रुपमा आफ्ना राजनीतिक गतिविधिहरुलाई सञ्चालन गर्ने वातावरणसमेत सुनिश्चित गर्न जोडदार माग गर्दछौैं ।”