प्रहरी धरपकड र गिरफ्तारीको अनेमसंघ(क्रान्तिकारी)ले गर्यो घोर भर्त्सना

प्रहरी धरपकड र गिरफ्तारीको अनेमसंघ(क्रान्तिकारी)ले गर्यो घोर भर्त्सना

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेमसंघ (क्रान्तिकारी)ले १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने क्रममा शान्तिबाटिकामा गरिएको प्रहरी हस्तक्षे र धरपकडको घोर भर्त्सना गरेको छ । र, प्रहरी गिरफ्तारीमा परेकी नेकपा (विप्लव) को महिला संगठनकी केस गौरा धामी लगायतको अविलम्ब रिहाईको माग गरिएको छ । अनेमसंघ (क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष अम्बिका मुडभरीले एक वक्तव्य जारी गरी प्रहरी हस्तक्षेप तथा गिरफ्तारीको भर्त्सना गरेकी हुन् । वक्तव्यमा महिलामाथि भइरहेको सबैखाले शोषण र उत्पीडनका विरुद्ध आम श्रमजीवी महिलाहरु एकढिक्का भएर आन्दोलित हुन समेत अपील गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “निरंकुश पञ्चायती व्यवस्था, राजतन्त्र अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा समेत महिलामाथि हुने हत्या, हिंसा, बलात्कारका घटनाहरु झन पछि झन बृद्धि हुनुले गम्भीर स्थितिको आभाष भइरहेको छ । अवोध नाबालिकादेखि ८० वर्षे हजुरआमा समेत असुरक्षित हुने स्थिति बढेर गएको छ ।

जनताको बोल्न, पाउने, सभा सम्मेलन गर्न पाउने संविधानप्रदत्त अधिकारमाथि समेत लात हान्दै १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने क्रममा काठमाडौंको शान्तिबाटिकाबाट नेकपाको भातृ संगठन अनेमसंघ(क्रान्तिकारी) की केस गौरा धामी लगायतलाई गिरफ्तार गुर्नले राज्यको निरंकुश चरित्र उदाङ्गो भएको छ । हाम्रो संगठन अनेमसंघ (क्रान्तिकारी) उक्त गिरफ्तारी र धरपकडको घोर भर्त्सना गर्दछ । र, गिरफ्तारमा परेकी गौरा धामी लगायत सबैको अविलम्ब रिहाईका लागि जोडदार माग गर्दछ । साथै, महिलामाथि भइरहेको सबैखाले शोषण र उत्पीडनका विरुद्ध आम श्रमजीवी महिलाहरु एकढिक्का भएर आन्दोलित हुन समेत अपील गर्दछ ।”