स्याङ्जा । फागुन ७ गते कास्कीको पोखरामा उद्घाटन भई सुरु गरिएको मेची–महाकाली अभियान अन्तर्गत ४ नं. प्रदेशका जिल्लाहरुमा अहिले विभिन्न कार्यक्रमहरु भइरहेका छन् । प्राप्त जानकारी अनुसार बुधबार स्याङ्जाको सदरमुकाम पुतलीबजार र वालिङबजारमा कोणसभा सम्पन्न गरिएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेतृत्वमा सञ्चालित अभियान टोलीको नेतृत्व मोर्चाका सचिवालय सदस्य तथा ४ नं. प्रदेशका संयोजक केशबहादुर परियारले गरेका छन् । बुधबार स्याङ्जाको सदरमुकाम पुतलीबजारमा भएको कोणसभालाई नेता परियारले प्रमुख वक्ताको रुपमा सम्बोधन गरे । सहायक वक्ताको रुपमा मोर्चाका प्रदेश सदस्य परशुराम कोइरालाले सम्बोधन गरेका थिए ।
त्यसैगरी जिल्लाको वालिङ बजारमा भएको सभालाई नेकपा (क्रान्तिकारी माओवादी)का केस कमरेड अनुकुलले प्रमुख वक्ताको रुपमा सम्बोधन गरे भने यहाँ पनि सहायक वक्ताको रुपमा मोर्चाका प्रदेश सदस्य परशुराम कोइरालाले सम्बोधन गरेका थिए । दुवै कोणसभाको अध्यक्षता तथा सञ्चालन मोर्चाका जिल्ला संयोजक तिलक अधिकारीले गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै नेताहरुले वर्तमान सत्ता, व्यवस्था र संविधानको विकल्प खोज्ने बेला आएको चर्चा गर्दै त्यसका लागि नयाँ जनवादी क्रान्तिको आवश्यकतामाथि जोड दिएका थिए । साथै, सहिद सप्ताहको सन्दर्भमा २००७ साल, ०२८ साल, ०४६ साल, दशवर्षे महान जनयुद्ध लगायत मुलुकको आमूल परिवर्तनको आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सहिदहरुको बारेमा नेताहरुले विशेष चर्चा गरेका थिए ।