ईस्वी पूर्व पाँचौं शताब्दीमा राजा चाओ शियान्जीले कसरी प्रतिभाशाली व्यक्तिहरुको महत्व बुझे र चाओ राज्यको उन्नति गरे भन्ने कुरा आज पनि उत्तिकै सान्दर्भिक छ ।
एकदिन डुंगामा बसेर दृश्यावलोकन गरिरहँदा चाओ शियान्जीले भने– ‘मेरा २००० अनुचरहरु छन्, तर मसँग प्रतिभाहरु छैनन्, यस्तो किन भएको ?’
डुंगा चालक शु चाओले जवाफ दिए–‘महाराज, धनदौलतको खुट्टा हुँदैन, तर ती तपाईका वरिपरि जम्मा हुन्छन् । तपाईले तिनीहरुलाई मन पराउनुको कारण त्यसो भएको हो । प्रतिभाशाली व्यक्तिहरुको दुई खुट्टा छन्, तर उनीहरु तपाईको नजिक आउन अनकनाउँछन् । यसको कारण हो तपाई उनीहरुलाई मन पराउनु हुन्न ।’
अनुचरहरुलाई चराको छातीका प्वाँखहरुसँग तुलना गरेर शु चाओले थपे–‘चरा आफ्नो पखेटामा भएका प्वाँखहरुका कारणले उड्छ, उसको मुटुमाथि छातीको प्वाँख जतिसुकै राम्रा भए पनि त्यसले उसलाई उड्न मद्दत गर्दैन ।’
राजाले उसको कुरा ध्यान दिएर सुने । उनले राज्यलाई बलियो बनाउन प्रतिभाको खोजी गर्न थाले । यो कथाको शिक्षा यस्तो छ ः यदि नेताले सामथ्र्यको सह्राना गर्छ भने उसले प्रतिभालाई आकर्षित गर्ने छ, यदि नेतालाई प्रशंसा मन पर्छ भने उसले चापलुसी गर्नेहरुको भीड जम्मा गर्ने छ । यदि नेताले धन मन पराउँछ भने वरिपरि घुसखोरहरुको घेरा बनाउने छ ।
केही नेता के दावा गर्दछन् भने उनीहरु प्रतिभालाई मूल्यवान ठान्छन् । तर उनीहरु आफूले भनेको कुरा मान्नेलाई मात्र मन पराउँछन् । यस्ता मानिसहरु चराको छातीमा भएका प्वाँख जस्तै सुन्दर त हुन सक्लान्, तर तिनीहरु कुनै पनि काम लाग्ने खालका हुँदैनन् ।
प्रतिभा भनेका ज्ञान भएका मानिसहरु हुन् । उनीहरुमा केही कमी कमजोरी भए पनि उनीहरुको अभावमा ठूलो लक्ष्य हासिल गर्न असंभव हुन्छ ।
(‘पेकिङ रिभ्यु’ मई १७, १९८२ बाट)