ओलीको बयल गाडामा लादिएको नेपालको संघीयता

ओलीको बयल गाडामा लादिएको नेपालको संघीयता

काठमाडौं । ओली सरकारले नेपालको संघीयतालाई बयल गाडामा लादेर गतिदिने प्रयास गरिरहेको छ । यसको अर्थ हो नेपालको संघीयता गतिहीन बनेर गएको छ । संघीयता निर्माण भएपछि संयुक्त राज्य अमेरिकामा ५१ राज्य वा देशहरुले जुन एकता, सहकार्य र गति दिएर आफ्नो देशलाई विकास र समृद्धिको उचाइ दिलाए, नेपालमा त्यो संभव भएन ।

सोभियत रुसको कुरा गर्यौं भने पनि साम्राज्यवादी पुँजीवादी हस्तक्षेपका विरुद्ध रुसी तथा साइबेरियन अनि केही युरोपीयन राज्यहरु पनि सोभियत युनियन निर्माण गरी विसाल रुस खडा गर्न सफल भए । लेनिन–स्टालिनको नेतृत्वमा यसको विकास र गरिमाले यति धेरै उचाइ चुम्यो कि हाल पूर्व रुस १५ वटा गणराज्यमा विभाजित भए पनि रुस आज पनि विश्वको दोस्रो फौजी शक्ति राष्टका रुपमा गणना गरिन्छ ।

अमेरिकी पुँजीवादी र रुसी समाजवादी संघीयताको यी भिन्न मोडलहरु आफैमा नमुना बने पुँजीवादी र समाजवादी विचारधाराहरुका लागि । यी दुवैमा संघीयता भनेको शक्ति, एकता, रुपान्तरण, विकास र समृद्धिको समुच्चय बन्न पुग्यो । तर नेपालमा संघीयता ‘बाँदरको हातमा नरिबल’ बन्न पुग्यो । गणतान्त्रिक आन्दोलन हुँदा ‘बयलगाडा चढेर अमेरिका पुग्ने सपना’ भनी खिसिट्युरी गर्ने ओली अहिले त्यही गणतन्त्रमा निर्वाचित दुईतिहाई सरकारका प्रधानमन्त्री छन् ।

नेपालको सन्दर्भमा संघीयताको विडम्वना के भयो भने गणतन्त्रका विरोधी नै गणतन्त्रपछि सरकारमा पुगे । अहिले नेपालको संघीयता र गणतन्त्र ओलीको गाडामा लादिएको छ । उनीसँग न त भिजन छ, न त नीति तथा कार्यक्रम नै ।

राणा शासनको अन्त्य गरिने तर राणा मोहनशमशेर नै अन्तरिम संसदीय व्यवस्थाका प्रधानमन्त्री हुने, पञ्चायतको अन्त्य गरिने तर पञ्चहरु नै अन्तरिम सरकारमा सहभागी हुने, गणतन्त्र स्थापना गरिने तर गणतन्त्र विरोधीहरु नै सत्तामा हर्ताकर्ता बनेर रहने गर्दै गर्दा संघीयता कार्यान्वयन गर्दा दुईतिहाईको सरकार प्रमुख नै संघीयता र गणतन्त्र विरोधी ओलीहरुको रजाइँ चल्ने गरी इतिहासले निकै नै मजाक गरिरहेको छ ।

यो भन्दा पनि गजबको मजाक त संसदीय व्यवस्थाका विरुद्ध लडेका पुष्पकमल दाहालजस्ता नेताहरु संसदको टाँगमुनी छिरेर झर्ला र खाउँला भनी टुलुटुलु हेर्न विवश भएका छन् । एमालेको २०२८ सालको झापा विद्रोहको केही थोरै भए पनि ‘लिगेसी’जोडिएको देखिन्छ । नेपाली कांग्रेसमा २००७ सालको लिगेसी धुमिल देखिए पनि जोडिएको देखिन्छ ।

तर पुष्पकमल दाहालहरुले त आफ्नो २०५२ सालको लिगेसीसमेत् निमिट्यान्न पारिसकेका छन् । आफ्नो इतिहास नै सिध्याएर एमालेको टाँगमुनि बास माग्न पुगेका छन् । यस्तो अवस्थामा संघीयता विरोधी ओलीहरुले बयल गाडामा संघीयता राखेर प्रदर्शनी स्थलमा प्रवेश गरेका छन् ।