झर्रोटर्रो : विश्व आश्चर्यचकित

प्रकाशित मिति : २०७५ माघ १९

- कैलुब्राह 

नेपालको विकास देखेर विश्व यति आश्चर्यचकित भयो कि, चकित पर्दापर्दै क्वै क्वै त सेन्टिफ्ल्याट नै भएछन् । यो कुरो हाम्रो देशका पर्धानमन्तरी मिस्टर उखानप्रसादले भनेका हुन् । केही दिन अगाडि उनी स्वीजरल्याण्डको डावोर्समा गएका थिए । त्यहाँ उनले आपूm नेपाल मण्डलको पर्धानमन्तरी भएपछि विश्वलाई उछिन्ने गरी विकास गरेको बताएछन् । उनले आफ्नो देशको विकासको बयान गरेपछि सबै आश्चर्यचकित भएछन् । दुईत्याईको सरखार बनाएर एकै बर्खमा संसारलाई उछिन्ने गरी विकास गरेको सुनेर केहीले त सेन्टीफ्ल्याट खाएछन् । हुन पनि हाम्रो देशमा कम्ता विकास भा’को छ र ! विकासको त बयान गरिसाध्यै छैन । हजार जिह्वा भएका शेष नागले पनि बर्णन गरिनसक्ने विकास पो भा’छ त गाँठे । हिमाल, पाहाड, मधेश, तराई, डाँडाकाँडा, पाखापखेरा, देउराली भञ्ज्याङ, उकाली ओराली, कतै पनि खाली नराखेर विकासै विकास भा’को छ । हुनुपर्ने र नेपालका मनुखेलाई चाहिने भन्दा पनि बढी विकास भएकोले छचल्किएर पोखिएर काठमाण्डु खाल्टोमा त गाडी गुड्नै नसकिने भएको छ । विकासमा चिप्लिएर कति गाडि एक्सीडेन्ट भा’छन् । कहिँ त मनुखे नै विकासमा चिप्लिएर खाल्टामा जाकिएर मरेका पनि छन् । बर्खा लाग्यो भने मधेशतिर विकासे वाढिले बगाएर सयौं त के हजारौंको घरबार बगाइदिन्छ । सयौं मनुखे पर्तेक बर्ख विकासे बाढीले बगाएर स्वर्गे जान्छन् ।

बरू हाम्रो देशाँ भा’को विकासको वर्णन गर्ने मनुखे नजन्मिएर पो समस्या परेको छ । यो दुःखको कुरो हो । त्यत्रा हात्ती जत्रा पत्रपत्रिका छन्, गाउँगाउँमा एफएम रिरियो खुल्या’ छन्, टिभि त्यस्तै छन्, छिचिम्रा जस्ता अनलाइन छन्, अहँ कसैले पनि विकासको पर्चार गर्दैनन् । बरू डाक्टरले गरेको भोकहडतालको कोकोहोलो मच्चाएर सरखारलाई हैरान पार्छन्, तर सरखारको राम्रो कुरो गर्दै गर्दैनन् । बिचरा पर्धानमन्तरी जाँ’ गयो उतै आफैँले आपूmले गरेको विकासको बर्णन गर्दै हिँड्न प¥या छ । विकास पनि आफैँ गर, अनुगमन पनि आफैँ गर, योजना पनि आफैँ बनाऊ अनि पर्चार पनि आफैँ गर्नु पर्दा हाम्रा उखाने पर्धानमन्तरीलाई कम्ता गारो भा’छ । यस्तो सास्ती त विश्वका क्वै पर्धानमन्तरीले पनि गर्न प¥या छैन । पर्धानमन्तरीले जता जाँदा पनि आफ्नो सरखारले गरेको विकासको भारी बोकेर हिँड्न प¥या छ ।

देशैभरका थानीय सरकारका वडावडामा वडाधिसहर्ले डोजर किनेर खेतबारी, बनजङ्गल, पाहाड कन्दरा जताततै बाटो खनेर जमीन भ्mयाङप्वाल पारेका छन् । पूर्व पश्चिम मेचीकाली रेल गुडिरहेका छन् । केरुङबाट काठमाण्डु हुँदै पोखरा गएर लुम्विनीसम्म चाइनिज रेल गुडेका छन् । पर्तेक नेपाली मनुखेका घरघरमा ग्यास पाइप जोडेर चुला बालिएका छन् । कोशी, गण्डकी र कर्णालीमा पानीजहाजले सातसमुन्द्र पारीबाट मालसामान ओसारी रहेका छन् । हावाबाट बिजुली निकालेर देशै झिलिमिल पारिएको छ । उब्रिएको विजुली हावाबाटै विदेशमा लगेर बेच्ने व्यवस्था मिलाइएको छ । लाखौँ मनुखेले एकै ठाउँ काम गर्ने उद्योग खोलेर धामाधम सामान उत्पादन गरिरहेका छन् । सामान विदेशमा बेचेर पर्सस्तै विदेशी पैसा देशाँ वैरको वैरेइ छ । उद्योगधन्दा ज्यादा खोलेर यहाँ काम गर्ने पालै नपाएर लाखौँ पाखुरे युवा त विदेश जान पनि वाध्य भएका छन् । देशाँ रोजगार गर्ने युवाहर्को छेलोखेलो विकास भएकाले विदेश सप्लाई गर्ने काममा सरखारले पूरै दत्तचित्तका साथ काम गरिरहेको छ । उद्योगधन्दामा काम गर्ने भएकाले खेतीपाती गर्ने मनुखे नभएर बरू खेतबारी बाँझै राखेर चामल पिठो, दाल तेल, आलु प्याज गोलभेँडा लगायत सबै तरकारी छिमेकी गुज्जर भैय्याको देशाँट मगाएर खाने गरिएको छ । निर्यात धेरै र आयात थोरै मात्र हुने भएकाले चौध खर्ब त ब्यापार नाफा नै कमाइसकिएको छ ।

भ्रष्टाचारीलाई हाम्रा पर्धानमन्तरीले देखिनसहने भएकाले उनीहरू अहिले घुस खान चटक्कै छोडेका छन् । बरू रैती मनुखेको काम गरिदिए वापतमा कमिसन खाने गरेका छन् । यसरी भ्रष्टाचार पूरै उन्मुलन भएर कमिसनतन्त्रको विकास भएको छ । चेलीबेटीहर्को बलात्कार र हत्या गर्ने कार्य पूरै रोकिएको छ । मनुखेले बलात्कार र हत्या गर्ने कार्य रोकिएको हुनाले अब बलात्कारी र हत्याराहरू राज्यले जति ठूलठूला आयोग बनाएर खोजे पनि पत्ता नलाग्ने भएको छ । भूतप्रेत र मैमसानले मात्रै बलात्कार, हत्या, लुटपाट, चोरी डकैती गर्ने भएको छ ।

चोरी, डकैती, लुटपाट गर्ने, केटाटी अपहरण गरेर फिरौती माग्नेहर्का नाइके अब सिधै मान्ये भएर संसदाँ पुगेको हुनाले त्यस्ता काम सबै रोकिएर साधूसन्तमा रूपान्तरित भएका छन् । देश पूरै विकासले गर्दा स्मार्ट बनेर जताततै स्मार्टै स्मार्ट भएको छ । त्यसैले हिमाल पहाडका कुना कन्दरा, डाँडा पखेरा, खोल्साखाल्सी, जङ्गल, भीर पहरा सबैतिर स्मार्ट नगरहर्को विकास भएकाले नगरपालिका उपमहानगर र महानगरपालिका घोषित भएका छन् । अब बिदेशी पर्यटकहर्ले नेपालमा गाउँ देख्नै पाउने छैनन् । जताततै नगर मात्रै देख्ने छन् ।

विकासको मात्रै नभएर विज्ञानको समेत यति ठूलो चमत्कार भएको छ कि यहाँका सरखारी मनुखेले त वाइडबडी नै सर्लक्कै निलिदिएका छन् । पहिला पनि लाउडा निलेकै थिए, अहिले वाइडबडी निले । अब त रकेट र अन्तरिक्ष समेत निल्न सक्ने बैज्ञानिक सरखारले आफैभित्र र बडेबडे नोकरचाकरबाट उत्पादन गरिराखेको छ ।

खेलकुदको त्यस्तै विकास भएको छ । पहिला पञ्चप्रेत र बहुदली शासनकालमा देशैभरी एउटै मात्र बीरेन्द्र रनिङसिल्ड खेलाइन्थ्यो । अहिले त राष्ट्रपति रनिङसिल्ड, पर्धानमन्तरी रनिङसिल्ड, मुख्यमन्तरी रनिङसिल्ड, मेयर र गाउँपालिकाका मुखियाहरूसम्मका रनिङसिल्डको विकास गरेर देश पूरै खेलकुद र खेलाडीमय बनाइएको छ । अब यसलाई अझै विस्तार गरेर देशभरका वडावडासम्मै फैलाएर वडाधिस र वडाका चारै सदस्यका नाउँमा पनि रनिङसिल्डको विकास गरेर पर्तेक टोलटोलसम्म र घरघरमै पर्तिस्पर्धा गराउने लक्ष्य केन्द्र, पर्देश र थानीय सरखारले लिएका छन् । यसरी खेलकुदको विकास गरेर सबै खेलका विश्वकप जति सबै नेपालमै थुपार्ने मास्टरप्लान सहित उखाने सरखार अघि बढेको छ । अन्तराष्ट्रे गोष्टीमा हाम्रा पर्धानमन्तरीले विकासको यस्तो उधुम रिपोर्ट सुनाएपछि त विश्व आश्चर्यचकित नहुने त कुरै भएन । यस्तो कुरो सुनेपछि कतिले त ठाउँका ठाउँ सेन्टीफ्ल्याट समेत खाएछन् ।
१९ माघ २०७५