काठमाडौं । भेनेजुएली शक्तिशाली सेनाको समर्थन प्राप्त राष्ट्रपति निकोलास मादुरोले अमेरिकी हस्तक्षेप निरन्तर भइरहेको र त्यसको सामना पनि गर्दै आइरहेकाले अहिलेको हस्तक्षेपलाई पनि परास्त गरेर छाडिने बताएका छन् । अमेरिकी पिट्ठू विपक्षी नेता हुँवा गुएइदोले आफू नै भेनेजुएलाको अख्तियारप्राप्त अन्तरिम राष्ट्रपति रहेको दाबी गर्न लगाई उसैलाई भेनेजुएलाको राष्ट्रपति भनी समर्थन गर्न पुगेका बेला मादरोले यस्तो अभिव्यक्ति दिएका हुन् ।
देशभर भडकिएको हिंसा र प्रदर्शनका क्रममा शुक्रबारसम्म २६ जनाको ज्यान गइसकेको छ । राष्ट्रपति मदुरोले संयुक्तराज्य अमेरिकामा रहेको भेनेजुएलाको राजदूतावास र वाणिज्यदूतावास बन्द गर्ने घोषणा गरिसकेका छन् । यसका साथै मदुरोले भेनेजुएलामा रहेका अमेरिकी कुटनीतिज्ञहरुलाई ७२ घण्टाभित्र देश छाड्न आदेश पनि दिएका छन् ।
यसका विरुद्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको सत्तालाई ‘अवैधानिक’ भन्दै प्रचार गरिरहेका छन् । अहिले भेनेजुएलामाथि नाकाबन्दीका अवस्था आइ लागेको छ । भेनेजुएली विपक्षी नेता गुएइदोको घोषणालाई अमेरिकाले गरको समर्थनलाई साथ दिंदै युरोपेली युनियन तथा ब्राजिल, अर्जेन्टिना, कोलम्बिया समेतका उसका छिमेकी देशहरुले समर्थन गर्न पुगेका छन् ।
अहिले मादुरोका लागि एशियाका शक्तिशाली देशहरु चीन र रुस सारथी बनेर अघि बढेका छन् । चीन र रुसको बलियो समर्थनले राष्ट्रपति मदुरोलाई निकै ठूलो बल र मद्दत मिलिरहेको छ । यो दुईध्रुवीय खिचातानीले भेनेजुएलाको हालको राजनीतिक परिस्थितिमा नाटकीय मोड ल्याइदिएको छ । देशको आम्दानीको स्रोत प्राकृतिक तेलको धनी राष्ट्र भेनेजुएला पछिल्ला वर्षहरुमा आर्थिक रुपमा निकै कमजोर बन्दै गइरहेको छ ।
गत वर्षको राष्ट्रपति निर्वाचनमा अमेरिकी पिट्ठुहरुलाई धूलो चटाउँदै पुनः विजयी भएपछि मादुरोको पछि अमेरिका निकै लागि परेको छ । आफूलाई समाजवादी नेता भन्ने मदुरोको शासनसत्ता त्यहाँको शक्तिशाली सेनाको आडमा टिकेको छ । त्यहाँको सेनाको सत्तामा राजनीतिक सहभागिता पनि रहेको छ ।
सेनामुख तथा तथा रक्षामन्त्री भ्लादिमिर पाड्रिनोले मादुरो नै देशको राष्ट्रपति रहेको घोषणा गर्दै अमेरिकी इशारामा गरिन थालेका सबै अबाञ्छित गतिविधिहरु तह लगाइने बताएका छन् । उनले सम्भावित ‘सत्ता विद्रोह’ विरुद्ध जस्तोसुकै कदम चाल्न पनि भेनेजुएली सेना दृढ र एकताबद्ध रहेको कुरामा जोड दिएका छन् ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले भेनेजुएलाको सङ्कट समाधानका लागि भन्दै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको आपतकालीन बैठक बोलाउन आग्रह गरेका छन् । पोम्पेओले निकोलास मदुरोको सत्ता अवैधानिक भएको भन्दै ट्रम्पको भाषा दोहर्याईतेहर्याई गरिरहेका छन् ।
तर चीन र रुसको बलियो समर्थन रहेकाले भेनेजुएलामा उत्पन्न सङ्कटका नाममा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको आपतकालीन बैठक बोलाए पनि खासै केही फरक नपर्ने देखिएको विश्लेषकहरुको दाबी छ । आफ्नै देशभित्र गाईजात्रे शासन चलाइरहेका ट्रम्पको भेनेजुएलामाथिको यो हस्तक्षेपलाई स्वयम् अमेरिकीहरुले पनि पचाउन सकेका छैनन् ।