लहान । आज बिहान सिरहाको कर्जन्हामा भएको बस दुर्घटनामा परि एका जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको पर्सागढीमाई नगरपालिका घर भएका करिब ३५ वर्षीय दिपराज यादव रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताए ।
प्रहरी नायव उपरीक्षक खनालका अनुसार यादव दुर्घटनामा परि गम्भिर घाइते भएको र निजको उपचारको क्रममा कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलमा मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका तीनमध्ये एकको मृत्यु भएपछि बाँकी दुई जनालाई थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको छ ।
प्रहरीका अनुसार बसचालक धनुषाको धनुषा नगरपालिका ८ घर भएका ३४ वर्षीय रामशरण यादव र धनुषा नगरपालिका ४५ वर्षीय रामप्रताप राउतलाई थप उपचारका लागि धरान पठाइएको हो । दुर्घटनामा मध्यमस्तरको घाइते भएका ६ सहित २८ जनाको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कोको छन् त घाइते नामसहित
सप्तरीको राजविराजबाट जनकपुरका लागि छुटेको ना. ५ ख २५८८ नम्बरको यात्रुाहक बस शुक्रबार बिहान सिरहाको कर्जन्हा नगरपालिका ४ स्थित भुलकिया चोक नजिक दुर्घटना भएको हो । दुर्घटनामा सिरहा नगरपालिका ९ गुलरियाका ३५ वर्षीय दिपेन्द्र यादव, जनकपुर उपमहानगरपालिका ९ का २० वर्षीया पुष्षा यादव, भारत मोतिहारीका राजाबाबु पटेल, धनुषा नगराइन नगरपालिका ५ का २५ वर्षीय अनिता राउत घाइते भएका छन् ।
त्यस्तै, धनुषाको सबैला नगरपालिकाकी ३५ वर्षीया निर्मलादेवी राउत, कर्जन्हा नगरपालिका ११ की २० वर्षीया कविता महतो, मिर्चैया नगरपालिकाका २८ वर्षीय राकेशकुमार यादव लगायत २८ जना घाइते भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट बन्दीपुरका प्रहरी नायव निरीक्षक अर्जुन पौडेलले बताए ।
तीव्र गतिमा रहेका बसको स्टेयरिङ् फेल हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका अधिकांश धनुषा जिल्लाको विभिन्न ठाउँका रहेका छन् ।