अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ ५ नम्बर प्रदेश कमिटी गठन

प्रकाशित मिति : २०७५ पुस २८

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघको ५ नम्बर प्रदेशको बुटवलमा सम्पन्न एक प्रदेशस्तरीय भेलाले वृहद् भेला आयोजक समिति निर्माण गरेको छ । हाललाई उक्त तयारीका लागि १३ सदस्यीय समिति पनि निर्माण गरिएको बताइएको छ ।

तयारी समितिको संयोजकमा राजु भुजेल र सहसंयोजकमा नरेन्द्र बञ्जाडेलाई चयन गरिएको छ । समितिका सदस्यहरुमा दर्शन गुरुङ (रुपन्देही), चन्द्रप्रसाद पोखरेल (प्युठान), विराट शाही (बाँके), ज्ञानबहादुर केसी (नवलपरासी), मिलन विक (कपिलवस्तु) र दण्ड पुलामी (गुल्मी) रहेका छन् । संयोजक भुजेल र सहसंयोजक बञ्जाडे क्रमशः रुपन्देही र दाङ का हुन् ।

समिति गठन भएलगत्तै यसले संघर्षका कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ । जसअनुसार सांठनिक रुपमा फागुनको अन्तिम हप्तामा वृहद् प्रदेश भेला गरिने बताइएको छ । यसका लागि माघ महिनाभरको पूरै समय संगठन निर्माण र विस्तारका लागि खर्च गरिने छ । फागुन र चैत्रमा पार्टी संगठनले अघि सारेका संघर्षका कार्यक्रमहरुममा सहभागी हुने निर्णय पनि गरिएको बताइएको छ । यसका साथै संगठनले आफ्नो केही मौलिक कार्यक्रमहरु पनि तय गरिएको बताइएको छ । जसमा, मजदुरविरोधी सहकारी र व्यवसायीहरुका विरुद्ध केही अभियान लैजाने पनि बताइएको छ ।

कार्यक्रममा उपस्थित अतिथिहरुमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय संयोजक ईश्वर तिमिल्सिना, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय समिति सदस्य क. समीर र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सचिवालय सदस्य दिनेश बर्तौला रहेको जनाइएको छ ।