सिरियाबाट अमेरिकी सेना फिर्ता गरिदै

प्रकाशित मिति : २०७५ पुस २७

काठमाडौं । सिरियाबाट अमेरिकी सेना साच्चिकै फिर्ता गरिन थालेपछि अमेरिकी साझेदारहरु छक्क पर्न थालेका छन् । केही साता पहिले अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने कुरा गर्दा केहीले चिन्ता व्यक्त गरेका थिए भने कतिपयले उनको कुरालाई हाँसोमा उडाएका थिए ।  

तर अहिले उनले साँच्चिकै सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउन थालेका छन् । सिरियामा त्यहाँका राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गराउन विद्रोही कुर्दसेनाको सहयोगार्थ त्यहाँ अमेरिकी सेना तैनाथ गरिएको हो । करीब २ हजार अमेरिकी सेना त्यहाँ रहेको अनुमान गरिएको छ ।

 एक चरण त अमेरिका र रसियाले सिरियामा पक्ष र विपक्ष भएर एकअर्काका हतियार, ताकत र टेक्नोलोजीको पड्काएरै जाँचपडताल पनि गरे । तर अमेरिकाले त्यहाँ लामो समयसम्म अमेरिकी सेना राखेर कुनै फाइदा देखेको छैन । यस अलावा ट्रम्पले आफ्ना विदेश मन्त्री माइक पोम्पेओलाई युद्धका लागि नयाँनयाँ ठाउँहरु खोज्न लगाइरहेका छन् ।

छिटैभन्दा छिटै सिरियाबाट अमेरिकी सेना फर्काउनका लागि कुर्द विद्रोही सेनामाथि टर्कीले हमला नगरोस् भनेर टर्कीको प्रतिवद्धता अमेरिकाले चाहेको देखिन्छ । तर टर्कीले यसका बारेका केही पनि ठोस जवाफ दिएको छैन ।