विवेकशील साझा पार्टी फुट्यो

प्रकाशित मिति : २०७५ पुस २७

काठमाडौं । राजनीतिक संघर्ष भन्दा पनि शैक्षिक क्षेत्रबाट उदाउन खोजेको विवेकशील साझा पार्टी फुटेको छ । विवेकशील र साझा गरी दुई भिन्न पार्टीहरु एकता भई विवेकशील साझा पार्टी बनेको थियो । एकतापछि एउटै पार्टीका दुई संयोजकमध्ये एक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिन पुगेका छन् । तर फुटेको अर्को पार्टीका एक संयोजकमा भने रवीन्द्र मिश्र नै रहेका छन् ।

एकतामा रहेका बेला ३७ सदस्यीय केन्द्रीय समिति रहेको यो पार्टीबाट १६ जना नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका थिए । उज्ज्वल थापासँग नयाँ दल दर्ता गर्न जानेहरुमा रञ्जु दर्शना, प्रदेश ३ का दुई सांसदहरु विराज भट्ट श्रेष्ठ र रमेश पौडेलगायतका रहेको बताइएको छ ।

दर्ताका लागि निवेदन दिइएको नयँ पार्टीको नाम ‘विवेकशील नेपाली दल’ नामाकरणका लागि प्रस्ताव गरिएको बताइएको छ । केही समयदेखि आन्तरिक रुपमा मनोमालिन्य हुँदै आएपछि थापाले पार्टी गलत बाटोमा जानलागेको भनेर छलफल उठाउने गरेका थिए । तर मिश्रपक्ष भने यो कुरा सुनेको नसुन्यै गरेको थियो ।

थापा पक्षले फरक मत राख्न थालेपछि एक संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि सुनुवाइ नै गरेको थिएन । बरु मिश्रको गुटले थप ६ जना केन्द्रीय सदस्य थप्ने, विभागहरु भंग गर्ने र जनवर्गीय संगठनहरु निर्माण गर्ने प्रस्ताव ल्याएको थियो ।