कांग्रेसको ‘छायाँ सरकार’ कि ‘रामछायाँ’ ?

प्रकाशित मिति : २०७५ पुस २५

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले आफ्नो पार्टीलाई प्रतिपक्षीको भूमिकामा उतार्नका लागि छायाँ सरकार गठन गर्ने निर्णय गरेको छ । निर्णय मुताबिक यसले कुनचाहीं मन्त्रालयको छायाँमन्त्री बनेर आफू बस्ने हो सोको बारेमा आफू इच्छुक रहेको कम्तिमा पनि तीनवटा मन्त्रालयहरुको नाम लेखेर केन्द्रीय कार्यालयमा दिन नेताहरुलाई निर्देशन गरेको छ । दुईतिहाई सरकारको पनि उपस्थिति नरहेको र प्रतिपक्षको पनि उपस्थिति नरहेको भनी आलोचना भइरहेको बेलामा कांग्रेसले थालेको यो कदमबाट जनताभने आश्चर्यमा परेका छन् ।

बेलायतमा सरकारको पिछा गरेर उसले गरेका कमी कमजोरीहरु औल्याउने र संसदीय व्यवस्थालाई बलियो बनाउने परिपाटीको रुपमा यो अधारणा अघि सारिएको बताइन्छ । हरेक छायाँ मन्त्रीले उसको कार्यकालमा उक्त मन्त्रालयका काम कारवाही र परिपाटीको जानकारी राख्ने तथा भएगरिएका कमीकमजोरीबाट फाइदा उठाएर आफूहरु सरकारमा जाने विकल्पका रुपमा यसको प्रयोग भएको पाइन्छ ।

तर नेपालका राजनीतिक विश्लेषकहरु भने नेपाली कांग्रेसको यो चाला आत्मरती लिन र निम्नपुँजीवादी महत्वाकांक्षा पूरा गर्नका लागि मात्र हो भनेर विश्लेषण गर्न थालेका छन् । छायाँ मन्त्रीहरु बनाउने र ओली सरकारले सुविधाहरु दिएमा लिने खालका मानिसहरुको जमघट गराएर कांग्रेसले थप विचलनतिर आफूलाई धकेल्न थालेको राजनीतिज्ञहरुको चिन्ता छ । प्रतिपक्षको भूमिका निर्वाह गर्नेभन्दा पनि सत्ताभागबण्डातिर कांग्रेस उद्धत रहँदै गएकोमा जनताको माझमा चिन्ता छाएको छ ।

कतिपयको भने हेरौं कांग्रेसले सरकारी भागबण्डा खोजेको हो वा लोकतन्त्रको रक्षा गर्न त्यो भने हेर्न बाँकी रहेको बताएका छन् । तर संसदीय समितिहरु निर्माण गर्दा प्रतिपक्षको आफ्नो भूमिका सर्लक्क बिर्सिएर सत्ताभागबण्डा खोज्न गएको कांग्रेसलाई छायाँ सरकारको कुरा गर्दा जनताले फेरि पनि भागबण्डाकै लागि च्याखे थापेको रुपमा हेर्न थालेका छन् ।

छायाँ सरकार यदि कांग्रेसले चाहेको हो भने यसले यसको अवधारणा, कामका स्वरुपहरु, अध्ययन तथा अनुसन्धानमा लागि दक्ष जनशक्ति, अनुसन्धाकर्ताहरु, कार्यशालाका साथै नीति, विधि र योजनाहरु तथा अन्य आवश्यक कुराहरु जनताका माझमा राख्नुपर्छ ।